त्यो कहालीलाग्दो दुर्घटनापछि ह्विलचियरबाटै विश्व भ्रमण

बुटवल – मकालु यातायातको गाडीमा काँकडभिट्टादेखि काठमाडौंका लागि ५० जना यात्रु बोकेर तेजबहादुर कार्कीले काठमाडौंको यात्रा तय गरे । झापाको काँकडभिट्टादेखि साँझ ६ बजे उनले काठमाडौंका लागि गाडी हुइँकाए ।

धादिङको जोगीमारा आइपुग्दा गाडीको ‘डाइरट’ भाँचिएर गाडी ३ सय मिटर तल त्रिशुली नदीमा खस्यो । गाडीमा सवारमध्ये ३२ जनाको मृत्यु भयो । यो काहलीलाग्दो दुर्घटना २०५७ माघ २३ गते बिहान ३ बजे भएको थियो ।

दुर्घटनामा चालक तेजबहादुर पनि गम्भीर घाइते भए । घाइते कार्कीले झण्डै ३ वर्ष काठमाडौंस्थित शिक्षण हस्पिटलको बेड नम्बर ११३ मा बसेर उपचार गरे ।

कार्कीको उपचारको क्रममा झण्डै ७० लाख रूपैयाँ खर्च भयो । ३ वर्ष उपचार गर्दा पनि उनको शरीर पहिलो अवस्थामा आउन सकेन । अन्ततः उनका दुवै खुट्टा काट्नुपर्ने अवस्था आयो । अहिले उनका कम्बरमुनिका भाग छैनन् । त्यो दुर्घटना सम्झिँदा कार्कीले अहिले पनि आँखा चिम्लिन्छन् ।

ओखलढुंगाको मालुङ गाउँपालिका–४ का ५२ वर्षीया कार्कीसँगै २० वर्ष गाडी चलाएको लामो अनुभव थियो । गाडीको इन्जिन कमजोर भएर भाँचिँदा उनी जीवनभर अरुको सहारामा चल्नुपर्ने अवस्थामा पुगे भने अन्य धेरै मानिसहरू पनि आफ्नो जीवनलीला गुमाउन पुगे ।

आफू अपाङ्गता भएपनि केही गर्नुपर्छ भन्ने सोच उपचार सकेर घर फर्किने बेलामा उनलाई हस्पिटलबाटै आयो । उनले नेपाललाई विश्वसामु चिनाउन ह्विलचियरबाटै विश्व घुम्ने सोच बनाए । खुट्टाविहीन बनेपनि उनले जीवनमा हार खाएनन् । अपाङ्ग बने पनि हिनताबोध नगरी शोकलाई शक्तिमा बदले । 

‘ओछ्यानमा लडेर बस्नुभन्दा अपाङ्गले पनि केही गर्न सक्छ भनेर देखाउने सोच आयो र ह्विलचियर विश्व यात्रामा निस्कें,’ कार्कीले भने, ‘मेरो यात्रामा सबैको साथ रह्यो र सफलतातिर उन्मुख भएँ ।’ 

अपाङ्गले पनि अन्य व्यक्तिले जस्तै काम गर्न सक्छ जस्तोसुकै काम गर्न सक्छन् भन्ने भनाइलाई पुष्टि गरेर देखाउनका लागि आफूले पदयात्रा शुरू गरेको कार्कीले बताए । अहिले उनी सहयोगका लागि बुटवल आइपुगेको छन् । विश्वका सबै देश पुग्ने योजना छ उनको ।

२०६१ जेठ ४ गते नेपाल पत्रकार महासंघ केन्द्रीय कार्यालय काठमाडौंबाट ह्विलचियर पदयात्रामा निस्केका थिए उनी । विश्व भ्रमणमा निस्केका कार्की हालसम्म ३३ देश पुगिसकेका छन् । उनले भारत पाकिस्तान, श्रीलंका, बर्मा, थाइल्याण्ड, लावस, कम्बोडिया, मलेसिया, भेतनाम, ताइवान, जापान, उत्तर कोरिया, दक्षिण कोरिया, चीन, मंगोलिया, साइप्रस, वमन, एमन, दुबई, सिंगापुर लगायतका देशमा पुगेर विश्व शान्तिका अग्रदूत भगवान् गौतम बुद्धको जन्मस्थान नेपालमा भएको सन्देश पुर्‍याइसकेका छन् ।

यसैकारण आफ्नो यात्रालाई ‘विश्व शान्ति ह्विलचियर पदयात्रा’ नाम दिइएको उनको भनाइ छ । उनले भने, ‘मेरो कठिन यात्रालाई विश्व शान्ति स्थापना तथा नेपाल सरकार अपाङ्ग आयोग गठनका लागि दबाब दिन पनि हो । राज्यले अन्य धेरै आयोग गठन गरेको छ तर अपाङ्ग आयोग गठन गर्ने सोच अझै बनाएको छैन ।’ उनको ह्विलचियरमा २ वटा नेपालका झण्डा छन् । 

उनी नेपालका ६९ जिल्ला पनि घुमिसकेका छन् । नेपालका रूकुम पूर्व, रूकुम पश्चिम, नवलपुर, इलाम, संखुवासभा, बारा, सर्लाही, धनुषा जिल्ला जान बाँकी रहेको उनले लोकान्तरलाई सुनाए । 

प्रकाशित मिति: : 2019-08-24 12:14:41

प्रतिकृया दिनुहोस्