प्रचण्डलाई कार्यवाहक अध्यक्ष सुम्पेर प्रधानमन्त्री ओली फेरि सिंगापुर जाँदै

नेकपा अध्यक्ष प्रचण्ड

१ भदौ, काठमाडौं । सिंगापुरमा ९ दिन उपचार गराएर फर्किएका प्रधानमन्त्री केपी शर्मा ओली थप उपचारका लागि यसै साता फेरि सिंगापुर जाने भएका छन् ।

प्रधानमन्त्रीको स्वास्थ्यस्थितिबारे जनमानसबाट चिन्ता प्रकट भइरहेका बेला उनी स्वदेश फर्केको एक सातापछि नै दोस्रोपटक ‘फलोअप’ का लागि सिंगापुर जान लागेका हुन् ।

प्रधानमन्त्रीको सिंगापुर प्रस्थान साउन ४ या ५ पाँच गते हुने उच्च सरकारी स्रोतले जनाएको छ । १२ वर्ष पहिले मिर्गौला प्रत्यारोपण गरेर प्रधानमन्त्री ओलीले अहिलेसम्म नियमित औषधि खाइरहेका छन् ।

अघिल्लो साता सिंगापुरमा चलाइएको नयाँ औषधिको ‘इफेक्ट’बारे थप जाँचका लागि सिंगापुर जानै पर्ने भएको प्रधानमन्त्री निकट एक नेताले अनलाइनबरलाई बताए ।

प्रधानमन्त्री ओली गत साउन १८ गते स्वास्थ्य जाँचका लागि सिंगापुर गएका थिए । साउन १९ देखि एक सातासम्म उनी अस्पतालमै रहेका थिए । तोकिएको समयभन्दा एक दिन ढीलो गरेर प्रधानमन्त्री साउन २७ गते काठमाडौं फर्किए । स्वदेश फर्किँदा विमानस्थलमा उनी सञ्चारकर्मीहरुसँग बोलेनन् । केहीबेरपछि प्रधानमन्त्रीले ट्विट गरेर स्वास्थ्य ठीक रहेको बताए ।

पुरानो औषधि फेरेर नयाँ चलाएका प्रधानमन्त्रीले स्वदेश फर्किएलगत्तै वामदेव गौतमलाई उपाध्यक्ष बनाउनेदेखि ईश्वर पोखरेललाई स्कुल विभागको प्रमुख बनाउनेसम्मका निर्णयहरु फटाफट गराएका छन् । यससँगै पार्टीका अढाइ दर्जनभन्दा बढी विभागहरुले पूर्णता पाएका छन् ।

थप उपचारका लागि सिंगापुर जानुपूर्व आजै प्रधानमन्त्रीले संसदलाई सम्वोधन गरे । तर, संसदलाई गरेको सम्वोधनमा प्रधानमन्त्रीले आफ्नो स्वास्थ्य र सिंगापुर भ्रमणबारे संसदलाई केही पनि जानकारी गराएनन् ।

के छ त प्रधानमन्त्रीको स्वास्थ्य अवस्था ?

प्रधानमन्त्रीको स्वास्थ्य अवस्थालाई लिएर जन मानसमा अनेक खालका चिन्ता प्रकट भइरहेका छन् । मुलुकको कार्यकारी प्रमुखको स्वास्थ्य स्थितिबारे आम नागरिकमा यस्तो चिन्ता प्रकट हुनु स्वाभाविकै हो । तर, प्रधानमन्त्रीको सचिवालयले यसबारेमा औपचारिक जानकारी दिनभन्दा पनि सूचनालाई गोप्य राख्न खोज्दा जनमानसमा आशंका उब्जिने गरेको छ ।

आजभन्दा १२ वर्ष पहिले प्रधानमन्त्री ओलीको मृगौला प्रत्यारोपण गरिएको थियो । उनलाई भाइबुहारी अञ्जना घिमिरेले मृगौला दिएकी हुन् ।

चिकित्सकहरुका अनुसार मृगौला प्रत्यारोपण गरिएको मानिसले लगभग जीवनभर औषधि खाइरहनुपर्छ । र, सामान्यतः १० वर्षमा पुरानो औषधि बन्द गरेर नयाँ औषधि चलाउने प्रचलन छ ।

उच्च सरकारी स्रोतका अनुसार अघिल्लो साता सिंगापुर गएका बेला प्रधानमन्त्री ओलीलाई नयाँ औषधि चलाइएको छ । साथै चिकित्सकहरुले हालै बुहारी अञ्जनाको पनि स्वास्थ्य जाँच गरेका छन् ।

पुरानो औषधिका ठाउँमा नयाँ औषधि प्रयोग गर्दा यसले काम गर्छ कि गर्दैन भनेर चिकित्सकले अवलोकन गर्छन् । नयाँ औषधिले राम्रोसँग काम गरेन वा शरीरमा ज्वरो आउनेलगायतका जटिल लक्षणहरु देखिए भने साइट इफेक्ट भएको मानिन्छ । त्यस्तो बेलामा पुरानो औषधितिरै फर्किनुपर्ने वा अन्य उपचारका तरिकाहरु अवलम्वन गर्नुपर्ने हुन सक्छ ।

प्रधानमन्त्री ओलीलाई सिंगापुरमा साउन १९ गतेदेखि अस्पतालमै राखेर चिकित्सकहरुले नयाँ औषधिको ‘इफेक्ट’ जाँचेका थिए । एक सातासम्म हेर्दा सकारात्मक स्थिति देखिएपछि तीन साताभित्र ‘फलोअप’ मा आउने गरी प्रधानमन्त्रीलाई डिस्चार्ज दिइयो र उनी साउन २७ मा स्वदेश फर्किए .

 

प्रकाशित मिति: : 2019-08-18 14:41:59

प्रतिकृया दिनुहोस्