मैना सुनार हत्या प्रकरण : सेनाले राखेको मेलमिलाप प्रस्ताव परिवारबाट अस्वीकृत

मैना सुनार

काठमाडौं।   बहुचर्चित मैना सुनार हत्या प्रकरणमा नेपाली सेनाले राखेको मेलमिलाप प्रस्तावलाई उनका परिवारले अस्वीकार गरेको छ । १६ वर्षअघि नेपाली सेनाले चरम यातना दिएर हत्या गरिएकी काभ्रेकी मैना सुनारको परिवारलाई नेपाली सेनाले मेलमिलापका लागि राखेको प्रस्ताव परिवारले अस्वीकार गरेका हुन् । पहिलोपटक मैनाकी आमा देवी सुनारलाई ४ असारमा नेपाली सेनाले आफूहरूसँग मिल्न प्र्रस्ताव राखेका थिए । पहिलो प्रस्ताव अस्वीकार भएपछि नेपाली सेनाले भद्रकाली बोलाएर दोस्रोपटक प्र्रस्ताव राखेको थियो ।

पहिलोपटक काठमाडांैको तीनकुनेको एक क्याफेमा नेपाली सेनाको कर्णेलले मैनाकी आमा देवी सुनारलाई अहिलेको अवस्था हेरेर मेलमिलाप गर्नुपर्ने प्र्रस्ताव गरेका थिए । मैनाले अध्ययन गरेको काभ्रेको भगवती उच्च माविमा अक्षय कोष खडा गर्ने र मृत्यु भएको नेपाली सेनाको सालिकसँगै उनको शालिक निर्माण गरिदिने प्रस्ताव गरेको थियो । तर, मैनाकी आमा देवीले सो प्रस्ताव आफूले अस्वीकार गरेको राजधानीसँग बताइन् । बहिनी गीतासँग तीनकुने पुगेकी देवीसँग नेपाली सेनाले चार घण्टा कुराकानी भएको उनको भनाइ छ । देवीले न्यायका लागि भइरहेको संघर्ष कमजोर हुने ठानेर उक्त प्रस्ताव अस्वीकार गरेको बताइन् । भेटमा सहभागी सेनाका अधिकारीहरूले उक्त भेट प्रधानसेनापति पूर्णचन्द्र थापाको आग्रहमा गरिएको बताएका थिए ।

‘पहिला बेपत्ता बनाएर हत्या गर्ने अनि अहिले किन भेट्नुपर्ने अवस्था आयो भनेर सुरुमा प्रश्न गरे,’ उनले भनिन्, ‘सेनाको कर्णेलले पहिला जे भयो त्यसमा माफी माग्दै अब मिलौं, हामी मैनाको नाममा केही गर्न चाहन्छौं भनेर प्रस्ताव राखे ।’ विगतको पाठ सिक्दै सुध्रन चाहन्छांै भनेपछि देवीले प्रश्न गरिन््, कसरी सुध्रने ? नेपाली सेनाको कर्णेलले जवाफ दिए, मैनाले पढेको विद्यालय बनाइदिन्छांै । हामीले भवनको डिजाइन पनि बनाइसकेका छौं, अक्षयकोष स्थापना गर्छांै भनेर प्रस्ताव राखे । सो प्रस्ताव उनले सोझै अस्वीकार गरेकी छन् । मेरी छोरीका हत्यारा खुलेआम हिँड्ने अनि म मेलमिलापमा जाने कसरी ?

कर्णेलको कुरा सुनेपछि देवी सुनारले छवि सुधार्ने भए छोरी मैनालाई न्याय हुनेगरी ३ वैशाख २०७३ मा काभ्रे जिल्ला अदालतले गरेको फैसला कार्यान्वयन कहिले पूरा हुन्छ ? छोरी मैनाको हत्या गर्ने अपराधीहरू बाहिर खुलेआम हिँडिरहेका छन्, कागजमा मात्रै न्याय पाएका छौं, वास्तविक न्याय नपाई कसरी मन बुझाउने ? उनले सेनासँग प्रश्न गरिन् ।

देवी सुनारले दोस्रो प्रस्ताव नेपाली सेनाले आफूलाई विपक्षी बनाएर दायर गरेको मुद्दा फिर्ता गर्न भनिन् । सो कुरा नेपाली सेनाले मान्न तयार नभएपछि मैनाको न्याय नपाएसम्म नमिल्ने बताएकी छन् । मुद्दा पनि सेनाले जित्ने, न्याय पनि नपाउने अवस्थामा मिल्न नसक्ने भन्दै नेपाली सेनाको प्रस्ताव अस्वीकार गरेको देवीले राजधानीसँग बताइन् । ४ असारपछि नेपाली सेनाले ११ असारमा मैनाकी आमालाई पुनः मिल्नका लागि प्र्र्रस्ताव गरेको थियो । दोस्रो भेट भने भद्रकालीमा भएको थियो । नेपाली सेनासँगको दोस्रो भेटमा जर्नेल टीका थापासँग भेट भएको उनको भनाइ छ ।

 

–मैनाको नाममा अक्षय कोष खडा गर्ने र उनको सालिक बनाउने सेनाको प्रस्ताव 
–मैना पढेको विद्यालय बनाइदिने सेनाको प्रस्ताव 
–घटनाप्रति माफी माग्दै अब मिलौं, विगतको पाठ सिक्दै सुध्रन चाहन्छौ :  सेना 
–मैनाकी आमा भन्छिन्,– ‘छोरीको हत्यामा अपराधीलाई जेल सजाय नै न्याय’

 १० वर्षे सशस्त्र द्वन्द्वका बेला नेपाली सेनाबाट बलात्कृत भएपछि हत्या गरिएकी काभ्रेकी १५ वर्षीया सुनारको विषय हाल अदालतमा मुद्दा चलिरहेको छ । छोरीका हत्यारालाई कारबाहीको माग गर्दै आमा देवी सुनारले वर्षौंदेखि न्यायको लडाइँ लडिरहेको बताइन् । हाम्रो लागि हत्या भएकी छोरीले न्याय पाउनुभन्दा ठूलो कुरा अरू हुन सक्दैन,’ मैनाकी आमाले भनिन् ।

सेनाले २०६० फागुन ५ गते राति घरबाट लगेर मैनालाई बेपत्ता बनाएको थियो ।

प्रकाशित मिति: : 2019-08-21 08:42:24

प्रतिकृया दिनुहोस्