नक्कली तमसुक बनाउँदै, गाउँका गरिबसँग जबरजस्ती असुल्दै

लिएभन्दा चार गुणासम्म बढी रकम राखेर तमसुक गराई मनलग्दी तबरले ब्याज लिने सर्लाहीका साहु पिडितहरु शनिबार अन्नपूर्ण मिडिया नेटवर्कको कार्यालयमा ।

एक साहु, ३०० पीडित

मलंगवा : साहुले ऋण लगानी गर्छ। तोकेबमोजिम ब्याज असुल्छ। समाजमा परम्परादेखि चल्दै आएको छ यो व्यवस्था। तर यस्ता साहु पनि भेटिए जसले ऋण लगानी गरेर मनलाग्दी ब्याज असुलेको छ। ऋण लिएभन्दा चार गुणासम्म बढी रकम राखेर ऋणीलाई तमसुक गराएको छ। नतिरे धम्की दिएको छ।

प्रशासन लगाएको छ। मुद्दा लगाएको छ। मानसिक तनाव दिएको छ र कतिलाई आत्महत्या गराउन विवश बनाएको छ। कुनै फिल्मका खलनायक जस्ता लाग्ने यस्ता साहु हुन् सर्लाही मलंगवा–४ का श्यामकृष्ण साह कलवार (परदेशी)। उनकै कारण एक–दुई जना मात्र हैन, झन्डै ३ सय जना पीडित बनेका छन्।

लालबन्दी नगरपालिका ३ की दुर्गा चौधरीले कलवारको ऋण तिर्न नसकेपछि तीन वर्षअघि आत्महत्या गरिन्। चौधरीले उनीबाट पति विदेश पठाउन तीन लाख ऋण लिएका थिइन्।

ऋण तिरिसक्दा पनि कलवारले अझै चारगुणा बाँकी रहेको भन्दै तनाव दिएपछि चौधरीले आत्महत्या गरेकी थिइन्। चौधरीले आत्महत्या गरे पनि उनको परिवार ऋणबाट मुक्त भएन। कलवारले दुर्गाका ससुरा श्रीकान्तलाई पनि नियमित दबाब दिन थाले। मानसिक दबाब सहन नसकेपछि श्रीकान्तले पनि आत्महत्या रोजे। ‘खाना खाने बेला पनि टर्चर दिएकै छ। पाहुना आउँदा पनि टर्चर दिएकै छ। त्यसकारण दुर्गा र उनका ससुराले आत्महत्या गरे’, अर्का पीडित हरीशचन्द्र महतोले भने, ‘त्यो परिवार मात्रै होइन कलवारका कारण धेरै जना यस्तै अवस्थामा पुगेका छन्।’

महतो पनि कलवारका ऋणी हुन्। उनले साढे २ लाख ऋण लिएका छन्। तर, कलवारले महतोसँग ४ वटा कागज गराएका छन्। ५० हजार, ११ लाख, १७ लाख र ४५ लाख गरी साढे ७३ लाखको कागज गराएको महतोले बताए। ब्याजसहित तिर्न जाँदा ७३ लाखको कागज देखाएपछि आफ्नो होसहवास उडेको महतोले बताए। उनले भने, ‘पैसा तिर्न नसकेपछि मविरुद्ध परदेशीले मुद्दा दर्ता गराए। ममाथि पक्राउ पुर्जी जारी छ। ऋण नै नलिएको पैसा अब कसरी तिर्ने ? ’

०७२ सालमा सर्लाही हरिपुरकी रीनादेवी साहलाई पनि आर्थिक संकट आइलाग्यो। उनले पतिलाई विदेश पठाउने अठोट गरिन्। तर पैसा थिएन। गाउँमा नाम चलेका साहु कलवारबाट दुई लाख ऋण लिइन्। ‘कलवारले दुई लाखमा पनि ३० हजार कटाएर पैसा दिए’, उनले भनिन्, ‘कागजचाहिँ तीन लाखकै गरे।’ किस्ता तिर्दै जाँदा उनको ऋण बढ्दै गयो। जतिपटक किस्ता तिर्न गयो त्यति नै पटक कलवारले कागज गर्दै ऋण बढाएको उनको दुःखेसो छ।

अहिलेसम्म उनले साहुलाई चार लाख ५० हजार बुझाइसकिन्। तर ऋण चुक्ता हुने छाँटकाँट छैन। ‘किस्ता बुझाउन सासूलाई १० हजार दिएर पठाएकी थिएँ। साहुले उल्टै ३० लाखको ऋण कागजमा ल्याप्चे लगाएर पठाएछन्’, उनले अन्नपूर्णसँग भनिन्, ‘मेरो घरमा अहिले सातवटा तमसुक छन्।’

प्रकाशित मिति: : 2019-09-01 07:29:18

प्रतिकृया दिनुहोस्