शिक्षा मन्त्रालयको एउटै गाडी दिनमा दुई पटकसम्म मर्मत, बिल पनि डेढ लाख र साढे २ लाखका !

तस्बिरः लोकान्तर

भदौ ९, २०७६

काठमाडौं– शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा सवारी साधन मर्मतमा निकै ठूलो बेथिति रहेको पाइएको छ । 

शिक्षामन्त्री गिरिराजमणि पोखरेल र उनका स्वकीय सचिवले प्रयोग गर्ने सवारी साधन मर्मतमा ठूलो परिमाणमा खर्च भएको देखिन्छ । यहाँसम्म कि एउटै गाडी एकै दिनमा दुई पटकसम्म मर्मत गरिएको छ ।

 

मन्त्री पोखरेलले प्रयोग गर्ने बा२झ ४०३२ नम्बरको मित्सुबिसी गाडी सर्भिसिङ एन्ड डेकोरेसनबापत मन्त्रालयले गत असोज १ गते २ लाख ४८ हजार ९ सय ९५ रुपैयाँ भुक्तानी गरेको छ । 

सोही दिन सोही गाडीमा क्लज, कभर, एसी, क्लज प्लेट, ब्रेक सु, फ्यूल फिल्टर परिवर्तनका नाममा १ लाख ५१ हजार ६ सय ४६ रुपैयाँ भुक्तानी गरिएको छ ।

मन्त्रीले प्रयोग गर्ने सोही सवारी साधन पुनः ०७५ माघ ४ गते विविध मर्मत शीर्षकमा ५२ हजार ५ सय ७८ रुपैयाँको एउटा बिल र विविध मर्मत शीर्षकमा १४ हजार ४ सय ६४ रुपैयाँको अर्को बिल भुक्तानी गरिएको छ ।

१० महिनाको अवधिमा ७ पटक मर्मत गरिएको उक्त गाडीका लागि ८ लाख ११ हजार ७ सय ६ रुपैया खर्च भएको छ ।

मन्त्री पोखरेलका स्वकीय सचिव पुष्पराज ढकालले प्रयोग गर्ने बा२झ २४९४ नं. को महिन्द्रा स्कोर्पियोका लागि २०७५ साल चैत १५ गते विविध मर्मत शीर्षकमा ३३ हजार ७ सय ३० रुपैयाँको एउटा बिल र सोही दिन विविध मर्मत शीर्षकमा ३३ हजार ७ सय ५८ रुपैयाँको अर्को बिल स्विकृत गरिएको छ ।

१० महिनाको अवधिमा ८ पटक मर्मत भएको उक्त गाडीका लागि ३ लाख ४१ हजार ३ सय ४३ रुपैयाँ खर्च भएको छ ।

मन्त्रीको स्वकीय सचिवालयमा मात्र ३ वटा गाडी सञ्चालनमा छन् । सचिवालयको प्रयोजनमा रहेका गाडीले १० महिनाको अवधिमा २ हजार ३० लिटर इन्धन खर्च गरेको देखिन्छ ।

मन्त्रालयले पुलमा सञ्चालन हुने भनिएको बा१झ ८३०९ नं. को टक्सन गाडी गत ५ गते विविध मर्मत शीर्षकमा एउटा बिल ५९ हजार २ सय ९१ रुपैयाँ र ३१ हजार १ सय ३१ रुपैयाँको अर्को बिल स्विकृत गरेको छ ।

मन्त्री पोखरेलले चढ्ने एउटै गाडीका लागि १० महिनाको अवधिमा ८ लाखभन्दा बढी खर्च भएको विषयमा मन्त्रालयकी आन्तरिक प्रशासन तथा सम्पत्ति व्यवस्थापन शाखा प्रमुख शान्तादेवी पन्तले अनविज्ञता प्रकट गरिन् ।

प्रकाशित मिति: : 2019-08-26 13:04:11

प्रतिकृया दिनुहोस्