रवि जस्ता ‘नायक’अगाडि झुकेन कानुनको सर्वोच्चता

दुई सातादेखि अन्यौलमा रहेको र सडक तताइरहेको पत्रकार शालिकराम पुडासैनी मृत्यु प्रकरणले अन्ततः एउटा निकास पाएको छ। शालिकराम पुडासैनीको मृत्युभन्दा पनि लोकप्रिय टेलिभिजन प्रस्तोता रवि लामिछानेको गिरफ्तारीले गर्दा यो प्रकरणले धेरै चर्चा पायो। अदालतको आदेशपछि केही समयका लागि यो विषय मत्थर हुनेछ।

अब अदालती प्रक्रिया अनुसार वास्तविक दोषीहरुको पहिचान हुँदै जाला र त्यही अनुसार कारबाही पनि हुँदै जाला। तर जे भए पनि अधिकांश नेपालीले यो विषयमा अदालतले सन्तुलित फैसला गरेको महशुश गरेका छन्। हुन त रवि लामिछानेका समर्थकहरुले अदालतको आदेशलाई आफ्नो विजय भनेर अबिर यात्रा नै गरे उनका विरोधीहरुले चाहिँ आफ्नो जितका रुपमा व्याख्या गरे। तर तटस्थरुपमा हेर्दा यो आदेशको वास्तविक बिजेता न त रविका समर्थक हुन् न उनका विरोधीहरु नै, सही बिजेता अदालत र कानुन हो।

युट्युब र फेसबुकमा आएका सामग्री हेर्दा रविलाई निकै ठूलो षड्यन्त्र गरेर फसाइन लागेको जस्तो लाग्थ्यो। युट्युब र फेसबुकमा उनका समर्थकहरुले आफ्नै फैसला पनि सुनाइसकेका थिए र, रविको विरोधमा बोल्न चाहनेहरुको स्वर मत्थर पारेका थिए। त्यहाँ देख्दा लाग्थ्यो, पुरै देश रविमय भएको छ। सर्वसाधारण मात्र हैन, कलाकारहरु पनि खुलेरै रविको पक्षमा न्यायको माग गर्दै प्रहरी र अदालतलाई परोक्ष दबाब दिइरहेका थिए। उनको समर्थनमा दिनदिनै हजारौंको संख्यामा मानिसहरु सडकमा आएका थिए। 

शालिकराम पुडासैनी मृत्यु प्रकरणले रवि लामिछानेलाई हानि भन्दा फाइदा नै बढी भएको छ। रविलाई नचिनेकाहरुले पनि उनलाई चिन्ने मौका पाए। उनले गरेका कामको बढाई चढाई गरेर प्रचारप्रसार गरियो, जसले गर्दा उनको लोकप्रियता अझ बढ्यो।

रवि कुनै राजनीतिक दलका नेता भन्दा कम शक्तिशाली होइनन् भन्ने जस्तो गरी समर्थकहरुले उनको देवत्वकरण नै गरेको भान हुन्थ्यो। उनको रिहाइको माग गर्दै शुरु भएको आन्दोलनमा समर्थकहरू मर्नु परे पनि मर्ने भनेर आएका थिए। तर त्यस्तो अवस्थामा पनि अदालतले कसैको दबाब र प्रभावमा नपरी कानुनले अर्थ्याएको दयरा भित्र रहेर सबैलाई मान्य हुने गरी सन्तुलित फैसला गरेको छ। हुन त यो अन्तिम फैसला होइन तर अहिलेको परिस्थितिमा यसले निकै अर्थ राख्छ। बाहिर जतिसुकै जोड जोडले चिच्याए पनि, जति दबाब सृजना गर्न खोजे पनि यस पटक भिडले आखिर केही महत्वपूर्ण काम गर्न सकेन। हुन त भिड सृजना गर्नेहरूले दबाबका कारण डराएर प्रहरी र अदालतले रविलाई छोड्ने फैसला गर्‍यो भन्लान् तर निस्पक्ष रुपमा हेर्दा यो प्रकरणमा भिडको दबाब र प्रभाव न्यून नै रह्यो।

प्रकाशित मिति: : 2019-08-31 13:03:33

प्रतिकृया दिनुहोस्