जिन्दगी सिकाउँदै युवाहरू

तस्बिर : कमला मिजार छोरा दीपसागरसँग

उनी अर्थात् कमला मिजार। २ वर्षअघि झन्डै–झन्डै डिप्रेसनको शिकार भएकी एक अभिभावक। कारण एउटै थियो– आफूले लाडप्यारले हुर्काएको १९ वर्षको छोरा लागुऔषध दुव्र्यसनको दलदलमा फस्नु।

मकवानपुर हेटौंडा उपमहानगरपालिका–९ सिमेन्टरोड निवासी कमला युनाइटेड ब्रुअरीमा कार्यरत थिइन्। बिहान घरबाट निस्कँदा छोराका लागि खाना, खाजा भ्याएर निस्कन्थिन्। दिंउँसोको खाजाका लागि पैसा दिन्थिन्। जाँदाजाँदै संधै भन्थिन्–राम्रोसँग बस्नु खाजा खानु।

यसो भन्दै गर्दा हातमा सय–डेढसय रुपियाँ थमाइँदिन्थिन् ।

कमला कामबाट थाकेर साँझ फर्किन्थिन्। छोरो दीपसागर सुतिरहेको हुन्थ्यो, स्कुलको पढाइ, गृहकार्य गरेर थाक्यो होला भनेर ब्युँझाउदैनथिन्। अनिँदोजस्तो देखिने राताराता आँखामा ‘भोक लागेको छैन खाजा खाएँ’ भन्ने जवाफ दिन्थे दीपसागर। हेर्दाहेदै हट्टाकट्टा दीपसागर दुब्लाउंदै गए। छोराको स्वास्थ्यबारे चिन्ता सुरु भो कमलालाई । छोरो बिरामी भयो भनेर डाक्टर–धामी सबैतिर धाइन्। रोग निको भएन।

अन्ततः छोराको रोग पत्ता लाग्यो। आफूले लाडप्यारले पालेको छोरा लागुऔषध दुव्र्यसनको शिकार भैसकेको रहेछ। दीपसागर लागुऔषधको दलदलमा फसेको पत्तो पाउँदा झनै अत्तालिइन् उनी। ‘त्यो बेला यति तनाव भयो कि मैले झन्डै ज्यान फालिनँ, आफ्नो सन्तान बिग्रेको कुन आमाले सहन सक्लिन्,’ उनले विगत सम्झँदै भनिन्, ‘आफ्नो तनाव एकातिर छरछिमेकको हेराइ (दृष्टिकोण) झन् पीडादायी हुने।’

यी पीडाका क्षण अब खाटा बनिसकेका छन्। तिनै दीपसागर अहिले समाजका अगुवा बनेका छन्। लागुऔषधको दलदलमा फसेका दीपसागर अहिले लागुऔषध विरुद्धको अभियन्ता बनेर सचेतना छरिरहेका छन् समाजमा। अहिले अवस्था फेरिएको छ। २१ वर्षीय दीपसागर मिजार लागुऔषध प्रयोगकर्तालाई पुनर्जीवन दिन सम्भव छ भनेर लागिपरेका छन्।

अहिले १ छोरीका बाबुसमेत भइसकेका दीपसागर सिआन पुनस्र्थापना केन्द्रमा काम गर्छन्। 'छोराको परिवार देखेर साह्रै खुसी छु अहिले’, कमलाले भनिन्, ‘सबैले पागलखाना भन्थे, मैले छोरो मर्नुभन्दा त्यही राखेर उपचार गर्नु राम्रो ठानेर ७ महिना राखेँ ।’

८ वर्षअघि लागुऔषधको कारण अस्तव्यस्त दैनिकी लिएर युथ भिजन आएका सन्दीप शाक्य पनि अहिले लागुऔषध प्रयोगकर्ताका लागि पुनर्जीवन दिने ‘डाक्टर’ बनेका छन्।

‘केही समय रिह्याबमा बसेर आफ्नो दैनिकी सुधारेपछि घर फर्के उनी । उनीसँगै केही युवा पनि घर फर्किए। तर सबैको आदत टुटेन। पुनः लागुऔषधमा फस्ने साथीहरू देखे उनले। अनि सुरु गरे आफैंले पुनस्र्थापना केन्द्र। आर्थिक कारण रिह्याब सेन्टर बन्द भयो। तर, जिल्ला प्रहरी कार्यालयको हिरासतमा लागुऔषधका कारण मरेतुल्य भएर रहनेको संङ्ख्यामा कमी भएन। त्यसपछि केही युवा मिलेर सुरु गरे मकवानपुर रिकभर समूह ।

अहिले उनै सन्दीप शाक्य जिल्ला लागुऔषध समन्वय समिति मकवानपुरका संयोजकको भूमिकामा रहेर जिल्ला र जिल्ला बाहिरबाट लागुऔषधका कारण अस्तव्यस्त भएका युवालाई जिन्दगी सिकाइरहेका छन् ।

सौजन्य डीसी अर्का एक युवा हुन्, जो केही वर्षअगाडि लागुऔषधमा झुम्मिन नपाएको क्षण जिन्दगी देख्दैनथे। लागुऔषधमा लागेकै कारण आफ्नो पहिलो सन्तान गुमाए उनले। “संसार नियाल्न जान्नुपर्ने रहेछ, म अहिले अन्तस्करणबाट संसार नियाल्छु’, उनी भन्छन्, ‘सही समयमा रिह्याबमा आएकै कारण आज म बाँचे, अब अरुलाई पनि बाँच्ने सल्लाह दिन्छु, यही अभियानमा छु ।’ उनी पनि अहिले सिआन पुनस्र्थापना केन्द्रमार्फत् लागुऔषध दुव्यसनविरुद्धको अभियानमा सक्रिय छन्।

प्रकाशित मिति: : 2019-08-28 06:55:20

प्रतिकृया दिनुहोस्