अब गुणस्तर परीक्षण गर्न भारत जान नपर्ने

तस्बिरः नागरिक

काठमाडौं - नेपालका प्रयोगशालामा गरिएको खाद्य गुणस्तर परीक्षण प्रमाणपत्रलाई मान्यता दिन भारत सहमत भएको छ। खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको प्रयोगशालामा गरिएका परीक्षणलाई ‘अन्तर्राष्ट्रिय बेन्च मार्क’ का आधारमा वैधता दिन भारतीय पक्षले सहमति जनाएको हो।

यसले नेपाली कृषिजन्य उत्पादनलाई भारतीय बजारमा प्रवेश पाउन सहज हुनेछ। यसअघि नेपालको गुणस्तर सर्टिफिकेटलाई मान्यता नदिएर विभिन्न बहानामा भारतले अदुवा, अलैंचीलगायत कृषिजन्य वस्तु निर्यातमा पटक–पटक अवरोध गर्दै आएको थियो।
खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका प्रवक्ता मोहनकृष्ण महर्जनले विभागले गरेको खाद्य गुणस्तर परीक्षण ‘प्रमाण पत्र’ लाई मान्यता दिन भारतीय पक्ष सहमत भएको बताए। ‘२० वटा निर्यातजन्य वस्तुमा खाद्य प्रविधिले गरेको ‘सर्टिफाइड सर्टिफिकेट’ लाई भारतले मान्यता दिने भएको छ,’ प्रवक्ता महर्जनले भने, ‘भारतसँग एमओयू गरेपछि यो व्यवस्था औपचारिक रुपमा कार्यान्वयनमा आउँछ।’

नेपाल–भारत संयुक्त आयोगको बैठकमा दुई पक्षबीच एमओयूमा हस्ताक्षर हुने बताइएको छ। उच्चस्तरीय संयुक्त आयोगको पाचौं बैठक बुधबारदेखि काठमाडौंमा सुरु हुँदैछ। यसै अवसरमा भारत र नेपालका अधिकारीबीच एमओयूमा हस्ताक्षर हुने कार्यक्रम छ।
निर्यातजन्य सूचीमा रहेका चिया, कफी, जुस, जाम, फलफूल, बेसार, तरकारी, प्रशोधित मह, अलैंची, अदुवा, जडीबुटीलगायत २० प्रकारका वस्तुको गुणस्तर परीक्षण प्रमाणपत्रलाई भारतलाई मान्यता दिएको महर्जनले बताए। निर्यातजन्य खाद्य वस्तुको मापदण्ड पुगेको भने हुनुपर्नेछ। गुणस्तरमा शंका लागेमा दुवै पक्षले पुनः परीक्षण भने गर्न सक्ने छन्। 

नेपालको गुणस्तर परीक्षणलाई मान्यता दिन भारत सहमत, नेपाली उत्पादन निर्यातमा टेवा पुग्ने

भारतसँग हुने अन्तरसरकारी बैठकमा नेपाली पक्षले पटकपटक यो विषय राख्दै आएको भए पनि अहिले आएर बल्ल दुवै मुलुकमा गरिएका गुणस्तर परीक्षणलाई मान्यता दिन सहमति जुटेको हो। केही समयअघि भारतबाट आयात हुने कृषिजन्य वस्तुमा नेपाली पक्षले गुणस्तरको प्रश्न उठाएपछि भारतलाई नैतिक दबाब परेको थियो।

प्रकाशित मिति: : 2019-08-21 08:36:47

प्रतिकृया दिनुहोस्