रूखमुनि भविष्य खोज्दै बालबालिका

तस्बिरः नयाँ पत्रिका

रूखको फेदमा पाठशाला

दुई ठूला पीपलका रूख, पानी पर्दा ओत्दैन, हावा चल्दा छेक्दैन । तर, यिनै रूखको छहारीमा ३० बालबालिका भविष्य खोज्दै छन् । यिनै रूखको फेद उनीहरूको पाठशाला हो । र, यो हो गुल्मीको सत्यवती गाउँपालिका–३ ठूलोलम्पेक सिङ्दीस्थित सिद्ध आधारभूत प्रावि । 

गत ६ साउनमा अविरल वर्षासँगै आएको पहिरोले सिद्ध आधारभूत प्राविको एउटा चारकोठे भवन बगायो । अर्को भवन क्षतिग्रस्त छ । खेलमैदानसमेत माटोले पुरिएको छ । ५ कक्षासम्मको विद्यालयमा पठनपाठन सम्भव नभएपछि बालबालिकालाई चौतारोमा प्लास्टिकका म्याट ओछ्याएर पढाउन थालिएको प्रधानाध्यापक ज्ञानमाया तरामूले बताइन् । 

‘२७ साउनमा बर्खे बिदा सकियो, २८ गतेदेखि विद्यालय सञ्चालन गर्नुपर्ने भयो । तर, विद्यालय भवन नै नभएपछि के गर्ने समस्या भयो,’ प्रअ तरामूले भनिन्, ‘केटाकेटीको पढाइ नै प्रभावित पार्नुभन्दा बरु रूखकै छहारीमा भएपनि पढाउने भनेर लागेको हो ।’ 

सत्यवति–३ मा सिद्ध आधारभूत विद्यालयमात्रै होइन, सो वडाका ६१ घर परिवारकै उठिवास लाग्यो । सिद्ध प्राविमै कक्षा ३ मा अध्ययन गर्ने गंगा विक र गगन विकको घरसँगै किताव कापी पहिरोमा पुरिए । कक्षा ५ मा पढ्ने कल्पना पसिंजाली र शैलेस विकको पनि घरबारी पहिरोमा मिल्यो । पहिरो प्रभावित कयौं परिवारलाई सत्यवति–१ अस्लेवाको देउडाँडामा अस्थायी आवास बनाएर व्यवस्थापन गरिएको छ । केही विस्थापित परिवारले बालबालिका अन्यत्र लगेर पढाएका छन् । 

बिद्यालय व्यावस्थापन समिति अध्यक्ष अर्जुन तरामुले आफुहरूको पहुँचमा बिद्यालय पुर्निमाण नभएकाले बाध्य भएर अस्थायी शिविरमा पढाउनु परेको बताए । अहिले बस्ती स्थानान्तरण र क्षतिको विवरण मात्रै संकलनको काम भएकाले बालबालिका बिचल्लीमा परेको उनको भनाई छ । 

पहिरोले छेक्यो विद्यार्थी पढ्न आउने बाटो
रूखमुनी पढ्न आउन पनि पहिरोले बाटो छेकेपछि सात विद्यार्थीलाई सिङ्दीमै टेण्ट टाँगेर पढाइएको छ । ठूलो पहिरो तरेर आउन जोखिम भएकाले उनीहरूलाई उतै टेण्ट टाँगेर व्यवस्थापन गरिएको र विषय शिक्षक पालैपालो गएर पढाउने गरेको शिक्षक दुर्गाबहादुर तरामुले बताए । पहिले ५१ विद्यार्थी रहेको यो विद्यालयमा ४० जनामात्रै आउने गरेको शिक्षक तरामुले बताए ।

प्रकाशित मिति: : 2019-08-30 06:53:09

प्रतिकृया दिनुहोस्