चार महिनादेखि रोकिएको मिडिया काउन्सिल विधेयक पेस हुँदैः यी हुन् संशोधनका शर्त, कसरी अघि बढ्छ प्रक्रिया?

तस्बिरः पहिलो पोष्ट

काठमाडौँ: मिडिया काउन्सिल विधेयक आज राष्ट्रियसभामा पेस हुँदैछ। २६ वैशाखमा विधेयक दर्ता भए पनि विवादका कारण पेस हुन सकेको थिएन। पछिल्लो समय राष्ट्रियसभा अध्यक्ष गणेश तिमिल्सिनाको पहलमा विभागीय मन्त्री र असन्तुष्ट पक्षबीच केही संशोधनका विषयमा समझदारी बनेपछि विधेयक बिहीबार पेस हुन लागेको हो।

चार महिनादेखि विवादित बनेको विधेयकले निकास पाउन लागेको हो। विधेयकमा भएका त्रृटि प्रक्रियागत रूपमा नै सच्याउन नेपाल कम्युनिस्ट पार्टीले प्रतिबद्धता जनाएपछि आन्दोलनरत नेपाल पत्रकार महासंघले विरोधका कार्यक्रम पनि फिर्ता लिएको थियो।

पत्रकार महासंघले देशव्यापी रूपमा आन्दोलनका कार्यक्रम जारी राखेको थियो। 

महासंघले गठन हुने काउन्सिलको स्वायत्तता तथा स्वतन्त्रता तथा संरचनामा प्रश्न उठाउँदै आन्दोलन गरेको थियो।

महासंघले उठाएका मुख्य तीन बुँदा संशोधन हुने आश्वासनपछि आन्दोलन रोकिएको थियो। तर नेकपाले दिएको प्रतिबद्धतापत्रमा संशोधनका विषय भने समावेश छैनन्।

विधेयक संशोधनको प्रतिबद्धतामा प्रक्रियामा सहमत भएको महासंघका अध्यक्ष गोविन्द आचार्यले बताए।

पत्रकार महासंघका पदाधिकारीसँगको पटक–पटकको औपचारिक तथा अनौपचारिक छलफल र सहमतिपछि विधेयक पेस हुन लागेको नेकपा राष्ट्रियसभाका मुख्य सचेतक खिमलाल भट्टराईले बताए।

'स्वायत्तता, कारबाही र मिडिया काउन्सिल गठनका विषयमा संशोधन गर्ने राष्ट्रियसभामा रहेका दल र महासंघबीच सहमति जुटेको छ। प्रेस स्वतन्त्रताको विषयमा प्रश्न उठाउने सरकारको नियत होइन, भट्टराईले भने।

प्रकाशित मिति: : 2019-08-29 11:01:48

प्रतिकृया दिनुहोस्