बाबुले जे काम गरे पनि रक्सी नबेच्नू भने, त्यसैले चिया बेच्छन्

भक्तपुर, दत्तात्रय स्क्वायरमा बिहान पाँच नबज्दै चहलपहल सुरू हुन्छ। ब्रह्मा, विष्णु र शिवको संगम मानिने पगोडा शैलीको दत्तात्रय मन्दिर यहाँको मुख्य आकर्षण हो। यो मन्दिर एउटै रूखको काठबाट बनेको जनविश्वास छ।

भिमसेनको मन्दिर दत्तात्रय स्क्वायर परिसरकै अर्को आकर्षण। दत्तात्रयको ठीकपछाडि दाहिने कुनातिर काष्ठ संग्रहालय छ। संग्रहालय पुग्नुअघि इँटा र माटोले बनेको चारतले पुरानो घर आउँछ। दत्तात्रयको ठूलो घन्टीको पहिलो ध्वनिसँगै यो घरका मान्छे ब्युँझन्छन्। घरमा गोपाल लाछिमस्युका बा, आमा, बहिनी, श्रीमती र तीन सन्तान गरी आठ जनाको परिवार बस्छ।

नवबाजा दाफा समूहका गतिविधि हुने यो घरमा १८ वर्षदेखि चिया पसल पनि छ। भक्तपुरको दूधपाटीदेखि च्यामासिंहेसम्मका चिया पारखी यही पसलमा बसेर दत्तात्रय स्क्वायरका गतिविधि नियाल्छन्। भुइँतलाका दुई होचा ढोकासँगै हरेक दिन साढे पाँच बजे खुल्छ 'गोपाल दाइको चिया पसल।' त्यसको १५ मिनेटमा खाजा बनाउने 'मिस्त्री' आइपुग्छन्।

मोटो–मोटो, होचो–होचो जिउडालका गोपाल आफ्नो दैनिकी सुनाउँछन्, 'चियाबाहेक यहाँ बिहानको ६ बजेदेखि सेल, पुरी, पापड र हलुवा मिसाइएको रोल, चना, अन्डा, समोसा, पकौडी बनाउने तयारी हुन्छ।'

जात्रामय सहर भक्तपुर बिस्का:देखि गठेमंगल नआउन्जेल अलि सुनसान हुन्छ। गाईजात्राको मौका पारेर यहाँका संस्कृतिप्रेमी फेरि जुर्मुराउँछन्। काठमाडौंमा एक दिनमा सकिने गाईजात्रा भक्तपुरमा नौ दिन चल्छ। गोपालका अनुसार, 'पसलमा ग्राहक संख्या र व्यापार बढ्ने समय यही हो।'

प्रकाशित मिति: : 2019-08-22 10:10:44

प्रतिकृया दिनुहोस्