हामी नेपाललाई ठूला देशको प्रतिस्पर्धाको केन्द्र बन्न दिँदैनौं : प्रदीप ज्ञवाली [अन्तर्वार्ता]

तस्बिरः नेपाललाइभ

केपी शर्मा ओली नेतृत्वको सरकारमा परराष्ट्र मन्त्रीको जिम्मेवारी सम्हालेर विगत १७ महिनादेखि नेपालको विदेश नीतिलाई बाह्य दुनियाँसँग ‘डिल’ गरिरहेका छन्, प्रदीप ज्ञवाली। सरकारले यसबीचमा विभिन्न देशसँगको सम्बन्धमा पुनर्ताजगी दिलाउने तथा विदेशस्थित विभिन्न फोरममा आफ्नो सहभागीतालाई बढाउने काम गरिरहेको छ। यसबीचमा के साँच्चै विदेशीको नेपालप्रतिको चासो बढेर गएको हो त? बदलिँदो विश्व राजनीतिले नेपालजस्ता देशलाई थपेका चुनौती र सम्भावना के-कस्ता छन्? उनले कार्यभार सम्हालेयता देखिने गरी के-के परिवर्तन भए त? यी र यस्तै प्रश्नको सेरोफेरोमा केन्द्रित रहेर मन्त्री ज्ञवालीसँग नेपाल लाइभका रामकुमार डिसीले संवाद गरेका छन्। 

तपाईंले एउटा बलियो सरकारको परराष्ट्र मन्त्रीको जिम्मेवारी सम्हालेको पनि करिब १७ महिना भइसक्यो। फर्केर हेर्दा आफ्नो कार्यकालको आफैं कसरी मूल्यांकन गर्नुहुन्छ?
म सन्तुष्ट छु। कुनै पनि सरकारको परराष्ट्र मन्त्रीको प्रमुख दायित्व देशले अघि सारेका मुख्य राष्ट्रिय प्राथमिकताको सेवाका निम्ति एउटा अनुकूल अन्तर्राष्ट्रिय सम्बन्ध निर्माणको प्रयास गर्नु, अन्तर्राष्ट्रिय रुपमा राष्ट्रको छविलाई माथि उठाउनु, बदलिँदो विश्व र भू-राजनीतिक परिवेशभित्र आफ्नो राष्ट्रिय हितको रक्षा गर्नु हुन्छ।

लामो संक्रमणकालपछि मुलुकमा राजनीतिक स्थायित्व कामय भएको छ। यो स्थायित्वको जगमा उभिएर र हामीले प्राप्त गरेका राजनीतिक उपलब्धिहरुलाई आधार बनाएर यसलाई हाम्रो आर्थिक समृद्धिमा अनुवाद गर्न चाहन्छौं। राजनीतिक स्थायित्वमार्फत मुलुकको सामाजिक, आर्थिक रुपान्तरणलाई गति दिन चाहन्छौं। नेपाली जनतामा वर्षौंदेखि मुर्झाएको विकासको आकांक्षालाई टेवा पुर्‍याउन चाहन्छौं। 

आज विश्व बैंकको भाषामा भन्दा नेपाल दक्षिण एसियाको एउटा उदाउँदो ताराको रुपमा स्थापित हुँदैछ। विश्व आर्थिक मञ्च, अक्सफोर्ड विश्वविद्यालय, एसिया सोसाइटीलगायतका विभिन्न फोरमहरुमा नेपाललाई निमन्त्रणा आउन थालेको छ। नेपालको छवि विश्वसामू बिस्तारै बढ्दो छ। 

