तिहारसम्ममा नारायणीमा २२० यात्रु बोक्ने साढे तीन तल्ले ‘क्रुज सिप’

गएको फागुनमा प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौंमा पानीजहाज कार्यालयको उद्घाटन गरे। 

उद्घाटन कार्यक्रममा उनले भने, ‘पानीजहाजको टिकट कहिले पाइन्छ भनेर अब केही महिना हामीलाई जिस्काउलान्। तर केही महिना पर्खनुस्। टिकट पाइन्छ।’

प्रधानमन्त्रीले वाचा गरेको नेपाल-भारत सीमा हुँदै कलकत्ता पुग्ने पानीजहाजको अहिलेसम्म कुनै छनक छैन। भाषण गरेको छ महिनापछि प्रधानमन्त्री स्वयंले पनि पानीजहाजको कुरा गर्न छाडेका छन्।

सरकारी पानी जहाजको टुंगो नभए पनि स्वप्नदर्शी युवाले नारायणी नदीमा ‘क्रुज सिप’ (मानिस बोक्ने पानी जहाज) चलाउन देखेको सपना भने चाँडै पूरा हुँदैछ। 

१५ करोड लगानी गरेर निर्माणाधीन क्रुज सिपको काम सकिने क्रममा छ। 

लामो समय लाग्ने ‘पोर्ट’ बनिसकेको छ। अब क्रुज सिपमा मेसिन फिट गर्ने, सिट हाल्ने र छानो हाल्ने काम बाँकी छ।

‘दशैं वा ढिलोमा तिहारसम्म हामी नारायणीमा क्रुज सिप चलाइसक्छौं,’ राइनो इन्टरटेन्मेन्ट कम्पनीका प्रबन्ध निर्देशक रामचन्द्र कँडेलले सेतोपाटीसँग भने। 

चितवनको भरतपुर महानगरपालिकास्थित काभ्रेघाटमा ‘पोर्ट’ राखेर पर्यटकीय प्रयोजनका लागि क्रुज सिप चलाइनेछ। 

चैतबाट निर्माण थालिएको क्रुज सिपको योजना भने कँडेलको दिमागमा दुई वर्षअघिनै छिरेको थियो।

‘६ तलाको क्रुज चढेर सन् २०१७ मा स्विडेनबाट फिनल्यान्ड जाँदै थिएँ,’  कँडेलले भने, ‘यात्रामा सँगै रहनुभएका मामासँग नारायणीमा पनि क्रुज चलाउन सकिन्छ कि? भनेर सोधें। उहाँले सम्भव छ भनेपछि धेरै दिनसम्म त्यही कुरा सोचेर बसें।’ 

प्रकाशित मिति: : 2019-09-03 17:54:22

प्रतिकृया दिनुहोस्