यस्तो छ रेलको वास्तविकता

नेपालमा रेलमार्ग निर्माण गर्ने योजना आर्थिक वर्ष २०६६/६७ बाटै सुरु भएको हो। रेल यातायातको विकास गर्ने सरकारी योजना कार्यान्वयन गराउन सरकारले २०६८ असार १ गते रेल विभाग स्थापना गर्‍यो। विभाग गठन भएको आठ वर्ष भइसकेको छ। यसबीचमा रेलका आधा दर्जनभन्दा बढी ठूला योजना अगाडि सारिएका छन्। तर यतिखेर चर्चामा छ– जयनगर–जनकपुर ३५ किलोमिटर रेल।

जयनगर–जनकपुर रेल मंसिरभित्रमा सञ्चालन गर्ने गरी तयारी गरिरहेको रेल विभागका सिनियर डिभिजनल इन्जिनियर तथा प्रवक्ता अमन चित्रकार बताउँछन्। यो रेल असोजमा सञ्चालन गर्ने योजना थियो। बाढीले करिब तीन किलोमिटर रेल लिंकको बालुवा तथा गिटी बगायो। मर्मतका लागि केही समय लाग्ने भएकाले योजना दुई महिना अघि सारिएको छ। भारत सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा जयनगर–जनकपुर–विजलापुर–बर्दिबास ६९ किलोमिटर रेल विस्तार हुँदै छ।

पहिलो चरणमा जयनगर–जनकपुर रेल विस्तार भइसकेको छ। उक्त स्थानमा रेल सञ्चालन गर्नका लागि सरकारले दुईवटा रेल खरिद सम्झौता पनि अघि बढाइसकेको छ। २०७५ चैतमा मन्त्रिपरिषद्ले कन्टेनर कर्पोरेसन अफ इन्डिया (कंकर), भारतीय रेलवेसँग ८४ करोड ६५ लाख रुपैयाँमा दुईवटा रेल खरिदका लागि विभागलाई सैद्धान्तिक सहमति प्रदान गरेको थियो। विभागले वैशाखमा रेल खरिद सम्झौता पनि गरिसकेको छ। चित्रकारका अनुसार कंकरले नेपाललाई बिक्री गर्ने रेलको उत्पादन सुरु गरिसकेको छ। ‘हामीसँग रेल सञ्चालन गर्ने दक्ष जनशक्ति छैन। सुरुवातमा आवश्यक प्राविधिक जनशक्ति भारतबाट ल्याएर सञ्चालन गर्ने तयारीमा छौं’ चित्रकारले भने, ‘यसका लागि भारतसँग अनुरोध गरेका छौं। भारतीय पक्ष सकारात्मक छ।’

नेपालले भारतबाट दुईवटा डेमु (डिजेल मल्टिपल) रेल खरिद सम्झौता अघि बढाए पनि रेलको नाम भने यतिखेरसम्म टुंगो लागेको छैन।

५२ किमि दूरीमा सञ्चालन हुने गरेको जयनगर–जनकपुर–विजलापुर रेलको लिंक घट्दै, बाढीपहिरोले बगाउँदै जाने र आवश्यक मर्मत नहुँदा रेलमार्ग विस्तारै बन्द हुँदै गएको थियो। जीर्ण हुँदै गएको २९ किमिको दूरीमा मात्रै चल्ने रेल पनि सात वर्षदेखि बन्द छ। यही खण्डलाई पुनः मर्मत गरेर र दूरी बढाएर अहिले तत्कालका लागि ३५ किमिमा ब्रोडगेजको रेल सञ्चालन गर्न खोजिँदै छ। यो दूरी ६९ किमिसम्म हुने गरी काम अघि बढाइएको रेल विभागको भनाइ छ।

नेपालमा रेलको इतिहास

पछिल्लो समय नेपालमा रेलको धेरै चर्चा हुन थालेको छ। विगतमा रेल सञ्चालन भए पनि हाल सञ्चालनमा छैन। नेपालको पहिलो रेल नेपाल सरकार रेलवे ७६२ एमएम न्यारो गेज हो। यो रेल सेवा सन् १९२७ मा सञ्चालनमा आएको थियो। तत्कालीन बेलायती सरकारले भारतको रक्सौल–अमलेखगन्ज ३९ किलोमिटर रेल निर्माण गरेको थियो। यसले अमलेखगन्ज–भीमफेदी हुँदै काठमाडौंसम्मको पैदलयात्रा सहज बनाएको थियो। उक्त रेल बाफ (स्टिम) इन्जिनबाट सञ्चालन हुन्थ्यो। रक्सौल–अमलेखगन्ज रेल सन् १९६५ सम्म सञ्चालनमा थियो। महेन्द्र राजमार्गको सञ्चालनमा आएपछि यो रेलमार्ग इतिहास भइसकेको छ।

दोस्रो रेल अहिले चर्चामा रहेको जयनगर–जनकपुर रेल हो। सन् १९३७ मा सञ्चालनमा आएको यो जयनगरदेखि विजलापुरसम्म सञ्चालनमा हुन्थ्यो। तत्कालीन बेलायत सरकारले नेपालबाट जडिबुटी, काठ तथा खनिज पदार्थ भिœयाउनका लागि रेल सञ्चालन गरेको थियो। उक्त रेल पनि न्यारो गेजकै थियो।

जनकपुर–विजलापुर २२ किलोमिटरको रेलवे ट्र्याक र दुईवटा पुल बाढीले बगाएपछि सन् २००१ बाट रेल सञ्चालन ठप्प भएको छ। यसको लम्बाइ र रेल लिंकको स्तरोन्नति गरेर ब्रोड गेजमा विस्तार गरिँदै छ। यसलाई जयनगर–जनकपुर–विजलापुर–बर्दिबास ६९ किमिसम्म विस्तार गर्ने तयारी छ। भारतले निर्माण गरिरहेको ६९ किमि रेलमार्गमध्ये तीन किमि भारतीय भूमिमा पर्छ।

प्रकाशित मिति: : 2019-08-31 12:19:43

प्रतिकृया दिनुहोस्