जापानमा नेपाली कामदार बल्ल टुंगो लाग्यो परीक्षा मिति र मोडालिटी, नर्स र केयर गिभर पहिलो प्राथमिकतामा

तस्बिरः एजेन्सी

काठमाडौं।  निकै लामो प्रयासपछि सरकारले जापान जाने नेपाली कामदारका लागि लिइने भाषा परीक्षाको मिति र मोडालिटीबारे टुंगो लगाएको छ । पहिलो चरणमा नर्स र केयर गिभरका लागि जापान जाने कामदारको भाषा परीक्षा आगामी ११ र १२ कात्तिकमा हुने टुंगो लागेको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार केही समयअघि नेपाल र जापानका प्राविधिक टोलीबीच समझदारी भएअनुसार नेपाली कामदार जापान पठाउने सम्बन्धमा आइपर्ने विविध प्रक्रियालगायतका विषयमा छलफल भएको थियो । मन्त्रालयका रोजगार समन्वय महाशाखाका सहसचिव उमेश ढुंगानाले सोही छलफलका आधारमा भाषा परीक्षा र सीप परीक्षणको मिति टुंगो लागेको जानकारी दिए ।

उनले भाषा परीक्षामा उत्तीर्र्ण भएका कामदारको सीप परीक्षण पनि आगामी १९ र २० कात्तिकमा हुने बताए । मन्त्रालयका अनुसार भाषासँगै सीप परीक्षणमा सहभागी भई उत्तीर्ण भएका कामदार वैदेशिक रोजगारीका लागि जापान जान पाउनेछन् । नेपाल र जापान सरकारबीच भएको समझदारीमा पारित मस्यौदाअनुसार कामदारले जापानी भाषा बोल्न र लेख्न सक्ने एन–४ तहको भाषा उत्तीर्र्ण गर्नुपर्ने उल्लेख छ । यसैगरी, कामदारले एकपटक जापानी भाषा परीक्षा उत्तीर्र्ण गरेपछि सो परीक्षाको मान्यता १० वर्षसम्म हुन्छ ।

नेपाली कामदार छनोट तथा भर्ना प्रक्रियाका लागि जापानले प्रो–म्याट्रिक कम्पनीलाई जिम्मा दिने छ । भाषा परीक्षा र सीप परीक्षणका लागि जापानबाट नै प्रतिनिधि टोली आउने मन्त्रालयले जनाएको छ । भाषा परीक्षा र सीप परीक्षण कम्प्युटरका माध्यमबाट लिइनेछ भने भाषा परीक्षा र सीप परीक्षणको नतिजा सहभागी भएको केही समयमै परीक्षार्थीले प्राप्त गर्ने छन् ।

जापानी भाषा परीक्षा र सीप परीक्षण दुवैमा उत्तीर्ण भएका नर्सबाहेकका कामदार पनि केयर गिभरका लागि जापान जान पाउनेछन् । दक्ष नर्सलाई पहिलो चरणमा प्राथमिकतामा राखिएको छ । केयर गिभरका लागि जान चाहाने कामदारले पनि सोहीअनुसारको भाषा परीक्षा र सीप परीक्षण उत्तीर्र्ण गरेपछि जान पाउनेछन् । भाषा परीक्षा र सीप परीक्षण जापानकै टोलीबाट हुने पनि मन्त्रालयले जनाएको छ । जापानले पाँच वर्षको अवधिमा ३ लाख ४५ हजार विदेशी कामदार लैजाने तयारी गरेको छ । जापानले नेपालसहित अन्य नौवटा मुलुकसँग समझदारीका लागि प्रक्रिया अघि बढाएको छ । 

समझदारीपत्रमा जापानी कानुनबमोजिम नेपाली कामदारको रोजगारीका सेवा, सुविधा एवं सर्तमा जापानी नागरिकसरह समान व्यवहार हुने व्यवस्था सुनिश्चित गरिएको छ । नेपाली कामदारले प्राप्त गर्ने पारिश्रमिक र जापानी नागरिकले प्राप्त गर्ने पारिश्रमिक सरह वा सो भन्दा बढी हुनेछ

 जापानले पहिलोपटक ‘कामदार भिसा’मा सोझै नेपालबाट कामदार लैजाने भएपछि अब यस समझदारीअनुरूप दुई देशका सरकारी संयन्त्रको समन्वयमा कामदार भर्ना हुनेछन् । ‘जापान जाने नेपाली कामदारले यसअघिजस्तो मेनपावर कम्पनी पनि धाइराख्नुपर्ने छैन । नेपालले जापानसँग कामदार आपूर्ति प्रक्रियामा मेनपावरलगायत अन्य कुनै बिचौलिया संयन्त्रलाई सहभागी नगराउन र शून्य लागतमै कामदार लैजाने व्यवस्था गर्न अनुरोध गरेको छ । आगामी अप्रिलबाटै कामदार लैजाने प्रक्रियाका लागि तयारी सुरु हुने सो मन्त्रालयले जनाएको छ । कति शुल्क लाग्छ ?

प्रकाशित मिति: : 2019-08-15 07:51:56

प्रतिकृया दिनुहोस्