नेकपाभित्र फेरि बल्झियो ‘एक व्यक्ति एक पद’

नेकपा सचिवालय बैठक। फाइल तस्बिर

लामो समयदेखि विवादित पार्टीका ३२ विभागको नेतृत्व टुंगो लगाएको नेकपा आज पुनः सचिवालय बैठक बस्ने तयारीमा छ ।

आज अपरान्ह चार बजे बोलाइएको बैठकमा पार्टीको पोलिटव्युरो गठनदेखि केन्द्रीय अनुशासन आयोग हुदै जेष्ठ कम्युनिष्ट मञ्चसम्मलाई पुर्णता र एकीकरण गर्ने एजेण्डा रहेको एक सचिवालय सदस्य बताउँछन् ।

पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहालको असन्तुष्टिसँगै प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी ओलीको प्रस्तावमा विवादित विभाग टुंगो लागेको छ ।

बहुविवादित स्कूल विभागमा तत्कालीन एमाले खेमाका नेताले बाजी मारेपछि अव बाँकी रहेका नेकपाका जनसंगठन र विभागीय कमिटीमा प्रचण्डले भिटो प्रयोग गर्ने नेकपाकै नेताहरुले बताइरहदा सचिवालय बैठक बस्न लागेको हो ।

त्यसो त विगतमा पटक पटक सर्दै र विवादमा पर्दै आएको सचिवालय बैठक आज पनि बस्दै नबसी या सामान्य छलफल गरेर टुंगिने सम्भावना पनि उत्तिकै छ ।

तर विभागका प्रमुख र उपप्रमुख, प्रदेश इन्चार्ज र संयोजक तथा जिल्ला संयोजक र इन्चार्ज टुंगिइसकेपछि अव वाँकी रहेका तहमा प्रभावशाली नेतृत्वको दाबी पर्ने सम्भावना पनि कम भएकाले तत्काल वाँकी काम टुंगिन सक्ने एक सचिवालय सदस्य बताउँछन् ।

आज बस्ने भनिएको बैठक मुलतः पोलिटब्युरो घोषणा गर्नेमा केन्द्रीत हुने ती सचिवालय सदस्य बताउँछन् । ‘किनकी तत्कालीन दुवै पार्टीका पोलिटब्युरो स्वतः पर्ने र केही मात्र थप हुने भएकाले यसलाई घोषणा गर्न अब धेरै पापड बेल्नुपर्ने अवस्था छैन,’ ती सचिवालय सदस्य भन्छन्, ‘बाँकी केही जनसंगठनमा भने विवाद हुनसक्छ ।’

प्रकाशित मिति: : 2019-08-18 14:54:48

प्रतिकृया दिनुहोस्