तिब्र गतिमा ग्रिनल्याण्डको हिउँ पग्लदा दुई बर्षमै समुन्द्रि सतह बढ्ने

तस्बिरः एजेन्सी

ग्रिनल्यान्डलाई पृथ्वीको रेफ्रिजरेटर भने पनि हुन्छ। यहाँ आएर ग्लेसियरको अन्त्य हुन्छ र समुद्र बढ्न थाल्छ।

न्यूयोर्क युनिभर्सिटीको हावा र समुद्र वैज्ञानिक डेभिड होल्यान्ड ग्रिनल्यान्डमा तलदेखि माथिसम्म के भइरहेको छ त्यसको अनुसन्धान गरिरहेका छन्। उनी यसलाई पृथ्वीको पुछार बताउँछन्। तर यही नै पृथ्वीको तातो र जलमग्न भविष्य लेखिँदैछ।

यहाँ आर्कटिक सर्कलभित्र यति न्यानो छ कि अगष्टको दिनमा पनि होल्यान्ड र उनका सहकर्मीले कोट फुकालेर भुइँमा राखेका छन्। उनीहरू पञ्जा नलगाएर पग्लिँदो हिउँमा काम गरिरहेका छन्। सबैभन्दा नजिकको शहर कुलुसुकमा बिहानको तापक्रम १०.७ डिग्री सेल्सियस थियो।

होल्यान्ड उभिएको हिउँ हजारौं वर्ष पुरानो हो। अबको एक वा दुई वर्षमा यो सबै पग्लिनेछ। विश्वभरि बढ्दो समुद्री सतहमा थप पानी थप्नेछ। यो वर्ष ग्रिनल्यान्डमा निकै चर्को गर्मी छ। अत्यधिक गर्मीले हिउँ पनि तीव्र रूपमा पग्लिरहेको छ। गर्मी सक्दासम्म चार खर्ब मेट्रिक टन हिउँ ग्रिनल्यान्डको विशाल हिउँको सतहबाट पग्लिने वैज्ञानिकहरूले अनुमान गरेका छन्। यति पानी पेन्सिलभेनिया वा ग्रिसलाई ३५ सेन्टिमिटरसम्म डुबाउन पर्याप्त छ।

 

जुलाई ३१ देखि अगष्ट ३ सम्ममात्रै पाँच दिनमा ५३ अर्ब मेट्रिक टन हिउँ सतहबाट पग्लिएको छ। वर्षको यो समयमा औसत पग्लिने हिउँभन्दा करिब ३७ अर्ब मेट्रिक टन धेरै हो। यो ५३ अर्ब मेट्रिक टनमा छेउबाट भत्किँदै झर्ने हिउँ वा तलबाट न्यानो पानीले पगाल्ने हिउँलाई समावेश गरिएको छैन। यो पनि एउटा ठूलो कारण हुनसक्छ।

ग्रिनल्यान्डको गर्मीले यो वर्ष सबैभन्दा धेरै प्रभाव पारेको स्थान हेलहाइम हो। सन् २००५ मा वैज्ञानिकहरू यहाँ आएयता ग्लेसियरको करिब दश किलोमिटर क्षेत्रफल खुम्चिएको छ। हेलहाइम ग्रिनल्यान्डकै तीव्र गतिमा पग्लिरहेको ग्लेसियर हो। नासाका ओसनोग्राफर जोश विल्लिसजस्ता धेरै वैज्ञानिक ग्रिनल्यान्डमा छन्।

उनीहरूले माथिबाट पग्लिरहेको हिउँबारे अध्ययन गरिरहेका छन्। जे भइरहेको छ, त्यो मानिसले बनाएको जलवायु परिवर्तन र प्राकृतिक तर अनौठो मौसमको संयोजन भएको विल्लिसल बताउँछन्। यहाँका ग्लेसियर गर्मीमा खुम्चिने र जाडोमा बढ्ने हुन्छ तर यो वर्षजस्तो पहिले कहिल्यै भएको थिएन।

झण्डै ३२ सय मिटर अग्लो र उत्तरमा रहेको अनुसन्धान शिविर सम्मिट स्टेशनको तापक्रम यो वर्ष दुई पटक शून्य डिग्रीभन्दा धेरै र कीर्तिमानी साढे १६ घण्टासम्म भयो। यो वर्षअघि, सन् २०१२ मा मात्रै साढे ६ घण्टाका लागि स्टेशनको तापक्रम शून्य डिग्रीभन्दा माथि पुगेको थियो।

त्यस्तै सन् १८८९ मा एक पटक र मध्ययुगमा पनि यसतो भएको थियो। सन् २०१२ मा ग्रिनल्यान्डमा सबैभन्दा धेरै गर्मी भएको थियो। त्यो साल आधुनिक इतिहासकै सबैभन्दा धेरै हिउँ पग्लिएको थियो। यो वर्ष त्यसको नजिक त पुगेको छ तर पार नगरेको वैज्ञानिकहरूले बताए। “जलवायुको नमूना अनुमानलाई हेर्दा, वर्षको लामो समयावधिसम्म हिउँको सतहका ठूला क्षेत्रहरू पग्लिने हामीले आशा गरेका छौं,” युनिभर्सिटी अफ जर्जियाका हिउँ वैज्ञानिक टोम मोटले भने,“यस्ता गर्मी वर्षहरू अब सामान्य बन्दै जाने विश्वास गर्न सकिन्छ।”

प्रकाशित मिति: : 2019-08-28 07:15:32

प्रतिकृया दिनुहोस्