‘१० हजारमा लाइसेन्स बन्ने जमाना गए हजुर’

यातायात व्यवस्था कार्यालय नेपालगन्ज। तस्बिर : शंकरप्रसाद खनाल

नेपालगन्ज : कारकाँदोस्थित यातायात व्यवस्था कार्यालयमा सोमबार बिहान १० बजे पुग्दा गेटमा रातो कुर्था र कालो सुरुवाल लगाएकी अधबैंसे महिलाले मुस्कानसहित प्रश्न गरिन्, ‘के कामले आउनुभएको हो ? म गरिदिन्छु नि !’ सुरुमा ग्राहकका रूपमा प्रस्तुत हुन गाह्रो भयो।

संवाददाताले स्कुटर नवीकरण गर्न आएको हुँ भनेपछि उनले एक जना पुरुषलाई डाकिन्। ‘४३ सय रुपैयाँ राजस्व पर्छ। सेवाशुल्क तीन सय रुपैयाँ मात्र। सबैभन्दा सस्तो’, उनले फकाउन खोजिन्, ‘हजुर आफैंले गर्दा धेरै समय लाग्छ। हेर्नुस् त बैंकमा कत्रो लाइन छ। राजस्व शाखामा त्यो भन्दा लामो छ। हजुर १२ बजे लिन आउँदा तयार हुन्छ।’

१० बजेर ११ मिनेट जाँदासम्म कार्यालयमा काम सुरु भइसकेको थिएन। कार्यालयकोे पूर्वउत्तरतिरको नेपाल इन्भेस्टमेन्ट बैंकको शाखा, पश्चिम-उत्तरमा राजस्व शाखा र फोटो खिचाउन सेवाग्राही लाइनबद्ध भइसकेका थिए। लाइनमा सेवाग्राहीभन्दा बढी बिचौलिया थिए।

डुडुवा-५ कम्दीका वसन्त यादवलदे भने, ‘बाइक बेचें। पास गर्न आएको छु। साथी बिचौलिया छ। सबै काम उसैले गर्छ।’

ट्याक्टर बेच्न आएका बर्दिया बढैयाताल गाउँपालिका-जमुनीका आइतबारी खटिक दक्षिणतिरको चियापसलमा ढुक्कसँग बसेका थिए। ‘मैले के गर्नु छ। सबै उसैले (बिचौलिया) गर्छ। काम बनेपछि ल्याएर दिन्छु। कतै नजानु भनेको छ’, उनले भने, ‘काम बनेपछि पाँच सय/हजार दिऔंला।’

कार्यालयमा कर्मचारीसँग आफैंले काम गर्ने सेवाग्राही भेट्नै मुस्किल थियो। अपवाद भेटिए, बर्दिया मधुवनमा क्याम्पसमा अध्यापन गर्ने दिलीप लामिछाने। ‘किन दलाललाई पैसा दिने ? म आफैं काम गर्न सक्छु’, मोटरसाइकल नवीकरण गर्न आएका उनले भने।

बिचौलियाले भने मनलाग्दी पैसा लिइरहेका थिए। कार्यालयमा बिचौलियाको दररेट एउटै रहेनछ। खरानी रङको ट्राउजर र रातो जर्सी लगाएका एकजना बिचौलिया भन्दै थिए, ‘११ हजार रुपैयाँ लागेको छ। दुई हजार थपेर दिनुस्। बाँकी म मिलाउँला।’ उनीहरूको कुरा सुन्दा कम्तीमा तीन सयदेखि बढीमा दुई हजार रुपैयाँमा बिचौलियाले असुल गरिरहेका थिए। उनीहरू एकअर्काको पोल खोलाखोल पनि गरिरहेका थिए, ‘काम एउटै गर्ने हो। किन धेरै लिनु ? मलाई त चारपाँच सय भए पुग्छ। उसलाई त पन्ध्र सय रे। कत्ति न जान्ने भए जस्तो’, अर्की महिला बिचौलियाले भनिन्।

‘तपाईंलाई केही सेवा गर्न सक्छु ? ’, युवक बिचौलियाले जिज्ञासा राखे। उनी पैसा दिए लाइसेन्स बनाउन सकिनेमा ढुक्क थिए। ‘एकडेढ महिनाको समय दिनुस्। तपार्इंको काम पक्का।’

दिउँसो साढे एक बजेतिर संवाददाता ब्लु बुक बोकेर कार्यालयभित्र पस्दा दुई महिला र एक पुरुष बिचौलियासहित तीनजनाबीच ब्लु बुक खोसाखोस चल्यो। महिला बिचौलिया कर हिसाब गर्न थालिन्। उनले भनिन्, ‘२६ सय रुपैयाँ मात्र लाग्छ दाइ। चाँडै दिनुस्। बैंक बन्द हुन लागिसक्यो।’ ब्लु बुक नवीकरण भइसकेको थियो। अर्की महिला बिचौलियाले जरिबाना लाग्दैन, कर मात्र तिर्नुस् भनिन्। फेरि पुरुष बिचौलिया के भयो भन्दै आए। ‘यसको चैतसम्म नवीकरण छ। कर तिर्नु पर्दैन’ भनेर उनी गए। ‘त्यो त हावा हो’ भन्दै फेरि अर्को बिचौलिया थपिए।

प्रकाशित मिति: : 2019-08-20 07:11:42

प्रतिकृया दिनुहोस्