महिना नपुग्दै भत्कियो धनगढी चक्रपथ मिलेमतोमा गुणस्तरहीन काम भएको पुष्टि

तस्बिर बीच भागमा भत्केको चक्रपथ। तस्बिरः नागरिक

धनगढी - धनगढी उपमहानगरपालिकामा बनाइएको चक्रपथ एक महिना नपुग्दै भत्किन थालेको छ। सुदूरपश्चिम प्रदेशको राजधानी रहेको धनगढीमा निर्माण गरिएको चक्रपथको ८ दशमलब ९ किलोमिटर खण्ड एक महिनामै भत्किनुले गुणस्तरहीन काम भएको पुष्टि भएको छ।

निर्माणाधीन चक्रपथको धनगढी उपमहानगरपालिका–३ मा सम्पन्न भएको ८ दशमलब ९ किलोमिटर खण्ड एक महिना नपुग्दै भत्किएको हो। ४२ किलोमिटरको चक्रपथ सघन सहरी विकास कार्यक्रमअन्तर्गत निर्माण भइरहेको छ। निर्माण सम्पन्न भएको भन्सारदेखि राजपुरसम्मको खण्डको बीच–बीचमा तथा नाला किनारमा कालोपत्रे दबिने र भत्किने गरेको स्थानीय बताउँछन्। ‘प्रदेश मन्त्रीदेखि उच्च तहका अधिकारी हिँडडुल गर्ने स्थानमै यस्तो गुणस्तरहीन काम हुन्छ भने दुर्गमको अवस्था कस्तो होला,’ नागरिक समाजका अगुवा प्रमोद पाठक भन्छन्, ‘सबैको मिलेमतोमा गुणस्तरहीन सामग्री प्रयोग गरिएका कारण सडक भत्किन थालेको हो।’ 

सघन सहरी विकास कार्यक्रमअन्तर्गत धनगढी उपमहानगरपालिकामा चक्रपथ निर्माण भइरहेको छ। जसअन्तर्गत धनगढी उपमहानगरपालिका–३ मा निर्माण गरिएको ८ दशमलब ९ किलोमिटर बाह्य चक्रपथ एक महिना नपुग्दै भत्किन थालेको छ।

करिब १० करोड रुपैयाँ लगानीमा भन्सारदेखि राजपुरसम्मको ८ दशमलब ९ किलोमिटर खण्ड निर्माण गरिएको एक महिना नपुग्दै भत्किन थालेपछि स्थानीय निरास बनेका छन्। ‘हामी सर्वसाधारण ठूलो बजेटमा विकास भयो भनेर खुसी हुन्छौं तर बनेको केही महिनामै सडकमा सवारीसाधन गुडाउनै नमिल्ने हुन्छ,’ स्थानीय राजेन्द्र थारूले भने, ‘अनियमितताले विकास बजेट बालुवामा पानी हालेजस्तै भइरहेको छ।’

केएस कन्ट्रक्सन, लुम्बिनी कन्ट्रक्सन र जेभी राजेन्द्र निर्माण सेवाले २०७४ साल असार मसान्तमा दुई वर्षभित्र सडक निर्माण सम्पन्न गर्ने भनी संयुक्त रुपमा ठेक्का लिएका थिए। ८ दशमलब ९ किलोमिटर सडक बनाउन प्रतिकिलोमिटर एक करोड दुई लाख रुपैयाँका दरले ठेक्का सम्झौता भएको थियो। सम्झौताबमोजिमको अवधिमा काम सम्पन्न भए पनि गुणस्तरहीन हुँदा एक महिना पूरा नहुँदै सडक ठाउँठाउँमा भत्कने, दबिने तथा चिरा पर्न थालेको छ।

स्थानीय मोहन विष्टले भने, ‘नगरपालिकामा बन्ने अन्य साना योजनाका सडक कच्चा भएर छोटो समयमै भत्किने गरेका थिए नै। ठूलो आयोजना भनिएको यो सडक गुणस्तरीय होला भन्ने ठानेका थियौं तर भएन। यसरी कसरी दिगो विकास होला ?’ घरआँगन भएर कालोपत्रे चक्रपथ बन्ने भएपछि हांैसिएका आफूहरु निर्माणको एक महिना नबित्दै भत्कन थालेपछि निराश भएको उनले बताए।

‘सरोकारवाला निकाय सबै कमिसनको मोहमा परेर गुणस्तरहीन काममा आँखा चिम्लिँदाको परिणाम हो यो,’ एक प्राविधिकले भने, ‘यसमा निर्माण कम्पनी, कर्मचारी, प्राविधिकदेखि लिएर सरोकारवाला सबैको मिलेमतो छ।’
असारको झरीमा हतारमा सडकको काम गर्दा टिकाउ नभएको बताउँदै पर्यटनकर्मी कृष्णबहादुर महरा भन्छन्, ‘सबैतिर कमिसनको जालो छ। विकासका नाममा ब्रह्मलुट र विनाश मात्र भइरहेको छ। कमिसनले गर्दा धनगढी उपमहानगरपालिका लगायत जिल्लाका विभिन्न सहरका सडकको अवस्था दयनीय छ। अनुगमन र कारबाही गर्ने निकाय पनि कमिसनको मोहमा पर्दा गुणस्तरहीन काम भइरहेको छ।’

स्थानीयले चक्रपथ निर्माणका क्रममा ठेकदारलाई गुणस्तरहीन काम नगर्न पटकपटक सुझाउँदा पनि अटेर गरेर कमसल काम गरेको स्थानीय बताउँछन्। ‘निर्माणकै क्रममा कमसल काम भएको देखेर राम्रो काम गर्न पटकपटक ठेकेदारलाई अनुरोध ग¥यौं,’ स्थानीय दीपक नेगीले भने, ‘तर पनि राम्रो काम भएन।’ सकारका तर्फबाट सडक हेर्ने कर्मचारी पनि ठेकेदारसँग मिलेको दाबी उनको छ।

प्रकाशित मिति: : 2019-08-16 07:37:38

प्रतिकृया दिनुहोस्