चुरोट र मदिराको जस्तै हुन्छ जङ्कफुडको लत

डा. अरुणा उप्रेती– जनस्वास्थ्य विशेषज्ञ

काठमाडौं । बालबालिकालाई हामीले कस्तो खानेकुरा दिइरहेका छौँ भन्ने कुराले नै उनीहरुको स्वास्थ्य अवस्था कस्तो हुने भन्ने निर्धारण गर्छ ।

तर बालबालिका पछिल्लो समय अभिभावकहरुले घर बाहिरका जङ्कफुड खान दिने चलन बढ्दै गएको छ । त्यस्ता खानेकुरामा पौष्टिक तत्वहरु पाइँदैन । जसले बालबालिकाहरुको शरीरमा पौष्टिक तत्वहरुको कमी भइ कुपोषणको समस्यासमेत देखिने गरेको छ । 

कुपोषण भनेको शरीरलाई चाहिने खानेकुराहरु पर्याप्त मात्रामा नपुग्दा रोगसँग लड्न सक्ने क्षमतामा कमी आउनुलाई बुझिन्छ । कतिपय अभिभावकको मानसिकता कस्तो हुन्छ भने आफ्नो बच्चाले खाना खान नमान्दा कुरमुरे, चाउचाउ, चिजबल, मैदाबाट बनेका खानेकुरा बट्टामा राखेका जुसजस्ता खानेकुरा खुवाउने गर्छन् । त्यस्ता खानेकुराले केही समय पेट भरिए पनि उनीहरुको शरीरमा पौष्टिक तत्वको कमी भई कुपोषणको समस्या निम्तिने गरेको देखिन्छ । 

त्यस्तो समस्या आउन नदिन अभिभावकले बालबालिकालाई घरको भान्सामा पाक्ने खानेकुरा दालभात तरकारी, रोटी, मकै, आलु, भटमास, बदाम, गहुँ आदिका विभिन्न परिकार बनाएर खुवाउनुपर्छ । बट्टाको जुसभन्दा आफ्नो बारीमा फलेका फलहरु खान दिनुपर्छ । 

अभिभावकले आफ्ना बालबालिकालाई भान्सामा पाक्ने खानेकुराको महत्वबारे राम्रोसँग बुझाउनुपर्छ । 

पहिला–पहिला आफ्नो बालबालिका मोटो हुँदा स्वस्थ छ भन्ने अभिभावकहरुमा सोंच हुन्थ्यो तर पछिल्लो समय अभिभावकहरु आफ्नो बालबालिका उमेर र उचाइअनुसार तौल बढी भएमा मेरो बच्चामा के समस्या छ भन्दै उपचारका लागि लिएर आउनुहुन्छ । तर उपचारका लागि जाँदा मात्र अभिभावकले आफ्नो बच्चालाई जङ्कफुड खाएर उमेरभन्दा बढी तौल भएको थाहा पाउने गरेको बताउँछन् । मोटोपन र दुब्लोपन पनि कुपोषणभित्र पर्छन् । अभिभावकले आफ्नो बालबालिकालाई कस्तो खानेकुरा खान दिइरहेको छ भन्ने कुरामा ध्यान नदिँदा बालबालिकामा मोटाउने र दुब्लाउने समस्या समेत देखापर्ने गरेको छ । 

प्रकाशित मिति: : 2019-08-25 08:39:54

प्रतिकृया दिनुहोस्