मिसिएको फोहोर महानगरले नउठाउने

तस्बिरः नयाँ पत्रिका

कुहिने र नकुहिने दुवै मिसिएको फोहोर काठमाडौं महानगरपालिकाले नउठाउने भएको छ । अब घरमै कुहिने र नकुहिने फोहोर छुट्याउन पनि महानगरको वातावरण विभागले आग्रह गरेको छ । ल्यान्डफिल साइटसम्म पुग्ने फोहोरको मात्रा कम गराउन हाउसहोल्ड फोहोर संकलन प्रणाली लागू गर्न लागिएको विभागका प्रमुख हरिकुमार श्रेष्ठले जानकारी दिए ।

‘हाम्रोमा सबै किसिमका फोहोर मिसाएर फाल्न ल्याइने प्रचलन छ,’ उनले भने, ‘त्यसैले फोहोर छुट्याएर मात्रै संकलन गर्ने नीति लिएका छौँ ।’ हाउस होल्ड प्रणाली पहिलो चरणमा आइतबारदेखि काठमाडौं महानगरका १२, १८ र २१ वडामा लागू हुने विभागले जनाएको छ ।

 
 फरक–फरक दिन संकलन गरिने
विभागका अनुसार कुहिने र नकुहिने फोहोर फरक–फरक बार उठाइनेछ । पहिलो चरणमा हाउस होल्ड प्रणाली लागू भएका वडामा कुहिने फोहोर आइतबार, मंगलबार, बिहीबार र शनिबार उठाइने छ । सोमबार र बुधबार भने नकुहिने फोहोर मात्र संकलन गरिने श्रेष्ठको भनाइ छ । ‘फोहोर घरमै छुट्याउनुपर्नेछ । नकुहिने फोहोर कवाडीमा बेच्ने र कुहिनेलाई कम्पोस्ट मल बनाउने योजना छ,’ उनले भने, ‘नकुहिने फोहोर कवाडी सामान किन्नेहरूलाई नै संकलन गर्न पठाउने योजना बनाएका छौँ । फोहारवालाले सीधै बेच्न सक्छन् ।’ 

कुहिने फोहोरलाई कम्पोस्ट मल बनाउन प्लान्टसमेत बनाउने योजना रहेको श्रेष्ठले जानकारी दिए । ‘निजी क्षेत्रलाईसमेत यही प्रणालीमा फाहोर संकलन गर्न भनेका छौँ,’ उनले भने ।  यसरी उठाइएको फोहोरको ६० प्रतिशतबाट कम्पोस्ट मल बनाउने, ३० प्रतिशत  कवाडीमा जाने र १० प्रतिशत मात्रै ल्यान्डफिल साइटमा पुग्ने दाबी विभागको छ । यो प्रणाली चालू आर्थिक वर्षभित्र सबै वडामा लागू गरिने विभागले जनाएको छ । काठमाडौं महानगरभित्र दैनिक आठ सय ५३ टन फोहोर उत्पादन हुँदै आएको छ । 

प्रकाशित मिति: : 2019-08-24 07:10:37

प्रतिकृया दिनुहोस्