बेड नं. ५८, एक ब्लड क्यान्सरकी रोगी, अन्दाजी ३५ वर्षकी ती बिरामी तिनै फूलमाया थिइन्, जसले मलाई आजभन्दा २० वर्षअगाडि चटक्क माया मारेर गएकी थिइन्। संयोग या के भनौं धरानको यो घोपा क्याम्पमा वर्षौंपछि उनी बिरामी अनि म डाक्टरका रुपमा भेट भयो। ती बेहोस बिरामी मेरी फुलू नै थिइन्। उही गोलो अनुहार तर रोगले दुब्लाएकी। गहिरो पीडा बोकेको निधार। फुको सिउँदो, जहाँ मैले माया गरेर रातो सिन्दुर लगाइदिएथें अनि त्यही मुहार, जुन मेरो छातीमा लुकाउँथिन्।
उनका अघिल्ला पुर्जीहरु हेर्दा थाहा भयो, उनलाई ब्लड क्यान्सरले जीवनको अन्तिम घडीमा ल्याइपुर्याएको रहेछ। छाती ढक्क फुल्यो, विश्वासै गर्न सकिन, के यिनी फुलू नै हुन् त ! म के गरूँ कसो गरूँ भएँ। म एकतमासले लट्ठिएँ, कतिखेर मेरो आफ्नाे टेबलमा पुगें खै ! चिटचिट पसिना आयो, श्वासप्रश्वास बढिरह्यो, के तिनी मेरी फुलू नै हुन् त !
बेड नं. ५८ को बिरामी कुरुवालाई मकहाँ झिकाएँ, बिरामीको नाम फूलमाया तामाङ, यिनी उनकी छोरी दिया, उनलाई कुर्न आएकी। उनको आमाको जीवनप्रति आफूमा आस नरहेको बताइन्, किनकि योभन्दा अगावै दियाले आमालाई उपचारार्थ धेरै ठाउँमा पुर्याइसकेकी रहिछन्। अब त आमालाई उपचार गर्ने थप रुपैयाँ पनि नभएको, गरिबीमाथि ब्लड क्यान्सर जस्तो जघन्य रोग दिएर अन्याय गर्ने ईश्वरप्रति पनि आफ्नाे गुनासो सकिएको र आमाको ज्यान बच्न सक्छ भन्ने कुनै आशा नरहेको उनले बताइन्।
फूलमायाको फेरि स्वास्थ्य जाँच गरियो, अब त बाँच्ने कुनै सम्भावना नै थिएन तर म उनलाई होसमा ल्याएर उनीसँग एकचोटि बोल्न चाहन्थें, सिर्फ उनीसँग एकचोटि आँखा जुधाउन चाहन्थें।
नभन्दै भगवानले मेरो प्रार्थना सुनिदिएछन् क्यार, उनको होस आयो रे, छोरीको नाम लिन थालिन् रे, मलाई खबर आयो, झटपट त्यहाँ पुगें, दिया खाजा खान बाहिरतिर गएकी रहिछन्। उनको नाडी छामें, साह्रै मन्द, धेरै मन्द गतिमा धुकधुकी चलिरहेथ्यो, जीउ खङ्ग्रङ्गै सुकेर टिठलाग्दी भइछन्, ओंठ कलेंटी परिसकेछन्, पहिलेका ती लामालामा केशराशि झरेर छोटा खस्रा भएछन् अनि थकित बन्द ती आँखाबाट आँसुका दुई थोपाहरु चुहिन खोज्दै थिए, सायद भन्दै थिए, ‘म बाँच्न चाहन्छु, झरेर फुट्न चाहन्नँ।’
फुलूप्रति मेरो हृदय भरिएर आयो, आँखा डबडबाए, मेरी फुलूलाई किन यस्तो भएको ? तर म त्यहाँ कसरी रुन सक्थें र ! मैले बिस्तारै उनको नामबाट ‘फुलू’ भनि बोलाएँ। उनले बिस्तारै मतिर अनुहार फर्काएर हेरिन्। ‘फुलू’ भनी बोलाएका ती पुराना क्षणहरु कति ताजै सम्झिन् उनले, उनका आँखाबाट बरर्र आँसुका ढिकाहरु झरे। उनको मुखाकृति बिग्रियो सायद कताकता अन्तरआत्मा दुख्यो क्यार। मैले बिस्तारै भनें, ‘नरोऊ फुलू, तिमीलाई केही हँदुैन, तिमी अब चाँडै बिसेक हुनेछ्यौ।’ आँसु झार्दै तिनले बिस्तारै भनिन्, ‘हजुर ! म बाँच्न चाहन्छु, मलाई बचाउनुस् मेरो हजुर !’
