नेतादेखि कार्यकर्तासम्मकाे मिलेमत्ताेमा अवैध क्रसर सञ्चालन

धनुषा– क्रसर उद्योगले खोलाबाट अवैध रुपमा बालुवा तथा गिट्टी उत्खनन् गर्दै आएको गुनासोका सामु निरिह तीनै तहको सरकालाई क्रसर उद्योगीले चुनौती दिएका छन्। राजनीतिक दलका नेता कार्यकर्तादेखि ठुलठुला ठेकेदारहरुले विनादर्ता नै सञ्चालनमा रहे पनि नियमनकारी निकाय मौन रहेको देखिएको छ।

अवैद्य रुपमा प्रत्येक वर्ष बालुवा गिट्टीको उत्खनन्बाट बाढीले गाउँ प्रभावित भए पनि कुनै समाधान दिन नसकेको तीनै तहको सरकारको सामुन्ने विनादर्ता क्रसर उद्योगहरु सञ्चालन गरिए पनि नियमनकारी निकाय मुखदर्शक बनेको हो। प्रदेश २ को प्रवेशद्वारमा नै रहेको जनकपुरधाम उप–महानगरपालिकास्थित बेङ्गाशिवपुरमा विनोद साहले सञ्चालन गरेको सुभास क्रसर उद्योग वर्षौदेखि नविकरणविना नै सञ्चालनमा रहेको पाइएको छ।

धनुषा जिल्लाको पूर्वी क्षेत्र चुरेको फेदमा रहेको गणेशमान चारनाथ नगरपालिकाको तल्लो गोदारमा सञ्चालित कमला स्टोन क्रसर उद्योगसमेत मापदण्ड विपरित विनानविकरण दुई वर्षदेखि सञ्चालनमा रहेको छ। कमला स्टोन क्रसर उद्योगका सञ्चालक महादेव महतो सुडीले सञ्चालन गरेको उद्योगले वन निकुञ्ज, खोला, वस्तीबाट हुनुपर्ने दुरीको मापदण्ड पूरा गरेको छैन्। २०७३ असार मसान्तसम्म मात्र उद्योगको नविकरण भएको छ। तर पनि हालसम्म सञ्चालनमा रहेको पाइएको छ।

यस्तै धनुषाकै दक्षिणी सिमावर्ती क्षेत्रसँग जोडिएको नगराइन नगरपालिका वडा नं. ४ मा सञ्चालित कुमारी माँ गिट्टी उद्योग पनि मापदण्ड विपरित नै सञ्चालनमा रहेको पाइएको छ। जोगमाया देवी झाले सञ्चालन गरेको क्रसर उद्योग नदीभन्दा ५ सय मिटर दूरीमा हुनुपर्ने मापदण्ड उद्योगले पालना गरेको छैन भने २०६९ भदौ ११ गते सम्म मात्र उद्योगको नविकरण भएको छ। सोही नगरपालिकाको घोडघासमा अरुण कुमार साहले सञ्चालन गरेको जय मातादी स्टोन क्रसर उद्योग पनि मापदण्ड विपरित छ भने, २०७३ मंसिर ११ गतेसम्म मात्र उद्योगको नविकरण भएको पाइएको छ।

प्रकाशित मिति: : 2019-08-25 18:21:43

प्रतिकृया दिनुहोस्