विश्वविद्यालय सभा बालुवाटारमै, तर कुलपति अर्थात् प्रधानमन्त्री ओली आफैँ अनुपस्थित

तस्बिरः नयाँ पत्रिका

कुलपतिका हैसियतमा आफैँले समय तोकेर बालुवाटारमै बोलाएको दुई विश्वविद्यालयको सभामा समेत प्रधानमन्त्री केपी ओली उपस्थित भएनन् । मंगलबार कृषि तथा वनविज्ञान र बुधबार लुम्बिनी बौद्ध विश्वविद्यालयको सभा बालुवाटारमा बसेको थियो । उपत्यकाबाहिर स्थापना भएका यी दुवै विश्वविद्यालयको सभाको अध्यक्षता सहकुलपति शिक्षामन्त्री गिरिराजमणि पोखरेलले गरे । दुवै विश्वविद्यालयले बजेट पारित गर्नका लागि सभा आयोजना गरेका थिए ।  

लुम्बिनी बौद्ध विश्वविद्यालयका रजिस्ट्रार तिलकराम आचार्यले बालुवाटारमा भएको सभा बैठकमा प्रधानमन्त्री उपस्थित नभएको बताए । ‘अरू बैठक भएका कारण सभामा आउन सक्नुभएन,’ उनले भने । प्रधानमन्त्रीलाई अनुकूल हुने गरी धेरै विश्वविद्यालयका सभा बालुवाटारमै हुने गरेका छन् । मंगलबारको कृषि विश्वविद्यालयको सभामा जग्गाको विषय पेचिलो भएकाले प्रधानमन्त्री अनुपस्थित भएको हुन सक्ने सभा सदस्यहरूको अनुमान छ ।

‘प्रधानमन्त्री सभामा उपस्थित नहुनुमा कार्यव्यस्तता मात्र नहुन सक्छ,’ सभा सदस्य डा. ईश्वरीप्रसाद कडरियाले भने, ‘अघिल्लो वर्ष सिनेट बैठकले अस्वीकार गरेको रामपुरको क्रिकेट रंगशालाको जग्गा प्रकरण पछि जिल्ला तहमा उल्टिएको प्रसंग सभामा उठ्ने भएकाले अप्ठ्यारो महसुस गरेको हुन सक्छ ।’ त्रिवि र कृषिको जग्गा विवाद छ । त्रिविको जग्गामा कृषि विश्वविद्यालय स्थापना भए पनि त्रिविले हस्तान्तरण गरेको छैन । जग्गा त्रिविकै नाममा छ, विवाद सर्वोच्च अदालतमा विचाराधीन छ । त्यही जग्गामा क्रिकेट रगंशाला निर्माण गर्न राजनीतिक तहमा निर्णय भएको छ । 

लुम्बिनी बौद्ध विश्वविद्यालयको २७ करोड बजेट पारित, नयाँ संकाय स्थापना
लुम्बिनी बौद्ध विश्वविद्यालय सभाले गत वर्षको खर्च अनुमोदन गरेको छ । आर्थिक वर्ष ०७५/७६ को खर्च १५ करोड ११ लाख ९६ हजार एक सय भएको छ । आव ०७६/७७ का लागि प्रस्तुत भएको २७ करोडको बजेट पनि पास भएको छ । विश्वविद्यालयमा स्थायी, आंशिक र करार गरी शिक्षकको संख्या ३६ छ । कुल कर्मचारी २४ छन् । आंशिक शिक्षक र कर्मचारीले विश्वविद्यालय चलेको छ । लुम्बिनीको एउटा आंगिक र आठ सम्बन्धनप्राप्त क्याम्पस छन् । अहिले सात सय २२ विद्यार्थी अध्ययनरत छन् । बुद्धिजमको मात्र विषय भएकाले विद्यार्थी संख्या कम छ । 

सभाले स्कुल अफ डेभलपमेन्ट स्टडिज र एप्लाइड साइन्स संकाय सञ्चालन गर्ने प्रस्ताव पनि पारित गरेको छ । यो संकायभित्र पनि बुद्धिजम पढाइ हुने रजिस्ट्रार तिलकराम आचार्यलले बताए । सभाले १३ उपाधि पारित गरेको छ । मास्टर्स इन ट्राभल एन्ड टुरिजम म्यानेजमेन्ट, मास्टर्स इन बुद्धिस्ट स्टडिज, मास्टर्स इन आर्कोलोजी, मास्टर्स इन कल्चर एन्ड हेरिटेज कन्जरभेसन, ब्याचर इन भोट बुद्धिस्ट स्टडिजलगायत उपाधि पारित गरेको हो । कोरियन र जापनिज भाषाको समेत पढाइ हुने भएको छ । बुद्धसम्बन्धी धेरै भाषामा सामग्री भएकाले भाषा राखिएको आचार्यले बताए । 

प्रकाशित मिति: : 2019-08-15 06:31:36

प्रतिकृया दिनुहोस्