यसरी छुट्याउनुहोस् ‘फेक न्यूज’

२०७६ को सुरुवाततिर नागरिकताको विषय उत्कर्षमा थियो । अचानक मधेसबाट एउटा भिडियो आयो र भनियो भारतीयलाई नागरिकता दिइँदै । सामाजिक सञ्जाल प्रयोगकर्तामा ‘राष्ट्रवाद’ सवार भयो । राष्ट्रवादका नाममा फैलिएको उक्त भिडियो हेरेकै भरमा कैयौं मान्छेले सडकमा नाराबाजी गरे । कैयौं मान्छेले चिया पसलमा घण्टाैं राष्ट्रवादको वकालत गरे ।

तर, अन्तमा उक्त भिडियो गलत थियो भन्ने प्रमाणित भयो । एकपटक सोच्नुहोस् त, त्यो भिडियोले हामीलाई कति दिन बिथोल्यो ? त्यो गलत भिडियोले हामीलाई के–के सोच्न, बोल्न र लेख्न बाध्य बनायो ?

अहिले यस्तै भएको छ रवि लामिछानेलाई प्रहरीले नियन्त्रणमा लिएको विषयमा । लामिछानेको नाममा सैयौं फेसबुक पेज, अकाउन्ट र ग्रुप खोलिएका छन् । यस्तै पेज, ग्रुप र अन्य सामाजिक सञ्जाल प्रयोगकर्ता अहिले ‘फेक न्यूज’ फैलाउन लागि परेका छन् ।

लामिछानेको तस्बिर राख्दै पोष्ट गरिएका यस्ता सामाग्रीमा ‘रवि लामिछानेलाई फसाउन खोजियो, एक सय सेयर गर्नुहोस्, रवि दाई रिहा हुन्छन्,’ लेखिएको हुन्छ ।

फेसबुकमा १ सय सेयर हुँदैमा, १ हजार लाइक हुँदैमा कोही व्यक्ति रिहा हुने कुरा तपाईं विश्वास गर्नुहुन्छ ?

‘फेक न्यूज’ बिक्री गर्ने थलो बन्दै सामाजिक सञ्जाल!

पक्कै गर्नुहुन्न । गर्नुहुन्न भने किन सेयर गर्नुहुन्छ यस्ता पोष्ट ?

किन म्यासेन्जरमा पठाउनुहुन्छ यस्तो लेखिएका पोष्ट ? सामाजिक सञ्जालमा आएका सामाग्री कति सही हुन् कति गलत हुन् भनेर छुट्याउन तपाईं किन सक्नुहुन्न ?

रवि लामिछाने प्रकरणमा प्रचण्ड, प्रचण्डपुत्री रेणु दाहाल र प्रहरी अधिकारीको नाम मुछेर बनाइएका भिडियो र पोष्ट सामाजिक सञ्जालमा सेयर भइरहेको छ ।

पर्दाफास, खुलासा, रहस्य, गोप्यजस्ता उत्तेजना फैलाउने शब्द राखिएका पोष्ट र भिडियो सेयर गरेर सामाजिक सञ्जालबाट आवेग र आक्रोश फैलाउने काम राम्रो हो त ?

यस्तै पोष्ट र भिडियो हेरेर आक्रोशित भएपछि मान्छेहरु नाङ्गो खुकुरी देखाउँदै नेतालाई गाली गर्न थाल्छन् । प्रहरी अधिकारीको फोटोमा ‘आरआईपी’ लेख्दै सेयर गर्छन् । यस्तै पोष्ट र भिडियो बनाएको आरोपमा प्रहरीले दुई जना युवालाई पक्राउ गरिसकेको छ । व्यक्तिको चरित्र हत्या गरिएका भिडियो र पोष्ट हामी छिटो पत्याउँछौ ।

 

प्रकाशित मिति: : 2019-08-20 19:53:38

प्रतिकृया दिनुहोस्