अब सिंहदरबारभित्रै परम्परागत शैलीको आधुनिक संसद् भवन, प्रतिनिधिसभामा ९ सय र राष्ट्रिय सभामा ६ सय अट्ने

सिंहदरबारभित्रै परम्परागत शैलीमा बन्न लागेको आधुनिक संसद् भवनको स्केच

काठमाडौं। केही वर्षपछि सांसदहरूले भाडाको भवनमा बैठक बस्नुपर्ने बाध्यता हट्ने भएको छ । सरकारले सिंहरदबारभित्र तीन वर्षभित्र निर्माण सम्पन्न हुने गरी प्रतिनिधिसभामा ९ सय र राष्ट्रिय सभामा ६ सय जना अट्ने भवन निर्माण गर्ने भएको छ ।

पहिलो संविधानसभाको निर्वाचनपछि हालसम्म सांसदहरू नयाँ बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा भाडाको भवनमा बैठक बस्दै आएका छन् । सिंहदरबारभित्र बन्ने नयाँ संसद् भवनको निर्माण सम्पन्न भएसँगै भाडाको भवन प्रयोग गर्नुपर्ने बाध्यता हट्ने भएको हो ।

सरकारले भवन निर्माणका लागि आवेदन दिएका निर्माण कम्पनीको छनोटअन्तर्गत मूल्यांकनको काम गरिरहेको छ । सहरी विकास मन्त्रालयका प्रवक्ता तथा सहसचिव कृष्णप्रसाद दवाडीले मूल्यांकनको काम धमाधम भइरहेको र अब चाँडै भवन निर्माण सुरु हुने बताए ।

सिंहदरबारको उत्तर पूर्वी भागमा रहेको पुतली बगैंचाको १७३ रोपनी क्षेत्रफलमा भवन बनाउन लागिएको हो । हाल सो स्थानमा नेपाली सेना बस्दै आएको छ । सेनाको आफ्नै भवन बन्दै गरेकाले हालका लागि अस्थायी संरचनामा सर्ने गरी सहमति भएको मन्त्रालयको भनाइ छ । विभागमा महानिर्देशक मणिराम गेलालले निर्माण सुरु भएको तीन वर्षमा भवन निर्माण सम्पन्न हुने बताए । अब भवन निर्माण चाँडै सुरु हुने भएकाले आर्थिक वर्ष २०७८/७९ सम्ममा सम्पन्न हुने उनको भनाइ छ ।

भवन निर्माणका लागि सहरी विकास मन्त्रालयले ठेक्का आह्वान गरेकोमा करिब दुई दर्जन कम्पनीले आवेदन दिएका थिए । तीमध्येबाट कम्पनी छनोट गरेर काम अघि बढाइनेछ । अब बन्ने भवन परम्परागत शैलीमा आधुनिक प्रविधिबाट निर्माण हुने भएको छ । त्यसमा नेपालको आफ्नो मौलिकता झल्कने गरी बनाइने सहरी विकास तथा भवन निर्माण विभागले जनाएको छ । सबै भवन वास्तुकला तथा डिजाइन काठमाडौंको स्थानीय वास्तुकला झल्कने गरी आफ्नै मौलिकता झल्कने गरी बनाइने विभागले जनाएको छ ।

तीन वर्षमा सम्पन्न गर्ने लक्ष्य रहेको संघीय संसद् भवन परिसर निर्माण आयोजनाको कुल लागत ७ अर्ब छ । परिसरमा गुरुयोजनालाई भवन क्षेत्र, खुला हरियाली क्षेत्र, पार्किङ क्षेत्र र सडक पूर्वाधार क्षेत्र गरेर चार क्षेत्रमा विभाजन गरिएको विभागले जनाएको छ । भवनमा ४५ प्रतिशत क्षेत्रफलमा खुला हरियाली चौर र २८ प्रतिशत क्षेत्रफलमा सडक पूर्वाधार र पानीका संरचना रहने बताइएको छ ।

परिसरको मूल ढोका दक्षिणतर्फ रहनेछ भने सांसदको प्रवेशका लागि उत्तरतर्फ नयाँ द्वार रहने गरी बनाइनेछ । दक्षिण पूर्वमा कर्मचारी तथा सर्वसाधारण प्रवेशका लागि ढोका रहने गरी ‘डिजाइन’ तयार गरिएको विभागले जनाएको छ ।

संसदीय दलको भवन र कार्यालय भवन पाँच–पाँच तलाको हुने विभागले जनाएको छ । मुख्य प्रवेशद्वारको बायाँतर्फ प्रतिनिधिसभाको बैठक बस्ने ठूलो हल र दायाँतर्फ राष्ट्रिय सभाको बैठक बस्ने हल बन्नेछ ।

नयाँ संसद् भवनमा प्रतिनिधि तथा राष्ट्रिय सभाका दुई हलमा झन्डै १५ सय जना अट्ने क्षमताको सिट हुनेछन् । प्रतिनिधिसभा भवनमा ४ सय अट्ने ठूलो हलसँगै विभिन्न प्राविधिक कक्ष, सभामुख कार्यकक्ष, पत्रकार सम्मेलन कक्ष, विशिष्ट कक्ष, कमिटी हललगायतका कक्ष रहनेछन् भने भवनमा ३ सय जना पत्रकार, दर्शक र आगन्तुक अट्ने बाल्कोनी र २ सय अट्ने अर्को हल हुनेछ ।

राष्ट्रिय सभा भवनमा झन्डै सय जना अट्ने ठूलो हल, विभिन्न प्राविधिक कक्ष र सभा अध्यक्षको कक्ष रहनेछन् । साथै सो भवनमा २ सय अट्ने बाल्कोनी र ३ सय जना अट्ने अर्को हल रहनेछन् । राष्ट्रिय सभा भवनको उत्तरतर्फ अति विशिष्ट व्यक्तिहरूको कार्यालय भवन निर्माणका लागि नमुना तयार गरिएको छ । सो भवनमा प्रधानमन्त्रीसहित राष्ट्रिय सभाका अध्यक्ष, उपाध्यक्षलगायतको कार्यकक्ष रहनेछन् ।

प्रकाशित मिति: : 2019-08-26 07:14:08

प्रतिकृया दिनुहोस्