आत्महत्यामा उक्साहट : नयाँ बहसको सुरुवात

तस्बिरः नयाँ पत्रिका

रवि लामिछाने पाँच लाख र युवराज तीन लाख धरौटीमा, अस्मिता साधारण तारेखमा छुटे

जिल्ला अदालतको आदेश

प्रतिवादीमध्येका रवि लामिछाने र युवराज कँडेल न्युज २४ टेलिभिजनमा ‘सीधा कुरा जनतासँग’ कार्यक्रम सञ्चालन गर्ने सञ्चारकर्मी हुन् र प्रस्तुत मुद्दाको विषय उनीहरूले सञ्चालन गर्ने गरेको सो टेलिभिजन कार्यक्रमको विषयवस्तुसँग पनि सम्बन्धित छ । यही मुद्दा अदालतभित्र विचाराधीन रहेको अवस्था हुँदा मुद्दाको अन्तिम टुंगो नलाग्दासम्म मुद्दाको विषयवस्तुलाई लिएर अनुसन्धानमा संलग्न प्रहरी, अभियोजनकर्ता सरकारी वकिल, पीडित परिवार, मुद्दाका सम्बद्ध साक्षी, मौकामा बुझिएका अन्य व्यक्ति, प्रमाणको वैज्ञानिक परीक्षणमा संलग्न विशेषज्ञ, चिकित्सक, अदालत र समग्र न्यायिक प्रक्रियाबारे कुनै पनि विषयवस्तु समावेश गरी संकलित प्रमाणको विश्वसनीयतामा अन्यथा असर पु¥याउने उद्देश्यले अदालतभन्दा बाहिर कुनै पनि सार्वजनिक कार्यक्रम गर्न, टेलिभिजन कार्यक्रम प्रसारण गर्न, फेसबुक लाइभ, ट्विटर, युट्युबलगायत सामाजिक सञ्जाल वा अन्य सार्वजनिक सञ्चारमाध्यमबाट विचार वा प्रतिक्रिया स्वदेश वा विदेशबाट व्यक्त गर्न, गराउन नपाइने आदेश हुन्छ । 

त्यस्तै, औषधोपचारका लागि विदेश जानुपरेको अवस्थामा चितवन जिल्ला अदालतको लिखित पूर्वअनुमति लिएर मात्र जान पाउने गरी लामिछाने र कँडेललाई सर्तसहित क्रमशः नगद पाँच लाख रुपैयाँ र तीन लाख रुपैयाँ धरौटी वा सोबराबरको जायजमानत वा विनाकुनै सर्तको बैंक ग्यारेन्टी लिएर मुलुकी फौजदारी कार्यविधि संहिता ०७४ को दफा ६८ बमोजिम उल्लिखित सर्तसहितको कागज गराउनू । 

आदेशमा अदालतको तर्क
१. मृतकले जुनसुकै अवस्थामा गरेको घोषणालाई प्रमाणका रूपमा लिनुपर्ने होइन, मृतकले मर्न लागेको अवस्थामा मृत्युको बारेमा व्यक्त गरेको भनाइलाई मात्र प्रमाणका रूपमा लिन सकिन्छ । तर, शालिकराम पुडासैनीले भिडियो रेकर्ड गरेको कति समयपछि डोरीमा झुन्डिएर आत्महत्या गरेका हुन् भन्ने यकिन छैन, किनकि भिडियो रेकर्ड गर्दा उनले भित्री वस्त्र लगाएका छन् भने झुन्डिँदा उनले सर्ट–पाइन्ट लगाएका छन् । त्यसैले उनको भिडियोलाई मृत्युकालीन घोषणा मान्ने कि नमान्ने भनेर निश्चित गर्न थप अनुसन्धान आवश्यक छ । 

२. प्रतिवादी रवि लामिछाने र युवराज कँडेलले शालिकराम पुडासैनीसँग संवाद गरेको कलडिटेलबाट देखिन्छ । तर, एउटै टेलिभिजनमा, एउटै कार्यक्रममा सँगै काम गरेका उनीहरूबीचको संवाद स्वाभाविक हो कि अवाञ्छित हो भनेर यकिन गर्न भ्वाइस रेकर्ड नै आवश्यक पर्छ । त्यस्तै, अस्मिता र शालिकरामबीच प्रेम सम्बन्ध भएको भनेर दुवै पक्षबाट पुष्टि भएकाले उनीहरूबीच पटक–पटक फोन संवाद हुनु अस्वाभाविक मान्न सकिएन । ती फोन संवादमा खास के–कस्तो विषय थियो भन्ने यकिन गर्न थप अनुसन्धान आवश्यक छ । 

३. शालिकरामको विवाहइतर प्रेम सम्बन्ध थाहा पाई प्रतिवादी रवि र युवराजले टेलिभिजन कार्यक्रमबाट प्रसारण गरिदिने हुन् कि भन्ने भय र त्रासले तथा आफ्नो घरपरिवार र स्वजनको इज्जत–प्रतिष्ठामा आँच आउने दुःखदायी परिस्थितिको कल्पना गरेर शालिकरामले आत्महत्या गरेका हुन् भने उनलाई त्यस्तो मनोदशामा पु¥याउन प्रतिवादीहरूले भूमिका खेलेका हुन् भन्ने स्पष्ट खुलेको छैन, तर सँगै काम गरेर छुट्टिएका उनीहरूबीचमा आग्रह, पूर्वाग्रह, दुराग्रह, वैमनस्यता, प्रतिशोध थिएन भन्न सकिँदैन । त्यस्तै, शालिकरामको विवाहइतर सम्बन्ध पनि थाहा पाएकोले उनीहरूले धम्की वा त्रास देखाएनन् होला र शालिकरामलाई आत्महत्या गर्न दुष्प्रेरित गरेनन् होला भनेर ठहर गर्न सकिँदैन ।

प्रकाशित मिति: : 2019-08-27 06:58:23

प्रतिकृया दिनुहोस्