एकैपटक २५ सय टिपर रिङरोडमा

फाइल तस्बिर

काठमाडौं - उपत्यकाका नाकामा दिनभर ढुंगा, गिटी र बालुवासँगै अन्य निर्माण सामग्रीले भरिएका टिपर थुप्रिन्छन्। ललितपुरको चापागाउँ, काठमाडौंको कीर्तिपुर, थानकोट, बसपार्क, माछापोखरी, बौद्ध पेप्सिकोला र भक्तपुरको जगाती क्षेत्रमा टिपर लाइन लगाएर पार्किङ गरेको देखिन्छ। सरकारले एक वर्षअघि लागू गरेको ‘टाइम कार्ड’अनुसार बेलुकी ८ बजेपछि मात्रै रिङरोडमा टिपर प्रवेश पाउँछन्।

त्यतिन्जेलसम्म चालक टिपरभित्रै सुत्छन्। जब बेलुकी ८ बज्छ त्यसपछि टिपरले सडक तताउँछ। दिनभर बस्दा आलस्य मानेका चालक धुलो उडाउँदै बतासिन्छन्। ८ बजेपछि घर फर्कने यात्रु टिपर हुइँकिएको देख्दा किनारा लगाएर बाटो छाड्नुको विकल्प देख्दैनन्। एकैपटक पूरै सडक ढाकेर आउने टिपरले सडक कब्जा नै गर्छन्।

आइतबार यसैगरी तीव्र गतिमा आएको टिपरले काठमाडौंको सिनामंगलमा भयानक दुर्घटना निम्त्यायो। कार्गो कार्यालयनजिकै अघिअघि गुडिरहेको मोटरसाइकललाई टिपरले पछाडिबाट उछिन्यो। अगाडिका दुईवटा मोटरसाइकल सोहोर्दै बा३८प २३९३ नम्बरको मोटरसाइकल सडकमा बजारियो। मोटरसाइकल नै छियाछिया हुने गरी बजारिएपछि चालक पुछाङ भोटेको घटनास्थलमै ज्यान गयो। उनको पछाडि बसेका झङ्डुक भोटे गम्भीर घाइते भए। उनको सिनामंगलस्थित काठमाडौं मेडिकल कलेज (केएमसी) मा उपचार भइरहेको छ।

 

महाशाखाको तथ्यांकअनुसार गत वर्ष र यस वर्षगरी उपत्यकामा ३० भन्दा बढीले टिपर दुर्घटनामा ज्यान गुमाइसकेका छन्। ट्रिपर र मिनी ट्रक दुर्घटनाको मुख्य कारक भएको ट्राफिक प्रहरीको भनाइ छ।

टिपरले ठक्कर दिएको मोटरसाइल उछिट्टिँदा बा८५प ५६९ र ना४३प ८ नम्बरका दुईवटा मोटरसाइकल सडकमा लडेका थिए। ती मोटरसाइकलमा सवार प्रमोद धिताल, सिसम वाग्ले र प्रवीन धिताल अहिले उपचाररत छन्। उनीहरूको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ। सामान्य घाइतेको राष्ट्रिय ट्रमा सेन्टर र गम्भीर घाइतकोे काठमाडौं मेडिकल कलेजमा उपचार भइरहेको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ।

महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक वसन्तकुमार पन्तले टिपर चालक सनम तामाङ र चारवटै सवारीलाई महानगरीय प्रहरी वृत गौशालाले नियन्त्रणमा लिएको जानकारी दिए। ‘उपत्यकामा मालवाहक टिपरले दुर्घटना बढाइरहेको छ, यसमा प्रहरीले मात्रै सोचेर वा योजना बनाएर मात्र हुँदैन, टिपर दुर्घटनाको सुरक्षाबारे माथिल्लो निकायले पनि चासो दिएर छुट्टै नीति बनाउन आवश्यक छ,’ उनले भने।

उनका अनुसार दुर्घटना न्यूनीकरणका लागि महाशाखाले अहिले मापसे चेकिङमा कडाइ, सवारी चालक अनुमतिपत्रमा कडाइका साथै चेकजाँच, राडर गनबाट स्पिड लिमिट पनि हेर्ने गरेको छ।

महाशाखाको तथ्यांकअनुसार गत वर्ष र यस वर्षगरी उपत्यकामा ३० भन्दा बढीले टिपर दुर्घटनामा ज्यान गुमाइसकेका छन्। टिपर र मिनी ट्रक दुर्घटनाको मुख्य कारक भएको ट्राफिक प्रहरीको भनाइ छ। दुर्घटनालाई रोक्न गत वर्ष साउनमा जाने र आउने ४ लेनको सडकमा लेफ्ट लेनबाट मालवाहक सवारीसाधन ट्रक, टिपर, ग्रेडर, ट्यांकर, तौल बढी बोकेको भाडाका सवारी गुड्ने व्यवस्था गरेको थियो।

त्यस्तै, काभ्रेबाट गिटीबालुवालगायत अन्य सामान बोकेर आउने टिपर राति ८ बजेभन्दा अघि जगाती र सूर्यविनायकबाट यता छिर्न नदिने व्यवस्था गरेको थियो। राति सडकमा अन्य सवारीसाधनको संख्या कम भएको बेला मात्रै टिपरलगायत हेभी सवारी गुड्न दिने नीति ट्राफिक महाशाखाले लागू गरेको थियो। तर सो नियम चालकले परिपालना नगर्दा टिपरले दुर्घटना नित्याइरहेको ट्राफिक प्रहरीको भनाइ छ।

टिपरको चक्कामाथि खाली भागको बनावट ग्राउन्ड लेभल ४ फिट छ। नियमअनुसार एकफिट मात्रै हुनुपर्ने ट्राफिक प्रहरी बताउँछन्। ललितपुरका पूर्वट्राफिक इन्चार्ज सीताराम हाछेथुले बढी दुर्घटना टिपरकै कारण हुने भएकाले ‘टाइमकार्ड’ लगाउनुभन्दा निषेध नै गर्नु उपयुक्त हुने बताए। उनले टिपरबाट हुने दुर्घटना रोक्न टिपरको डिजाइन नै सुधार गर्न आवश्यक रहेको बताए।

‘बाइक र स्कुटर टिपरको निसानामा पर्छन्, होचा र छरितो भएकाले मोटरसाइकल र स्कुटर सानासाना ठाउँमा पनि छिर्छन् र दुर्घटनाग्रस्त हुन्छन्,’ उनले भने, ‘यसलाई सुधार्न सकेसम्म टिपरको लेन छुट्याऊँ, यदि यसो गर्न सकिन्न भने टिपर गुड्ने बाटो नै अलग गराऊँ, अनि मात्रै टिपरबाट जोगिन सकिन्छ।’ उनका अनुसार बेलुकी २५ सय टिपर एकैपटक उपत्यकामा गुड्ने गरेका छन्। आलाकाँचा चालक, तीव्र गति, टिपरको बनावट र लेन पालना नगर्दा दुर्घटना भएको उनको भनाइ छ।

प्रकाशित मिति: : 2019-08-27 06:56:45

प्रतिकृया दिनुहोस्