यसका निम्ति गएको १७ महिनाको अवधिमा छिमेकी मुलुकसँग नेपालको सम्बन्धलाई अझ सुदृढ बनाउँदै उहाँहरुको आर्थिक विकासमा नेपालको आर्थिक विकासलाई जोड्ने, प्रमुख विकास साझेदारसँग सम्बन्ध सुदृढ गर्ने, श्रम गन्तव्य मुलुकसँग नयाँ स्तरको सम्बन्ध विकास गर्दै श्रमिकहरुको हित रक्षा गर्ने, अन्तर्राष्ट्रिय जगतमा नेपालको एउटा लोकतान्त्रिक, प्रगतिशील र उदाउँदो छविलाई स्थापित गर्ने तथा समग्रमा नेपालको हितमा अन्तर्राष्ट्रिय सद्भाव जुटाउने काममा केन्द्रित रहेर काम गरेको छु। त्यसबाट प्राप्त भएका उपलब्धिबाट सन्तुष्ट छु। यद्यपि गर्नुपर्ने अझ धेरै कामहरु बाँकी नै छन्। 

नेपालको उपस्थिति बाहिरी दुनियाँमा प्रत्याभूत गराउने गरी यो अवधिमा सरकारले चालेका कदमहरु सफल भएका हुन्?
निश्चय नै। यसका निम्ती सरकारको सचेतन प्रयास पनि जिम्मेवार छ। सँगसँगै मुलुकले हासिल गरेका राजनीतिक उपलब्धिहरु मुख्य जिम्मेवार छन्। त्यसको श्रेय नेपाली जनतालाई जान्छ। यति ठूलो राजनीतिक परिवर्तन हुँदैनन्थ्यो भने, जनताले राजनीतिक स्थिरताका पक्षमा प्रबल मत दिँदैनथे र नेपालको संक्रमणकाल टुंगिदैनथ्यो भने नेपाल आगाडि बढ्ने थिएन। त्यसैले यसको पहिलो श्रय नेपाली जनतालाई जान्छ। 

संगसँगै हाम्रो सरकारले नेपालको 'इमेज'लाई अगाडि बढाउने सन्दर्भमा सचेतन प्रयास गरिरहेको छ। हिजो नेपाल भन्ने बित्तिकै अस्थिरतामा रुमल्लिरहेको, आर्थिक विकास हुन नसकेको, युवाहरु बाहिर पठाएर रेमिट्यान्समा बाँचिरहेको देशको रुपमा नेपालको छवि धमिलिने स्थिति बनेको थियो। 

समृद्धि हासिल गरेका दुईवटा मुलुकका बीचमा रहेको नेपाल सधैं पछौटेपनमा रहन सक्दैन। यही कुरालाई ध्यान दिँदै अब हाम्रा कूटनीतिक पहलहरुलाई आर्थिक साझेदारीमा केन्द्रित गरेका छौं। 

आज विश्व बैंकको भाषामा भन्दा नेपाल दक्षिण एसियाको एउटा उदाउँदो ताराको रुपमा स्थापित हुँदैछ। विश्व आर्थिक मञ्च, अक्सफोर्ड विश्वविद्यालय, एसिया सोसाइटीलगायतका विभिन्न फोरमहरुमा नेपाललाई निमन्त्रणा आउन थालेको छ। सफलताका कथाहरु सुनेर विभिन्न विश्व संस्थाहरु र मित्रहरु हामीप्रति उत्सुक देखिएका छन्। नेपालको छवि विश्वसामू बिस्तारै बढ्दो छ। 

तपाईंले परराष्ट्र मन्त्रालयको प्रमुख जिम्मेवारीमा आएदेखि नेपालका थप कूटनीतिक प्राथमिकता यो-यो हुन् भनेर केही 'ड्राफ्ट' बनाउनु भएको छ?
अवश्य। मेलै केही ‘इनोभेटिभ’ सोचहरुलाई अघि सारेको छु। दुई छिमेकीहरु चीन र भारतले हासिल गरेका विशाल आर्थिक उपलब्धिहरु छन्। समृद्धि हासिल गरेका दुईवटा मुलुकका बीचमा रहेको नेपाल सधैं पछौटेपनमा रहन सक्दैन। यही कुरालाई ध्यान दिँदै अब हाम्रा कूटनीतिक पहलहरुलाई आर्थिक साझेदारीमा केन्द्रित गरेका छौं।

प्रकाशित मिति: : 2019-08-19 12:54:48

प्रतिकृया दिनुहोस्