नेकपामा शक्तिशाली वामदेव

तस्बिरः अन्नपूर्ण पोष्ट

काठमाडौं : नेकपाभित्र वामदेव गौतम फेरि शक्तिशाली भएका छन्। गत प्रतिनिधिसभा चुनावमा पराजित भएयता नेकपाभित्रै गौतमको राजनीतिक भविष्यमा प्रश्न उठिरहेका बेला एकाएक उनी फेरि पार्टीमा शक्तिशाली बनेर उदाएका हुन्।

उनले संगठन विभागको नेतृत्व मात्र पाएनन्, उनकै लागि विधान संशोधन गरेरै उपाध्यक्ष बनाउने प्रस्तावमा समेत सचिवालय बैठकमा छलफल भएको छ। अब नेकपाको सचिवालयले उनलाई उपाध्यक्ष बनाउने प्रस्ताव स्थायी समितिमा लगेर निर्णय लिनेछ। यो निर्णयसँगै नेताहरूको मर्यादाक्रममा पाँचौं नम्बरमै रहे पनि गौतम पार्टीभित्र बलिया बन्नेछन्।

दुई कम्युनिस्ट पार्टी एकतामा समेत निर्णायक भूमिका खेले पनि उपयुक्त जिम्मेवारी नदिएको, निर्वाचनमा ओली पक्षका नेताहरूकै कारण पराजित हुन परेको र उपचुनावमार्फत फेरि संसद् छिर्न आफूले गरेको तयारीमा समेत ओली नै ‘अवरोधक’ बन्न पुगेको ठानेपछि गौतम ओलीसँग टाढिन पुगेका थिए।

गत स्थायी समिति बैठक (मंसिर २९ देखि पुस १३) मा दुई अध्यक्षको लिखित प्रस्तावमाथि गौतमले फरक मत राखेका थिए। प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी ओलीको खरो आलोचकका रूपमा देखिएका गौतमले त्यसबेला ‘एक व्यक्ति एक कार्यकारी पद’ को बहस ल्याएर एउटा अध्यक्षलाई प्रधानमन्त्री र अर्का अध्यक्षलाई पार्टी सञ्चालनको प्रस्ताव गरेका थिए। त्यसपछि भने नेकपाभित्रै धेरै नेतालाई लागेको थियो, गौतमको ओलीसँग सम्वन्धविच्छेद हुने भयो। तर ८ महिनामै नेकपाभित्रको समीकरण यसरी बदलियो कि फेरि वामदेव ओलीका लागि सबैभन्दा भरपर्दा व्यक्ति बनेर निस्किए।

नेकपाकै एक सचिवालय सदस्य भन्छन्, ‘वामदेवलाई ओलीसँग सम्बन्ध बिगार्दा आफू पार्टी राजनीतिमा पर्दापछाडि परिने अनूभूति भइरहनु र ओलीलाई पनि वामदेवलाई विरोधी बनाउँदा पार्टीभित्र अप्ठ्यारो भइरहने अनूभूति भएपछि दुई नेताबीच सम्झौताको सम्बन्ध बनेको हो।’

ओली–वामदेव सम्बन्धपछि नेकपाभित्रको राजनीतिमा नयाँ समीकरण देखिएको छ। झन्डै दुई साताअगाडिसम्म अध्यक्ष ओली, ईश्वर पोखरेल र विष्णु पौडेल एकातिर र अन्य सचिवालयका ६ नेता अर्कातिर जस्तै देखिएको राजनीतिक समीकरणमा गौतमको भूमिका बलियो भएपछि नयाँ मोड लिन पुगेको छ।

सुरुमा दाहालको प्रस्तावमा संगठन विभाग प्रमुखमा प्रस्तावित गौतमलाई प्रधानमन्त्री ओलीले पार्टीभित्र संगठन विभाग मात्र होइन, विगतको आफ्नो वचनअनुसारकै (नवौं महाधिवेशनका बेला भएको सहमति कार्यान्वयन) अन्य जिम्मेवारीको पनि प्रस्ताव गरेपछि नेकपाभित्र राजनीतिक समीकरण फेरबदल भएको थियो।

ओली–गौतम सम्बन्ध गौतमको २८ असारमा परेको जन्मदिनमा ओलीले बालुवाटारमा दिएको भोजदेखि नै विस्तार भएको थियो। ओलीले गौतमका बाबु–छोरालाई बालुवाटारमा बोलाएर जिम्मेवारीका वियषमा छलफल गरेपछि दुई नेता नजिकिएका थिए।

प्रकाशित मिति: : 2019-08-18 06:37:43

प्रतिकृया दिनुहोस्