कविता

तिमी भएर आफूसँग- १

नविन प्राचिन

हाल उत्तर अमेरिका

मेरो टाउको छ
आँखाहरू छन्
छन्
नाक, कान
जिभ्रो, परेला
नङ,
शरीरमा रौँहरू
छन्

सम्झी हेर्नुस्
के–के छन्
तपाईंको शरीरमा
र 
गर्नुस् महशुस
एकछिन् एकैचोटि सब थोक

टाउको दुख्दा मात्र
महशुस हुन्छ मलाई
छ मेरो टाउको पनि

पीडा हुँदा आँखामा
सम्झन्छु म
मेरो आँखा छ

सामान्य अवस्थामा
सबै अङ्गले गरिरहन्छन्
आफ्नो काम
र 
म जिउँछु सिङ्गो

तर
उभिन्छु जब
कुनै चाेकमा
एकछिन

निस्कन्छु जब
सडकमा एक्लै

तपाईका नजरले
दिलाउँछन् मलाई
मेरा अङ्ग–अङ्ग
याद

थाहा पाउँछु म कसरी
सल्बलाउँछन् तपाईँका आँखाहरू
मेरो शरीरभरि,
महशुस गर्न सक्छु म
परैबाट
तपाईको मस्तिष्कको दृष्यचित्र

थाहा छैन तपाईँलाई
अहँ,
थाहा छैन पटक्कै 
यो पीडा

आफ्ना हरेक चीजप्रति 
हर बखतको 
बाध्यकारी सजगताको पीडा

आफैँलाई घृणा गर्ने
हद्सम्मको पीडा

मलाई
चुँडाल्दै मेरो स्तन
फाल्न मन लाग्छ
बनाएर ग्रीनेड
यो दुशासन साम्राज्यमा

बनाएर तरबार
मेरो ओठलाई
छिनाल्न मन लाग्छ
यो सभ्यताको गर्धन
जसले अड्याएको छ
एउटा रोगी मष्तिष्क
आफूमा

हुनु भने
मेरो योनीमा दाँत
चबाउने थिएँ
षड्यन्त्रपूर्वक
यो समाजको
अहङ्कारी पुरुषत्व

थुकिदिने थिएँ
उसकै
घिनलाग्दो अनुहारमा

बनाएर तेजाब
म फेर्न चाहन्छु पिसाब
हरेक ती दृष्टिमा
जसले सधैँ मलाई
खण्ड–खण्ड
महशुस गराउँछ
जसले मलाई
कहिल्यै स्वीकार्दैन सिङ्गो

अरे !
मेरो शरीरमा भएजस्तै
स्तनले
सहर्ष बगाएको थियो
जीवन तपाईमा

मेरो जस्तै पुट्ठाले
बोकेको थियो
तपाईको भार
जब हुनुहुन्थ्यो
तपाई
कसैको गर्भमा

मेरो जस्तै योनी हुँदै
आउनुभएको थियो
तपाईँ पनि
यो संसारमा

आज म
सगर्व
निर्लज्ज
तपाईले सधैँ–सधैँ 
कल्पनामा भोग्ने
मेरो नग्नता सहित
तपाईको
आँखा अगाडि उभिएकी छु

गहिरिएर हेर्नुहोस्
महाशय ! 
यो नग्न देहलाई

जम्मा–जम्मी
मेरो गर्भिणी पेट जत्रो
मात्रै छ
तपाईंको पृथ्वी

मेरो
प्रथम रजस्वालाको
रगतमा लतपतिएर
उदाउँछ
तपाईको जीवनको सूर्य ।

(लेखकको 'उभिएर एक्लै 'कविता संग्रह प्रकाशित छ। )

प्रकाशित मिति: : 2021-05-04 22:11:00

प्रतिकृया दिनुहोस्