मैले उनलाई जीवनप्रतिको अलिकति आश्वासन दिएँ तर मलाई थाहा थियो, अब उनी बाँच्दिनन्। मैले उनीबाट धेरै कुराहरु सुन्नु थियो। तर अफशोच ! उनी धेरै बोल्न पनि सक्दिनन्। उनको रगत सुकिसकेझैं थियो, मुटुले पनि काम गर्न छोड्दै थियो। उनको जीवनका लागि हाम्रो मिलन धेरै ढिलो भइसकेको थियो। म फूलमायाको केही बिसेकको प्रतीक्षामा छटपटिरहेको थिएँ, ताकि हामी दोहोरो कुरा गर्न पाऊँ।
म बिरामी जाँच्न आउँदा उनी प्रायः अचेत अवस्थामै हुन्थिन्। दिया छेउमा चुपचाप बसिरहन्थिन्, लाग्थ्यो कसरी सुनाउने यिनलाई हाम्रो कथा। त्यही एकचोटि न हो फुलूसँग दोहोरो कुरा भएको, त्यही एकपटक न हो उनीसँग आँखामा आँखा जधुेको।
कस्तो विडम्बना ! उनी होसमा आउने आशा राख्दाराख्दै जरुरी कामविशेषले त्यही बेला एक हप्ताका लागि म काठमाडौं जानुपर्यो। मेरो दुर्भाग्य ! म काठमाडौं हुँदै उनले देहत्याग गरिछन्। फर्केर आउँदा उनको बेड शून्य थियो। पूरै अस्पताल शून्य लाग्यो। फेरि एकपटक यो जिन्दगी नै शून्य लाग्यो।
करिब एक महिनापछि दिया म कहाँ आइपुगिन्। अब भने म उनलाई मेरो सबै कथा सुनाउने सोचमा थिएँ र मलाई आशा थियो, फुलूले छोरीलाई केही त भनेर गइन्। साँच्चै नै उनले छोरीलाई भनिछन्, ‘यो डाक्टर तेरो बुवा बलबहादुर विश्वकर्मा। हामीले आजभन्दा २० वर्षअगाडि सानैमा बिहे गरेका थियौं, पछि दैवले हामीलाई छुटाइदियो, जीवनको अन्तिम घडीमा भेट भयो। यो दुःखी फुलूको तर्फबाट धेरै-धेरै माफी मागिदे छोरी, मेरो हजुरलाई।’ यी कुराहरु दियालाई उनले त्यही बेडमा भनेकी रहिछन् अनि हामीले खिचेको पुरानो फोटो पनि उनलाई दिइछन्।
उही फोटो, हामीले बिहे गरेको साल खिचेको। पृष्ठभूमिमा फुलेको कोदोबारी। मैले कतै टाढा हेरिरहेको अनि उनले मलाई हेरिरहेको। त्यो फोटो मसँग पनि त आजसम्म छँदै छ, जसले मलाई घरीघरी रुवाउने गर्छ।
आफ्नाे परिचय दिने क्रममा मलाई थाहा भयो, उनी त्यही दिया रहिछन् जसका कथाहरु मैले योभन्दा अगाडि विभिन्न पत्रपत्रिकामा, साहित्यिक पुस्तकमा पढ्न पाएको थिएँ। अघिल्लो साल मेरो हातमा परेको एउटा कथासङ्ग्रह उनै दियाको रहेछ। उनले हाँस्दै भनिन्, ‘के यो हुन सक्छ डाक्टर सा’ब ? म तपाईंकी छोरी रे अनि तपाईंहरुको यत्रो लामो बिछोड ! यो मेरी बिरामी आमाको दिमागले काम नगरेर होला यसो भन्नुभएको जस्तो लाग्यो तर फेरि मनमा शङ्काको तुष रह्यो र आज म तपाईंलाई भेट्न आएकी।’ उनले त्यो फोटो मलाई दिइन्। फोटो हातमा लिएँ। मन फेरि त्यही विगतमा पुग्यो, जुनबेला हामीले त्यो फोटो खिचेका थियौं।
