प्रधानमन्त्री ओलीले सिंगापुरबाटै ‘क्याबिनेट’ चलाउने

फाइल तस्बिर

प्रधानमन्त्री केपी शर्मा ओली स्वास्थ्य परीक्षणका लागि सिंगापुरमा रहँदा भिडियो कन्फरेन्सका माध्यमबाट मन्त्रिपरिषदको बैठकको अध्यक्षता गर्ने भएका छन्।

प्रधानमन्त्री ओली भिडियो कन्फरेन्सका माध्यमबाट बैठकमा सहभागी हुने भएपछि सरकारले बुधबार मन्त्रिपरिषद बैठक सञ्चालन विधि समेत परिवर्तन गरेको छ।

प्रधानमन्त्री ओली स्वास्थ्य परीक्षणलागि बिहीबार सिंगापुरतर्फ प्रस्थान गरेका छन्। जसले काठमाडौं बाहिर रहँदा पनि प्रधानमन्त्रीलाई बैठकको अध्यक्षता गर्ने बाटो खुलेको छ। नेपाल सरकारले मन्त्रिपरिषदको बैठकमा पहिलो पटक भिडियो कन्फरेन्सको प्रयोग गर्न लागेको हो।

‘हिजोको मन्त्रिपरिषदले यससम्बन्धी विधि परिवर्तन गरेको छ। मन्त्रिपरिषद आज अपरान्ह हुने पत्रकार सम्मेलनमा सञ्चार मन्त्रीले जानकारी गराउनु हुन्छ,’ बालुवाटार स्रोतले नेपालखबरसँग भन्यो।

प्रधानमन्त्री ओली सिंगापुरका नेसनल युनिभसिटी अस्पतालमा थप स्वास्थ्य परीक्षण गराउने त्यसतर्फ प्रस्थान गरेका छन्। एक महिनाभित्रै दोस्रो पटक स्वास्थ्य परीक्षणका लागि सिंगापुरतर्फ गएका हुन्। प्रधानमन्त्री ओली साउन २७ गते १० दिन सिंगापुरमा स्वास्थ्य परीक्षण गरेर फर्किएका थिए। यसपटक पनि कम्तीमा १० दिन सिंगापुरमा रहने बताइएको छ।

‘प्रविधिक विकास हुँदै जान्छ, हामीले नयाँ विधि अपनाउँदै जाने हो। पहिलो थिएन भनेर अहिले नराख्ने भन्ने कुरा हुँदैन,’ पूर्व मुख्यसचिव सोमलाल सुवेदीले भने, ‘यो सकारात्मक कदम हो। मन्त्रिपरिषदमा हुने निर्णयको जिम्मेवार प्रधानमन्त्रीको हुन्छ। प्रविधिको विषयले धेरै विषयलाई सहज बनाउँदै लगेको छ।’

प्रधानमन्त्री देश बाहिर रहँदा कार्यवहाक दिने चलन भएपनि महत्वपूर्ण निर्णय बाहेकका मन्त्रिपरिषद डाक्ने गरिँदैनथ्यो।

‘प्रधानमन्त्री बाहिर हुँदा आपत्कालीन अवस्थामा मात्रै बैठकहरु हुने गरेका छन्। पछि सहमति लिने गरी पनि बैठक हुन्छ। तर, सामान्यता बैठक बस्ने गरेको छैन,’ सुवेदीले भने ।

प्रकाशित मिति: : 2019-08-22 15:05:23

प्रतिकृया दिनुहोस्