माधवसँग केपी चिढिनुका तीन चरण : माधवले गुमाउने केही छैन !

तस्बिरः अनलाइनखबर

३ भदौ, काठमाडौं । सचिवालय बैठकले आफ्नो तेस्रो वरियता खोसेपछि नेकपाका बरिष्ठ नेता माधवकुमार नेपालले अध्यक्ष केपी शर्मा ओलीलाई भने, ‘मेरो अपमान गरेर हुर्मत लिन सफल हुनुभएकोमा तपाईलाई बधाइ छ ।’

प्रधानमन्त्री ओलीले ‘त्यसो होइन’ भन्न नभ्याउँदै नेपालले अझ आक्रोशित हुँदै भने, ‘अब तपाईले अध्यक्ष वा प्रधानमन्त्रीमध्ये एउटा पद छाडिहाल्नुस् । नवौं महाधिवेशनको वरियता कायम गर्ने हो भने भीम रावल, अष्टलक्ष्मी र युवराज ज्ञवालीलाई ईश्वर पोखरेल र बिष्णु पौडेलभन्दा माथिल्लो वरियतामा ल्याउँ ।’

अध्यक्ष ओलीले अध्यक्ष वा प्रधानमन्त्री दुवै पद छाड्दिनँ भनेर प्रष्ट जवाफ दिए । नेपालका अरु कुराको जवाफ नदिई निर्णय सुनाउन थालेपछि ‘आजको निर्णयमा मेरो नोट अफ डिसेन्ट रहन्छ’ भनेर बरिष्ठ नेता नेपाल उठेर हिँडे ।

बैठकपछि नेता नेपालले कोटेश्वरस्थित निवासमा जम्मा भएका नेता–कार्यकर्तालाई यही कुरा सुनाए ।

साउन ३१ गते शुक्रबारको सचिवालय बैठकमा केपी ओलीले बामदेव गौतमलाई उपाध्यक्ष बनाउने प्रस्ताव ल्याउँदा सबै नेताले मुखामुख गरे । गौतमलाई उपाध्यक्ष बनाउने प्रस्ताव स्थायी समितिमा लैजाने निर्णयसँगै बरिष्ठ नेता झलनाथ खनाल उठेर बोल्न थालेपछि एकाएक बैठकको माहौल फेरियो ।

खनालले आफू दुई अध्यक्षपछिको बरिष्ठ नेता भएको भन्दै विगतको त्रुटिपूर्ण निर्णय सच्याउनुपर्ने कुरालाई गम्भीरतापूर्वक राखेपछि माधव नेपालले बुझिसकेका थिए,अब ओलीले छाड्दैनन् ।

ओलीसँग बिच्किएका बामदेवलाई पदको खात लगाइनु र झलनाथले लामो समयदेखि नउठाएको वरियता विवाद त्यही मौकामा उठाउनु संयोगमात्र भए पनि माधव नेपालको मनमा चिसो पसिसकेको थियो ।

यद्यपि खनालले भने आफूले त्यसदिन कुनै नेतासँग सल्लाह नगरी वरियतासम्बन्धी पुरानै माग बैठकमा राखेको बताएका छन् । खनालको सो मागलाई ओलीले आइतबरको बैठकको एजेण्डा बनाइदिए । नेपालको पक्षमा ९ सदस्यीय सचिवालयका कुनै एकजना पनि नेता नबोलेपछि उनले ओलीलाई आफ्नो अपमान गरेकोमा बधाईं दिँदै खनालको वरियता स्वीकार गरे ।

ओली बिच्किनुका तीन कारण

प्रधानमन्त्री केपी शर्मा ओली माधव नेपालको तेस्रो वरियता पनि खोस्न किन अग्रसर भए ? जबकि पार्टीभित्र गणितीय शक्तिको हिसाबले नेपाल निर्णायक स्थानमा छन् ।

प्रचण्ड, बामदेव र झलनाथलाई साथमा लिएर ओलीले नेपालसँग बदला लिएको चर्चा पनि नेकपा वृत्तमा चलिरहेका बेला नेपालसँग ओली तीन कारणले चिढिएको उनी निकट नेताहरुसँगको कुराकानीबाट प्रष्ट भयो ।

 

प्रकाशित मिति: : 2019-08-20 13:56:13

प्रतिकृया दिनुहोस्