सगरमाथाबारे अन्तर्राष्ट्रिय सञ्चार माध्यमको दाबी गलत: ट्राफिक जाम नभई लाम

तस्बिरः एजेन्सी

काठमाडौँ, साउन ३० गते । सगरमाथा आरोहणको यस वर्षको मुख्य सिजन समाप्त भएको तीन महिना पूरा भइसकेको छ । यद्यपि सगरमाथाको हिलारी स्टेपदेखि चुचुरोसम्म लामबद्ध आरोहीको तस्बिरले फैलाएको तरङ्गले अहिलेसम्म चर्चा भने बटुलिरहेको छ । सरकारले आरोहणका लागि धेरै अनुमति दिएका कारण सगरमाथामा ट्राफिक जाम भएको र त्यसले गर्दा आरोहीको मृत्यु भएको हल्ला अन्तर्राष्ट्रिय सञ्चार माध्यमले फैलाए । तर यो हल्लालाई चिर्दै सरकारले गत जेठ २४ गते गठन गरेको नेपालको पर्वतीय पर्यटन (पर्वतारोहण) सुधार समितिले आरोहणका लागि धेरै अनुमति दिएर त्यस्तो घटना भएको नभई छिनछिनमा बदलिइरहने मौसमका कारण लाम बन्न पुगेको स्पष्ट पारेको छ । 

बुधबार सुझावसहितको प्रतिवेदन सार्वजनिक गर्दै समितिका संयोजक घनश्याम उपाध्यायले यस वर्षको सगरमाथा आरोहणका लागि दस दिनसम्म मौसम अनुकूल हुने प्रक्षेपण गरिए पनि छिनमै बदलिइरहने मौसमले आरोहणको समय आकस्मिक रूपमा परिवर्तन गर्नु परेको र छोटो समयभित्रै आरोहण हुँदा लाम बन्न पुगेको बताउनुभयो । उहाँले सञ्चार माध्यममा भनिएजस्तो सगरमाथामा कुनै ट्राफिक जाम नभएको र त्यो केवल लाम मात्र भएको स्पष्ट पार्नुभयो । 

यस वर्ष वसन्त ऋतुमा सगरमाथा आरोहणका लागि ३८१ जनाले अनुमति लिएकामा २८० जनाले मात्र सफल आरोहण गरेका थिए । तीमध्ये आठ जनाको मृत्यु भएको र एक जना हराइरहेको पर्यटन विभागको तथ्याङ्क छ । सगरमाथा आरोहणका लागि डोरी टाँग्ने कामकै क्रममा फानी नामक आँधीका कारण हिमपात भएकाले त्यो काम बारम्बार सरेर मे १४ मा मात्र पहिलो पटक आरोहण सम्भव भएको समितिको निष्कर्ष छ । त्यसपछि पनि लगातार चार दिन मौसम प्रतिकूल हुँदा आरोहण प्रभावित बनेको तथा मे २१ र २२ मा मौसम अनुकूल भएपछि एकै पटक आरोही सगरमाथा आरोहणमा लाग्दा लाम बनेको समितिको निष्कर्ष छ ।

मे २२ मा एकै दिन २२३ जनाले सगरमाथा आरोहण गरेको भए पनि त्यस दिन एक जनाको मृत्यु भएको विभागको तथ्याङ्क छ । यद्यपि लामको कारणले नभई अत्यधिक उचाइ तथा आरोही अचेत हुँदा मृत्यु हुन पुगेको संयोजक उपाध्यायले जानकारी दिनुभयो । “विश्व मौसममै देखिएको परिवर्तनको असरले सगरमाथामा पनि मौसम परिवर्तन भएकाले आरोहणको तालिकामा आकस्मिक परिवर्तन गर्नु परेको अवस्था रह्यो”, उहाँले भन्नुभयो । हालसम्मकै उच्च सङ्ख्यामा सगरमाथा आरोहण भएको दिन पनि सफल आरोहणको तुलनामा मृत्यु प्रतिशत केवल ०.४४ प्रतिशत रहेकाले सञ्चार माध्यममा भनिएजस्तो अधिक अनुमतिपत्रका कारणले मृत्यु भएको विषय तथ्यले पुष्टि गर्न नसकिने समितिको निष्कर्ष छ । समितिका सदस्यहरूमा विभागका महानिर्देशक डन्नुराज घिमिरे, सन्तवीर लामा, नवराज दाहाल र विभागकै निर्देशक मीरा आचार्य सदस्यसचिव हुनुहुन्छ ।

धरौटी अनिवार्य
समितिले आठ हजार माथिका हिमाल आरोहणका लागि एजेन्सीलाई निश्चित रकम बैङ्क धरौटी अनिवार्य गर्नुपर्ने सुझाव दिएको छ । खासगरी पर्यटकको खोजी, उद्धार र उपचारसमेतको प्रबन्धका लागि त्यस्तो धरौटी राख्नुपर्ने समितिको सुझाव छ । त्यस्तै सगरमाथा आरोहणका लागि प्रतिआरोही ३५ हजार डलर र आठ हजार मिटर माथिका अन्य हिमालका लागि २० हजार अमेरिकी डलर आरोहीले एजेन्सीको नाममा पठाएको बैङ्क विवरण पेस गरेपछि मात्र अनुमति लिनसक्ने व्यवस्था गर्नुपर्ने सुझाव प्रतिवेदनमा उल्लेख छ । यस किसिमको व्यवस्थालाई हरेक दुई दुई वर्षमा परिमार्जन गर्दै लैजानुपर्ने समितिको सुझाव छ ।

छ हजार पाँच सय मिटरको हिमाल चढ्नैपर्ने
समितिले आठ हजार मिटर माथिका हिमाल आरोहणका लागि नेपालको कुनै पनि छ हजार पाँच सय मिटरमाथिको हिमाल आरोहण गर्नैपर्ने व्यवस्था गर्न सुझाव दिएको छ । यस किसिमका हिमाल आरोहणका लागि आधारभूत तथा उच्च पर्वतारोहणको तालिम लिनुपर्ने, एक आरोहीले एक तालिमप्राप्त नेपाली जनशक्ति लिएरै जानुपर्ने, निरोगिताको प्रमाणपत्र पेस गर्नुपर्ने, आरोहणका लागि आफ्नो क्षमता भए नभएको आत्मघोषणा गर्नुपर्ने सुझाव पनि समितिको छ ।

प्रकाशित मिति: : 2019-08-15 07:57:00

प्रतिकृया दिनुहोस्