अदालतमा रवि लामिछानेविरुद्ध पेश गरिएको अभियोगपत्रमा के छ?

तस्बिरः सेतोपाटी

न्युज २४ टेलिभिजनका कार्यक्रम प्रस्तोता रवि लामिछानेविरूद्ध आफ्नै पूर्वसहकर्मी शालिकराम पुडासैनीलाई आत्महत्या गर्न बाध्य हुने परिस्थिति खडा गरेको अभियोग सहित सरकारले अदालतमा मुद्दा दर्ता गरेको छ।

लामिछाने सहित उनको कार्यक्रम चलाउने युवराज कंडेल र 'रूकु' भन्ने अस्मिता कार्कीलाई पनि दुरूत्साहनको अभियोग लगाउँदै आइतबार जिल्ला वकिलको कार्यालय चितवनले अदालतमा मुद्दा दायर गरेको हो। उनीहरूलाई ५ वर्ष जेल र ५० हजार जरिवाना माग गर्दै जिल्ला सरकारी वकिल कार्यालय चितवनले मुद्दा दायर गरेको हो।

सेतोपाटीलाई प्राप्त अभियोग पत्रमा चारवटा कुरालाई मुख्य आधार मानेर पुडासैनीलाई आत्महत्या गर्न दुरूत्साहन गरेको दाबी गरिएको छ।

अभियोगपत्रमा पुडासैनीले आत्महत्या अघि खिचेको भिडियो, अस्मिता कार्की 'रूकु'को बयान, लामिछाने र कंडेलको बयान र पुडासैनिकसँग नजिक केही व्यक्ति बयानलाई मुख्य प्रमाणका रुपमा प्रस्तुत गरिएको छ।

आत्महत्यापछि पुडासैनीको मोबाइलमा उनले खिचेको भिडियो भेटिएको थियो। जसमा यूवराज कंडेलले अष्ट्रेलिया जान केटी मिलाइदिने भनेर कार्कीलाई आफूसँग जोडिदिएको बताएका छन्।

कंडेलले हेप्न थालेपछि न्यूज २४ टिभी छोडेको त्यसपछि पनि उनले आफूलाई ‘तँ फसिस्', भन्दै धम्क्याएको पुडासैनीले भनेका छन्। अदालतमा दायर भएको अभियोगपत्रमा यो भिडियोलाई महत्वपूर्ण प्रमाण मान्दै त्यसमा पुडासैनीले भनेका सबै कुरालाई समेटिएको छ।

यो प्रमाणलाई अस्मिताको बयानले पुष्टि गरेको अभियोगपत्रमा उल्लेख गरिएको छ।

आफूले लामिछाने र कंडेलसँग मिलेर पुडासैनीलाई बलात्कार केसमा फसाइदिने धम्की दिएको अस्मिताले प्रहरीसँगको बयानमा स्वीकार गरेकी छन्। उनले न्युज २४ टेलिभिजनको कार्यालयमा आफू गएको फोटो पुडासैनीलाई पठाएकी थिइन्। फोटो पठाउँदै अब कार्यक्रम प्रसारण गर्ने भनेर आफूले उनलाई बताएको बयानमा भनेकी छन्।

प्रकाशित मिति: : 2019-08-25 23:14:35

प्रतिकृया दिनुहोस्