अर्थमन्त्रीको कर नीतिले वाइन उद्योग बन्द हुन थाले, विदेशी स्याउ नेपाली भन्दै उत्पादन

विराटनगर। नेपालका अधिकांश वाइन उद्योगले जेठ १५ यता चीन र भारतबाट आयात गरिएको स्याउलाई नेपाली भन्दै वाइन उत्पादन गर्न थालेका छन्। 

आर्थिक ऐन २०७६ ले विदेशी फलफूल र त्यसको सारबाट नेपालमा वाइन उत्पादन हुने उल्लेख नै नगरेपछि उत्पादकहरूले चीन र भारतका स्याउलाई नेपाली स्याउ भन्दै वाइन बनाउन थालेका हुन्।

आन्तरिक राजस्वका एक अधिकृतका अनुसार पछिल्लो आर्थिक ऐनले स्वदेशमा उत्पादित फलफूल र तिनको सारबाट बनेको १२ प्रतिशतसम्म अल्कोहलको मात्रा भएको वाइनलाई प्रति लिटर १ सय ३५ रुपैयाँ अन्तःशुल्क तोकेको छ।त्यस्तै १२ प्रतिशतसम्म अल्कोहल भएका विदेशी वाइनको पैठारीमा प्रति लिटर ३ सय ७० रुपैयाँ अन्तःशुल्क तोकिएको छ।आर्थिक ऐनले विदेशी तयारी वाइनको पैठारीको उल्लेख गरेको छ तर विदेशी फलफूल र त्यसको सारबाट बनेको वाइनको परिकल्पना पनि गरेको छैन।

त्यसैले कर्मचारीले जोखिम किन लिने भन्दै आन्तरिक राजस्वका अधिकारीले विदेशी फलफूल र त्यसको सारबाट उत्पादित वाइनको अन्तःशुल्क प्रति लिटर ३ सय ७० नै लिन थाले। किनकि १२ प्रतिशतसम्म अल्कोहल भएका तयारी वाइनको पैठारीको अन्तःशुल्क दर पनि प्रति लिटर ३ सय ७० नै छ।

यो व्यवस्थाका कारण कच्चा पदार्थ भारतीय वा चिनियाँ स्याउ देखाउने बित्तिकै उद्योगीलाई अन्तःशुल्कको भार धेरै अर्थात् प्रति टिर ३७० रुपैयाँ पर्छ। त्यही स्याउलाई नेपालको भनेर देखाएपछि प्रति लिटर १३५ रुपैयाँ अन्तःशुल्क तिरे पुग्छ। नेपालमा जेठयता स्याउ महँगो हुनुको कारण पनि यही हो। 

प्रकाशित मिति: : 2019-08-30 09:31:49

प्रतिकृया दिनुहोस्