६६ वर्षदेखि वर्षामापक केन्द्र, पूर्वसूचना एकपटक मात्रै

वर्षाको पानी मापन गर्ने उपकरण देखाउँदै कर्मचारी लक्ष्मीकुमार मास्के

खोलानदीमा बाढी आउनुअघि नै नागरिकलाई सूचना दिन मोरङको सुन्दरहरैँचा नगरपालिका–१ मा बाढी पूर्वानुमान शाखा वर्षामापक केन्द्र स्थापना गरिएको ६६ वर्ष भयो । तर, साढे ६ दशकको अवधिमा यहाँका नागरिकले एकपटक मात्रै पूर्वसूचना पाएका छन् । जब कि सुन्दरहरैँचा क्षेत्रमै बर्सेनि बाढीले जनधनको क्षति पुर्‍याउने गरेको छ । 

स्थानीय लोहान्द्रा र सिंगियालगायत खोलामा बाढी बढ्न सक्ने खतरा रहेको सूचना स्थानीयले पहिलोपटक गत ८ साउनमा मात्रै पाए । व्यक्तिका मोबाइलमा सूचना आएको थियो । साढे ६ दशकको अवधिमा यस्तो सूचना कुनै पनि माध्यमबाट त्यसअघि र पछि कहिल्यै नपाएको स्थानीय बताउँछन् । जब कि एसएमस पठाउने व्यवस्था गरिएकै चार वर्ष भइसकेको छ । 

‘हामीलाई त वर्षामापक केन्द्र कहाँ छ भन्ने पनि थाहा थिएन,’ सुन्दरहरैँचा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेशप्रसाद दाहालले भने, ‘८ साउनमा म्यासेज आएपछि मात्रै थाहा भयो । तर, त्यसपछि भने पानी परे पनि कुनै सूचना आएको छैन ।’ 

०१० मा भारतले स्थापना गरेको वर्षामापक केन्द्र ०२४ मा नेपाललाई हस्तान्तरण गरेको थियो । मापक केन्द्रमा ५२ वर्षदेखि उमेरले ६० नाघेका एकजना कर्मचारी कार्यरत छन् । आठ कक्षासम्म अध्ययन गरेका लक्ष्मीकुमार मास्केले ५२ वर्षदेखि पानी नाप्दै आए, विभागमा जानकारी पनि गराए, तर स्थानीयले बाढी आउनुअघि सूचना भने कहिल्यै पाएनन् । 

‘जल तथा मौसम विज्ञान विभाग बाढी पूर्वानुमान शाखाले मलाई पानी परेको वेला नाप्न भन्छन् । मैले नापेर सूचना पठाउँछु, मेरो काम नै त्यही हो,’ मास्केले भने, ‘तर, त्यसपछि केन्द्रले के गर्छ भन्ने मलाई समेत थाहा थिएन । ८ साउनमा मोबाइलमा सूचना आएपछि पो थाहा भयो ।’ मासिक २० रुपैयाँ तलबबाट काम सुरु गरेको उनको अहिले ६ हजार पुगेको छ । अहिले पानी नाप्ने यन्त्र रेम्फल खिया लागेर बिग्रिने अवस्थामा पुगेकोसमेत मास्केले बताए । 

मौसम विभागका सूचना अधिकृत विक्रम श्रेष्ठ भन्छन्–अब पानी पर्नासाथ जानकारी गराउँछौँ
माथिल्लो क्षेत्रका खोलामा पानी बढेपछि तल्लो क्षेत्रमा जनधनको क्षति हुन नदिन भनेर नै वर्षामापक केन्द्र स्थापना गरिएको हो । तर, सुरुमा हाइड्रोपावर, सडक निर्माण तथा पूर्वाधार निर्माणमा हुन सक्ने क्षति रोक्न मात्रै सम्बन्धित अधिकारीलाई सूचना दिने गरिन्थ्यो । चार वर्षयता सबैलाई एसएमएस पठाउने सिस्टम तयार गरिएको छ । तर, यसबीचमा आवश्यक प्रविधि नहुँदा जनस्तरमा सूचना पठाउन असमर्थ भयौँ । अहिले विभागबाटै पानीको मात्रा नाप्ने यन्त्र जडान गरिएको छ । अब पानी पर्दा घन्टा–घन्टामा मापन गरिन्छ र वेलैमा जानकारी दिइन्छ ।

प्रकाशित मिति: : 2019-08-18 06:34:08

प्रतिकृया दिनुहोस्