‘हो दिया, हामीले यो फोटो आजभन्दा २० वर्षअघि दसैंमा खिचेका थियौं। म १५ वर्षको थिएँ र फुलू १४ वर्षकी मात्र। म सानो जातको केटो, उनी ठूलो जातकी छोरी। फेरि त्यति सानैमा हामीले प्रेमविवाह गर्दा उनका बाआमा इन्डियाबाट आएर हामीलाई छुटाउन धेरै कोसिस गरेका थिए। यता गाउँमै पनि उनका बाजेबज्यैले उनलाई फकाइरहन्थे। हामी एकआपसमा धेरै माया गथ्र्यौं। यो फोटोमा हेर न, कस्ती राम्री थिइन् तिनी। भनेकी थिइन्, ‘दुई महिना भयो।’ म बुवा बन्नेवाला थिएँ। उनी आफ्नाे माइतका बुवाआमा र बाजेबज्यैका लागि बिरानोजस्तै बनेकी थिइन्। उनी प्रत्येक साँझ घरपछाडि एकान्तमा बसी आकाशतिर टोलाएर रुन्थिन्। म सोध्थें, ‘के भयो ?’ उनी भन्थिन्, ‘हजुरको धेरै माया लागेर।’ तर, अचानक एक साँझ उनी बेपत्ता भइन्। सायद बाजेबज्यैकोमा गइन् होली। भोलिपल्ट बिहान, दिउँसो हुदै साँझ ढल्यो तर उनी आइनन्। बेलुका बाजेको घरमा गएँ, घर बन्द थियो। सुनें, अघि बिहानै बाजे र फुलू ओरालो झर्दै थिए रे। मनमा चिसो पस्यो, ‘कतै मेरी फुलूलाई फकाएर भगाएनन् तिनीहरुले !’ साँच्चै नै भगाएछन् तिनीहरुले मेरी फुलूलाई।
त्यसपछि त म एक्लै भएँ। घरपरिवार र गाउँमा पनि म आफूलाई एक्लो पाउन थालें। दिन बित्यो, हप्ता बित्यो, महिना बित्यो अनि साल बित्यो। पर्खाइको मन पनि मर्दै गयो र फुलूसँग फेरि कहिल्यै भेट भएन। सुन्थें, उनलाई उतै इन्डियातिर उसका बुवाआमाले एउटा ड्राइभरसँग बिहे गराइदिएका छन् रे। त्यसको त जेठी श्रीमती र छोराछोरी पनि छन् रे ! साह्रै मात्छ रे त्यो। माया पनि गर्दैन रे अनि फुलूले चाँहि उनीहरुको नोकर्नीले जस्तो काम गर्नुपर्छ रे त्यहाँ। म भने आजसम्म उनकै यादमा एक्लै तड्पिरहेको छु। फुलूप्रतिको मेरो माया मुटुको एक कुनामा राखेर म आजसम्म यसरी बाँचेको छु। सबैले मलाई एक्लो भन्छन् तर मसँग मेरी फुलूको मुटुभरि माया छ।’
अघि आमाको कुरा सुनाउँदै हाँसेकी दियाको आँखा डबडबाइसकेका थिए, सायद मेरा रसाएका आँखाहरु देखेर होला अनि यो कथा सुनेर होला। झर्न लागेका आँसु रुमालले पुछ्दै उनले भनिन्, ‘कस्तो नरमाइलो लाग्यो मलाई त। हेर्नुस् न, मैले मेरा बुवालाई कहिल्यै देख्न पाइनँ। म बाजेबज्यैको घरमै जन्मिएँ, हुर्किएँ रे। अँ, हाम्रो बुवा साह्रै मताहा र आमालाई साह्रै हेला गरेकाले मेरी आमा माइतमै बस्नुभएको रे ! बाजेबज्यै खसेपछि पनि हामी चियाकमानमा काम गर्दै बस्यौं। मैले उतैदेखि म्याट्रिक गरेकी हुँ। आमालाई मेरा बुवाका बारेमा कति सोधेकी हुँ तर उहाँले बुवाका बारेमा केही पनि सुनाउनुहुन्नथ्यो। घरमा हामी दुईजना मात्र हुन्थ्यौं। आमा हरेक साँझ घरपछाडि बसेर आकाशतिर टोलाउँदै रुनुहुन्थ्यो। म सोध्थें, ‘किन प्रत्येक साँझ यसरी रुनुहुन्छ आमा ?’ उहाँ भन्नुहुन्थ्यो, ‘यो आकाशमा मेरो तारा कता हरायो कता, त्यसैले त्यसको माया लागेर रोएकी छोरी।’ अहिले बल्ल थाहा भयो, त्यतिखेर आमा त तपाईंको यादले पो रुनुहुँदोरहेछ।
अँ, अनि मेरी आमा प्रायः बिरामी भइरहनुहुन्थ्यो। त्यहाँको गर्मी हावा र दूषित वातावरणले होला भन्ठानेर हामी नेपालमा हाम्रो मावलतिर आएको पनि तीन वर्ष भइसक्यो। यता आएर पनि आमालाई उपचार गर्न धेरै ठाउँ लगियो तर पछि बल्ल थाहा भयो उहाँलाई त ब्लड क्यान्सर पो रहेछ। जीवनको अन्तिम घडीमा आएर मात्र उहाँले मलाई मेरो बुवाका बारमा सुनाउनुभयो।’
दियाका आँखाबाट अहिले भने आँसुका ढिकाहरु झर्न थाले। उनको गला अवरुद्ध हुन थाल्यो। ‘तपाईंहरुको यो कथा साह्रै दुखान्त लाग्यो। तपाईंहरुको यो कथाले मलाई साह्रै विक्षिप्त बनायो,’ उनी सुकसुकाइन्। मन दह्रो पारेर उनले आँखाको आँसु एकैचोटिमा स्याप्पै पुछिन् र भनिन्, ‘बुवा, अन्ततः म तपाईंकी छोरी रहेछु। तपाईं के भन्नुहुन्छ ? मेरी सोझी आमालाई माफ गरिदिनुहोला है ! यो समाजको अन्धो छुवाछुत प्रथा, बालविवाह र बहुविवाहको चपेटामा थुप्रैथुप्रै सत्यप्रेमहरु पिल्सिरहेका छन्। अब फेरि यस्तो हुनुहुँदैन यहाँ।’ उनका भिजेका परेली आलै भए पनि जोस र साहसले खुलेका देखिन्थे। उनी भन्दै थिइन्, ‘बुवा, आजसम्म हामीले धेरै सङ्घर्ष गर्नुपर्यो। यी परिस्थिति र चलनहरुले हामीलाई एकआपसमा धेरै टाढाटाढा रहेर बाँच्न बाध्य तुल्यायो। तपाईंले यहाँ सङ्घर्ष गर्नुभयो, हामीले त्यहाँ र आखिरमा यसरी भेट भयो। त्यहाँ आमा तपाईंको यादमा मर्दैमर्दै बाँच्नुभयो, यहाँ तपाईं आमाको यादमा। तर, मलाई के लाग्यो भने तपाईंहरुले त्यति सानै उमेरमा विवाह गर्नुहुन्नथ्यो बुवा। त्यो सानै उमेरको विवाह, यो समाजको कुरीति अनि अन्य धेरै बाधामा हजुरहरुको प्रेम यसरी तड्पिएको रहेछ। तपाईंहरुको यो प्रेमकहानी, त्यो समाज, समाजका यी उल्झनहरु, हजुरकी ती प्यारी फुलू, फुलूको हजुर तपाईं बलबहादुर अनि हजुरहरुको प्रेमको नासो यो छोरी दियालाई समेटेर एउटा वास्तविक कथा लेख्छु ल !’
हामी धेरै बेर चुपचाप रोयौं। उनी हातमा चिउँडो टेकाएर आँसु झार्दै धेरै बेरसम्म मेरो अनुहारमा हेरिरहिन्, सायद मेरा आँखाबाट झर्दै गरेका अविरल आँसुका थोपाहरुमा उनले आफूले राखेका प्रस्तावहरुको स्वीकारोक्तिको आभास पाइन् होला।
४ फागुन २०६२
उर्लाबारी