४० दिनपछि होस खुलेकी रामजानकीको चित्कार- ससुराले नकुट्न हारगुहार गरिरहे, तर उनीहरूले मलाई कुटिरहे

तस्बिरः नेपाललाइभ

धनगढी- शनिबार दिउँसो २ बजे, धनगढीस्थित सेती अस्पतालको सर्जिकल वार्डको बेड नम्बर २६ मा रहेकी बिरामी रामजानकी चौधरीलाई रगत चढाइँदै थियो।

केहीबेरमा चौधरीले बिस्तारै टाउको हल्लाइन् र मधुरो स्वरमा केही भनिन्। निकै गलेको अवस्थामा अस्पतालको बेडमा हलचल गरिरहेकी चौधरी लम्कीचुहा नगरपालिका-८ गोप्काकी स्थानीय हुन्। ३० वर्षीया उनी जग्गाको साँधसीमा विवादमा निर्घात कुटिएर ४० दिनपछि मात्रै होसमा आएकी थिइन्।

चौधरीलाई असार १७ गते छिमेकीहरूले निर्मम ढंगले कुटपिट गरेका थिए। उनलाई कुटपिट भएको ३९ दिनपछि सेती अस्पताल भर्ना गरिएको थियो। साउन २६ मा सेती अस्पताल ल्याउँदा उनी अचेत थिइन्। अस्पतालमा उपचार भएपछि साउन २७ मा मात्र उनको होस आएको थियो।

४० दिनपछि होसमा आएकी रामजानकीलाई अहिले पनि खुट्टाहरू चलाउन सहज छैन। टाउको, हात, घाँटी, छाती, ढाड र तल्लो पेट बरोबर दुख्ने गरेको उनी बताउँछिन्।

अस्पतालमा रामजानकीको आडमै भेटिएका उनका श्रीमान् तीर्थ डगौंरा थारुले भने, 'अस्पताल ल्याएदेखि शुक्रबार पहिलोपटक जाउलो खाइन्।'

रामजानकीलाई अस्पताल भर्न गरिएको एक साता भइरहेको छ। स्वास्थ्यमा क्रमिक सुधार आइरहेको भए पनि उनी अझै सहजै बोल्न सक्ने अवस्थामा छैनन्। त्यसबाहेक अन्य क्रियाकलापका लागि समेत उनी तन्दुरुस्त भइसकेकी छैनन्। शनिबार अस्पताल पुग्दा उनले हामीसँग घटनाबारे केही कुरा बताइन्। मलिन स्वरमा उनले भनिन्, 'यमबहादुर र उनकी छोरी लक्ष्मीले मेरा हातखुट्टा च्यापेर कुटपिट गरे। गाली बेइज्जत गरे। मेरा ससुरा उनीहरूसँग बुहारीलाई नकुट्न हारगुहार गरिरहेका थिए, तर उनीहरूले मलाई कुट्न छोडेनन्।'

रामजानकीको टाउको, खुट्टालगायत शरीरका केही भाग सुन्निएकाले एमआरई र सिटी स्क्यान गर्नुपर्ने चिकित्सकहरूले सुझाव दिएका छन्। श्रीमान् तीर्थले दुखेसो पोखे, 'सेती अस्पतालमा यो सुविधा रहेनछ, अन्यत्र लैजानका लागि हामीसँग खर्च छैन।' 

यसैबीच, अधिकारकर्मी भूमि फुलारालगायतको समूहले रामजानकीलाई उपचारका लागि कोहलपुर लैजाने तयारी गरेको छ। उनीहरूले त्यसका लागि रकम संकलन पनि गरिरहेका छन्। भूमिले भनिन्, 'हामीले ५ हजार रुपैयाँ संकलन गरिसकेका छौं। उपचारमा थप रकम आवश्यक पर्ने भएकाले सहयोग मागिरहेका छौं।'

प्रकाशित मिति: : 2019-08-18 08:48:39

प्रतिकृया दिनुहोस्