पक्राउ पुर्जी काटिएका कर्णालीका मन्त्री : ठेकेदार हुँदै मन्त्रीसम्म

तस्बिरः नेपाल न्यूज

बैंकिङ कसुरमा पक्राउ पुर्जी जारी गरिएका कर्णाली प्रदेशका भौतिक पूर्वाधार तथा विकासमन्त्री खडकबहादुर खत्री प्रदेश सरकारका सबैभन्दा धनी मन्त्री हुन्।

काठमाडौं उच्च अदालत पाटनले उनलाई पक्राउ गरेर अदालत पेश गर्न मंगलबार आदेश दिएको थियो।

उनी सुर्खेत भेरीगङ्गा-११ निवासी हुन्। सुर्खेतको क्षेत्र नं १ (ख) बाट प्रदेश सांसदको निर्वाचन जितेर उनी कर्णाली प्रदेशको भौतिक पूर्वाधारमन्त्री भएका हुन्। तत्कालीन एमालेका उम्मेदवार उनले प्रतिद्वन्द्वी नेपाली कांग्रेसका झकबहादुर केसीलाई पराजित गरेका थिए।

निर्माण व्यवसायसँगै राजनीतिमा लागेका खत्रीका तीनवटा निर्माण कम्पनीमा प्रत्यक्ष लगानी छ। प्रदीप कन्स्ट्रक्सन सेवा, केबी एन्ड हिमाल ग्रुप तथा साझेदारीमा केएसके कन्स्ट्रक्सन कम्पनीमार्फत् निर्माणका काम भइरहेका छन्।

२०३५ मा अखिल पाँचौंको प्रारम्भिक कमिटीबाट राजनीति सुरु गरेका मन्त्री खत्री २०४३ सालमा प्रधानपञ्चको जनपक्षीय उम्मेदवार बनेका थिए, तर पराजित भए।

प्रविणता प्रमाणपत्र तहसम्म अध्ययन गरेका खत्री फेरि २०४९ र २०५४ को स्थानीय निकायको निर्वाचनबाट सुर्खेतको साविक रामघाट गाउँ विकास समितिको अध्यक्षमा निर्वाचित भएका थिए। त्यो बेलै उनले गाउँमा सानातिना ठेक्कापट्टा गर्थे।

उनले पेस गरेको सम्पत्ति विवरणअनुसार हालसम्म उनको नाममा विभिन्न संस्था तथा बैंकहरूमा ३ लाख २१ हजार २ सय २१ कित्ता सेयर रहेको छ।

विजयलक्ष्मी प्राविधिक शिक्षालय सुर्खेत, सेडा क्याम्पस सुर्खेत, जेपी स्कुल सुर्खेत, कृषि विकास बैंक, एकेपिएल, बैंक अफ काठमान्डू, सिटिजन्स बैंक, नेपाल क्रेडिट एन्ड कमर्स बैंक, सिएचसिके, एभरेस्ट बैंक, एनबी बैंक, एनआइसि एसिया बैंक, एनएमबी बैंक, सिद्धार्थ बैंक, सानिमा बैंक, पिआइसी, प्रभु बैंकलगायत बैंक तथा वित्तिय संस्थामा उनको ११ करोड ८६ लाख ७१ हजारभन्दा धैरै रकमको सेयर छ।

प्रकाशित मिति: : 2019-08-15 08:03:20

प्रतिकृया दिनुहोस्