थप उपचारका लागि प्रधानमन्त्री फेरि सिंगापुर जाने

तस्बिरः नयाँ पत्रिका

प्रधानमन्त्री केपी ओली स्वास्थ्य उपचारका लागि पुनः सिंगापुर जाने भएका छन् । लगत्तै फर्कने भनेर सिंगापुरबाट आएका ओली बिहीबार त्यता उड्दै छन् । १८ साउनमा सिंगापुरस्थित सरकारी अस्पताल नेसनल युनिभर्सिटी(एनयु)मा एक साता लामो स्वास्थ्य परीक्षण गराई प्रधानमन्त्री ओली २७ साउनमा स्वदेश फर्किएका थिए ।

प्रधानमन्त्रीले सेवन गर्दै आएको पुरानो औषधि प्रभावविहीन हुन थालेको छ । १३ वर्षअघि प्रत्यारोपण गरिएको मिर्गौलाले अहिले काम कम गर्न थालेको र क्रेटानाइनको मात्रा बढ्न थालेको चिकित्सकहरूको भनाइ छ । कम्तीमा औषधि परिवर्तन गर्नुपर्ने र बढीमा नयाँ मिर्गौला प्रत्यारोपण गर्नुपर्ने जानकारी सिंगापुरका डाक्टरहरूले प्रधानमन्त्री ओलीलाई दिएका छन् । यी दुवै कामका लागि पर्याप्त समय चाहिने हुनाले आफूलाई केही समय दिन प्रधानमन्त्रीले सिंगापुरका डाक्टरहरूलाई अनुरोध गरेका थिए । करिब साताभित्रै फर्कने समझदारीसहित उनी नेपाल आएका थिए । 

‘नयाँ औषधि प्रयोग गरी हेरौँ, साइड इफेक्ट हुन्छ कि हुन्न, प्रभाव कस्तो देखिन्छ, परीक्षण गरौँ भन्ने डाक्टरको सल्लाह थियो,’ प्रधानमन्त्रीलाई उद्धृत गर्दै प्रधानमन्त्रीको सचिवालयका एक सदस्यले भने । तर, प्रधानमन्त्री स्वदेश फर्किएर यसबीचमा महत्वपूर्ण राजनीतिक निर्णयहरू गरेका छन् । अब बिहीबार सिंगापुर गएपछि उनको विस्तृत उपचार हुनेछ । 

पार्टी एकतापछि दोस्रो ‘नोट अफ डिसेन्ट’ लेख्दै नेपाल 
नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपालले जनवर्गीय संगठन, प्रदेश सम्पर्क समन्वय कमिटी र उपत्यका विशेष कमिटीको पछिल्लो कार्यविभाजनप्रति लिखित ‘नोट अफ डिसेन्ट’ लेख्ने भएका छन् । मंगलबार बोलाइएको सचिवालय बैठकमा आइतबारको सचिवालयले गरेको केही निर्णयमा नोट अफ डिसेन्ट लेख्ने गरी तयारी भइरहेको उनको सचिवालयले जनाएको छ । 

पछिल्लो कार्यविभाजनमा सिनियर केन्द्रीय सदस्यहरूलाई पन्छाएर जुनियर केन्द्रीय सदस्यहरूलाई इन्चार्ज, सहइन्चार्ज र अध्यक्षको जिम्मेवारी दिइएको भन्दै नेपालले नोट अफ डिसेन्ट (लिखित असहमतिपत्र) दर्ता गराउने तयारी गरेका हुन् । ‘उहाँले जनसंगठनको इन्चार्ज, सहइन्चार्ज र पदाधिकारीको कार्यविभाजनमा आइतबारको बैठकमा असहमति राखिसक्नुभएको छ,’ नेपालका स्वकीय सचिव मोहन गौतमले नयाँ पत्रिकासँग भने, ‘अब बस्ने बैठकमा उहाँले त्यही असहमतिलाई लिखित नोट अफ डिसेन्टका रूपमा दर्ता गराउनुहुनेछ ।’ पार्टी एकतायता यो नेपालको दोस्रो लिखित नोट अफ डिसेन्ट हुनेछ । यसअघि उनले अघिल्लो १३ असोजमा पहिलो नोट अफ डिसेन्ट राखेका थिए ।

प्रधानमन्त्रीको सरकारी निवास, बालुवाटारमा आइतबार सम्पन्न सचिवालय बैठकले नेपालको स्थानमा अर्का वरिष्ठ नेता झलनाथ खनालको वरीयता कायम गर्दै उनलाई एक तह तल झारेको थियो । वरीयता हेरफेरको निर्णय स्वीकार गरेका नेपाल पार्टी सञ्चालन र जिम्मेवारी बाँडफाँडसम्बन्धी निर्णयमा भने असहमति राख्दै बैठककै बीचबाट बाहिरिएका थिए । नेकपाको सचिवालय बैठक मंगलबार ३ बजे बालुवाटारमा बोलाइएको छ । 

प्रकाशित मिति: : 2019-08-20 07:09:36

प्रतिकृया दिनुहोस्