कर्मचारी सञ्चय कोषले छुट्टै कम्पनीमार्फत आवास योजना सञ्चालन गर्ने

कर्मचारी सञ्चयकोश भवन, ललितपुर।

काठमाडौं- कर्मचारी सञ्चय कोषले छुट्टै कम्पनीमार्फत आवास योजना सञ्चालन गर्ने भएको छ। सञ्चय कोषको स्वामित्वमा रहेका भवनको व्यवस्थापन तथा भविष्यमा आवास योजना सञ्चालन गर्न नयाँ कम्पनी नै स्थापना गर्न लागिएको हो।

सञ्चय कोषका प्रशासक तुलसीप्रसाद गौतमले आवास योजना सञ्चालन गर्न नयाँ कम्पनी स्थापनाको प्रक्रिया अघि बढिसकेको जानकारी दिए। 'अहिले प्रक्रिया सुरु भएको छ, नयाँ कम्पनीको विनियमावली तयार गर्ने काम अन्तिम चरणमा पुगेको छ,' गौतमले भने, 'अब छिट्टै नै हामी सञ्चालक समितिमा त्यसलाई लगेर अन्तिम रुप दिनेछौँ।'

नयाँ कम्पनीलाई सञ्चय कोषले व्यवसायिक प्रयोजननका लागि निर्माण गरेका भवनहरु भाडामा लगाउने, तिनीहरुको व्यवस्थापन गर्ने लगायतका अधिकार दिने तयारी भइरहेको छ। सञ्चय कोषको स्वामित्वमा रहेका मध्ये सुन्धारामा रहेको काठमाडौं मल र ललितपुरको लगनखेलमा रहेको भवन पूर्णरुपमा भाडामा लगाइएको छ। काठमाडौंको ठमेल र ललितपुर पुल्चोकमा रहेको केन्द्रीय कार्यालय रहेको भवन आंशिकरुपमा भाडामा लगाइएको छ।

सञ्चय कोषले पहिलो चरणमा चितवनको कल्याणपुरमा रहेको आफ्नो ४ बिघा १६ कट्ठा जमिनमा आवास योजना अघि बढाउने तयारी गरेको छ। त्यसबाहेक अन्यत्र पनि आवश्यकताका आधारमा जग्गा खरिद गरी आवास योजना सञ्चालन गर्न सकिने गौतमले बताए।
प्रकाशित मिति: : 2019-08-22 15:08:31

प्रतिकृया दिनुहोस्