नेकपाको समीकरण उथलपुथल : माधवको वरियतामा झलनाथको धावा

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को समीकरणमा एकाएक उथलपुथल भएको छ ।

बामदेव गौतम उपाध्यक्षमा चयन र ईश्वर पोखरेल स्कुल विभाग प्रमुख भएसँगै वरिष्ठ नेता माधवकुमार नेपालको वरियतासमेत हल्लिएको छ ।

झलनाथको माग पूरा होला त ?

शुक्रबार बसेको नेकपा केन्द्रीय सचिवालयको बैठकमा झलनाथ खनालको दोस्रो बरियतासम्बन्धी प्रस्ताव विधिवतरुपमा पेश गरेपछि नेता नेपालको वरियता हल्लिएको हो ।

खनालले आफू नेता नेपालभन्दा वरिष्ठ भएकाले दुई अध्यक्षपछिको वरियतामा रहनुपर्ने माग एक वर्षअघि नै बैठकमा राखेका थिए । खनालको यो माग शुक्रबार विधिवत रुपमा प्रवेश भएको र त्यसमाथि गम्भीर छलफल पनि गरिएको सचिवालय सदस्य तथा स्कूल विभाग प्रमुख ईश्वर पोखरेलले बताए ।

वरियतासम्बन्धी खनालको प्रस्तावमाथि थप छलफल गरी अर्को बैठकबाट टुंगो लगाइने उनले बताए । पोखरेलले अनलाइनखबरसँग भने, ‘कमरेड झलनाथ खनाल हाम्रो पार्टीको वैधानिक वरिष्ठ नेता हो । उहाँको सन्दर्भमा विगतमा त्रुटि भएकै हो । उहाँले शुरुदेखि नै त्रुटि सच्याउनुपर्ने कुरा गम्भीरतापूर्वक उठाउनुभयो । अब यो विषय बैठकको एजेण्डा बनेको छ, यस विषयमा आगामी बैठकमा गम्भीर छलफल हुन्छ ।’

तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रबीच एकीकरणपछि गठन भएको ९ सदस्यीय सचिवालयमा नेताहरुको वरियता तोक्ने क्रममा दुई अध्यक्ष केपी शर्मा ओली र प्रचण्डपछि माधवकुमार नेपाललाई राखिएको थियो । खनाललाई तेस्रो वरियतामा राखिएका थिए ।

प्रकाशित मिति: : 2019-08-16 19:02:24

प्रतिकृया दिनुहोस्