धरहरा पुनर्निर्माण गर्दा काठमाडौं मल भत्काइने

काठमाडौं । सरकारले धरहरा पुनर्निर्माणका लागि काठमाडौं मलको केही भाग भत्काइने भएको छ । यससँगै नजिकै रहेको गोश्वारा हुलाक कार्यालय पनि भत्काइने भएको छ ।

०७५ पुस १२ मा प्रधानमन्त्री केपीशर्मा ओली, राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीलगायतले धरहरा पुनर्निर्माणको शिलान्यास गरेका थिए ।
धरहरा पुनर्निर्माणको काम जीआईईटीसी रमण जेभीले गर्दै आएका छन् ।

यही निर्माण कम्पनीले अहिले गोश्वारा हुलाक भत्काउन सुरू गरेको प्राधिकरणका सहसचिव तथा ईयूको आर्थिक सहयोग शाखाका विज्ञ राजुमान मानन्धरले जानकारी दिए । गोश्वारा हुलाक डिल्लिबजार चारखालमा रहेको साविकको हुलाक कार्यालयमा स्थानान्तरण गरिसकेको मानन्धरले बताए ।

पुस १२ बाट पुनर्निर्माण गर्न धरहराबाट सुन्धारा जाने, टे-बहाल र सुन्धाराको साविकको सडक प्राधिकरणले बारेर काम गरिरहेको छ । धरहरा पुनर्निर्माणका क्रममा प्राधिकरणले साविकका तीनवटै बाटो बन्द गरेपछि धरहरापछाडि र सुन्धारा क्षेत्रका व्यवसायीले पसलमा ग्राहकको संख्या कम भएको भन्दै बैकल्पिक बाटो बनाइदिन पटक-पटक माग राख्दै आएका थिए ।
 
“गोश्वारा हुलाकछेउबाट बाटो आवश्यक रहेको स्थानीयको माग छ । यसको समाधानका लागि गोश्वारा हुलाक भत्काएर पाँच मिटरको बाटो बनाउँदै छौं । वर्षभरीको व्यपार नै दसैंको समयमा हुने र बाटो छेकिएकाले व्यापार घटेको भन्‍ने स्थानीयको गुनासो चाँडै समाधान गरिने छ,” मानन्धरले भने, “मंगलबार नै स्थानीय वडाध्यक्षसँग छलफल गरेर वैकल्पिक बाटोको व्यवस्था गरिन्छ ।”

प्रकाशित मिति: : 2019-08-27 19:20:19

प्रतिकृया दिनुहोस्