अब गाउँमा सरकारको सिंहदरबार, विप्लवको ‘जनसरकार’

प्रदेश ५ का ग्रामीण क्षेत्रमा नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले धमाधम ‘जनसरकार’ गठन गरिरहेको छ । कपिलवस्तु, दाङ र रुकुमपूर्वलगायतका जिल्लामा सो समूहले ‘जनसरकार’ खडा गरेको हो । प्रहरीले पनि विप्लव नेतृत्वको नेकपाको आधार इलाका प्रदेश ५ का यीनै जिल्लालाई मानेको छ ।

जनसरकारको निशानामा जनप्रतिनिधि

‘जनसरकार’ बनाएसँगै विप्लव समूहले चन्दा असुलीका गतिविधि पनि बढाएको उक्त क्षेत्रका जनप्रतिनिधिहरुले बताएका छन् । ‘जनसरकार’का उर्दी र चन्दाको मुख्य निशाना नै हामी बनेका छौं,’ कपिलवस्तुको एक स्थानीय तहका जनप्रतिनिधि भन्छन्, ‘उनीहरुले अधिकांश स्थानीय तहमा सहयोगराशि माग्दै पत्र पठाएका छन् ।’

ती जनप्रतिनिधिका अनुसार पत्रसँगै विप्लवका कार्यकर्ताले चन्दा नदिए कारबाही गर्ने चेतावनीसमेत दिने गरेका छन् । ‘तर हामी यसबारे खुलेर प्रतिवाद गर्न सकिरहेका छैनौं,’ ती उनले भने, ‘जनधनको चिन्ताका कारण हामी निरीह बनेर बस्नुपरेको छ ।’

चन्दा नदिएको भन्दै विप्लवका कार्यकर्ताले रुपन्देहीको शुद्धोधन गाउँपालिकाका अध्यक्ष किशुनचन्द्र चौधरी, प्युठानको स्वर्गद्वारी नगरपालिकाका प्रमुख नेत्रबहादुर रोकाया र पश्चिम नवलपरासीको सुस्ता गाउँपालिकाका अध्यक्ष रामप्रसाद पाण्डेलाई कालोमोसो दलेका थिए ।

प्रकाशित मिति: : 2019-08-23 16:40:09

प्रतिकृया दिनुहोस्