जुम्ला सदरमुकाम खलंगानजिक एक कार्यक्रममा पुग्दा करिव ७ जना वृद्धाआमाको समूह गफिँदै गरेको भेटियो। म र मेरो टोली नजिक पुग्यौं र, जिज्ञासा राख्दै आमाहरूसँग भलाकुसारी गर्यौं। समूहकी एक आमाले पोको पारेको प्लास्टिकको झोला खोल्न सुरु गरिन्। तीन दाना स्याउ हाम्रो टोलीलाई दिइन्। मायाले दिएको स्याउ हामीले ढुंगामा फुटाएर आधा/आधा बनाएर खायौं। जुम्लाको लोकल स्याउ अहो, कति मिठो।
स्याउ चपाउँदै आमाहरूको टोलीसँग भलाकुसारी गर्यौं।
‘कति वर्ष पुग्नुभयो ?’ मैले सोधे।
तीमध्ये अलि टाठी वृद्धाले भनिन्, ‘ ७० वर्ष भए नि। मेरो नाम चाहिँ मैना बिष्ट।’
उनले नै हाम्रो टोलीलाई स्याउ चखाएकी थिइन्। उनीसँगै रहेका अरु वृद्धा आमाहरू मैनाका दौतरी थिए। बोल्न लजाउने अरु वृद्धाहरूलाई नाम के हो भनी सोध्दा कसैले थापा, कसैले बिष्ट र कसैले माइली भनी बताए।