करिब दुई सय मिलियन डलरको लागतमा निर्माण भएको एक्सन, एडभेन्चर,फ्यान्टसी जनराको सिनेमा ‘अण्डर वुमन १९८४’ क्रिसमसको दिनदेखि सिनेमा हल र ओटीटी प्लेटफर्ममा रिलिज गरिएको छ।
पेटी जेकिन्सद्वारा लिखित र निर्देशित यो सिनेमा सन् १९८४ मा प्रदर्शन भएको ‘अण्डर वुमन’को दोश्रो भाग हो।
सुपर हिरोको कथामा सिनेमा निर्माण गर्ने वार्नर ब्रदर्सको यो सिनेमाको कथा सन् १९८४ को छ, तर लेखकले सामान्य कुरामा पनि ध्यान नदिँदा सिनेमाको गतिमा केही ‘जर्क’ आएको देखिन्छ।
सिनेमा रिलिज हुनु भन्दा पहिले नै निर्माण संस्थाले सिनेमाको ‘ओपनिङ्ग सिकवेन्स’ सामाजिक सञ्जालहरुबाट प्रचार गरिएको थियो।
डायना (गेल गडट) मार्सल आर्ट्सको कला देखाउन एउटा रङ्गशालामा आफ्नो पालो पर्खेर बसेकी हुन्छिन्। तर अच्चम लाग्दो कुरा इजरायली सेनामा काम गरिसकेकी र मीस इजरायल रहिसकेकी मार्शल आर्ट्सकी कुशल खेलाडी ३५ वर्षीय नायिका गडटलाई बालिकाको रुपमा देखाएर पहिलो गाँस मै ढुङ्गा जस्तो भएको छ र गल्तिको पूर्ण जिम्मेवार निर्देशक जेकिन्स हुन्।
सुपर हिरोको सिनेमा हरुमा नायक वा नायिका हरुले गर्ने कार्यहरु प्राय सबै पुरानै किसिमका छन्, यो नै सिनेमाको सबैभन्दा ठूलो ‘माइनस प्वाइण्ट’ हो।
खलनायक पक्षसँग रहेको विनासकारी ग्यास नायक पक्षले आफ्नो पकडमा लिन गर्ने अन्तरद्वन्द नै यो सिनेमाको मुख्य विषय हो। तर यो सिनेमाले बच्चाहरुलाई मात्र आकर्षित गर्न सक्छ, वयस्कहरुलाई आकर्षित गर्न सक्ने खुबी यो सिनेमामा छैन।
सिनेमाको पहिलो भागमा विमान दुर्घटनाको विषय थियो तर दोश्रो भागमा बिल्कुल फरक विषय छ।
खलनायक म्याक्स लर्डको भूमिकामा पेड्रो पास्कलले उत्कृष्ट अभिनय गरेका छन्। उनी पर्दामा देखिने बितिकै एक किसिमको डर पैदा हुन्छ।
नायिका गडटले आफ्नो अभिनय, मार्शल आर्ट्सको कला र सौन्दर्यले दर्शकको ध्यान खिच्न सफल छिन्।
अन्य सहकलाकारहरु क्रिस पिन, क्रिस्टिन पिल्ग आदिको अभिनय सामान्य छ।
भव्य सेट, मुटु हल्लाउने एक्सन दृश्य र सुन्दर लोकेसनको कारण यो सिनेमा एकपटक हेर्न सकिन्छ तर कुनै सन्देश दिन्छ भन्ने उद्देश्य राख्ने हो भने त्यसबाट भने निरास हुने पक्का छ।
अंग्रेजी सिनेमाको परिवेससँग नेपाली दर्शक त्यसै पनि परिचित छैनन्, त्यसमाथि कथा लेख्ने संयम निर्देशक भएर पनि सिनेमाको गतिमा निरन्तरता छैन।
हरेक अंग्रेजी सिनेमालाई राम्रो भन्ने र नेपाली सिनेमालाई नराम्रो भन्ने दर्शकले एकपल्ट हेरे पनि पंक्तिकारलाई भने यो सिनेमा कुनै खास लागेन। अब हेर्ने र नहेर्ने आफ्नो आफ्नो निजी विचार हो ।