कुन बैङ्कमा पाइन्छ सबैभन्दा सस्तो ब्याजमा ऋण ?

गत आर्थिक वर्ष  (२०७५/०७६) बैङ्कको लागि कस्तो रह्यो र वित्तीय सूचकाङ्कको अवस्थामा के–के सुधार भए भनेर बैङ्क तथा वित्तीय संस्थाले आफ्नो चौमासिक वित्तीय विवरण प्रकाशित गरिरहेका छन । बैङ्कहरुले प्रकाशित गरेको वित्तीय विवरणको आधारमा हामीले कुन बैङ्कले सस्तोमा ऋण दिएलान् भनेर केलाउन खोजेका छौँ ।

ऋणको ब्याजदर निर्धारण हुने मुख्य आधार भनेको बेस रेट (आधार दर) हो । बैङ्क तथा वित्तीय संस्थाले प्रवाह गर्ने ऋणको न्युनतम ब्याजदर कति हुनुपर्छ भन्ने संकेत आधारदर हो । राष्ट्र बैङ्कको नियम अनुसार राख्नुपर्ने तरलता, निक्षेपकर्तालाई दिने ब्याज, बैङ्कका कर्मचारीको तलब भत्ता, बैङ्क सञ्चालनका लागि लाग्ने घरभाडा लगायतका खर्च धान्ने गरी बैङ्कहरुले ब्याजदर निर्धारण गर्छन् । सो ब्याज कतिसम्म भयो भने बैङ्कलाई घाटा हुदैन भनेर निकालिने हिसाब आधारदरको गणना विधि हो ।

असार मसान्तसम्मको अवस्थालाई हेर्दा अहिले सबैभन्दा सस्तो ऋण पाइने बैङ्कमा  स्ट्याण्डर्ड चार्टड बैङ्क र नेपाल बैङ्क देखिएका छन् । किनभने उनीहरुको आधारदर सबैभन्दा कम छ । यस्तै नबिल बैङ्क, एभरेष्ट बैङ्क, मेगा, सानिमाबाट पनि अन्य बैङ्कको तुलनामा कम ब्याजमा ऋण पाउन सक्ने अवस्था देखिन्छ ।

स्ट्याण्डर्ड चार्टडको आधारदर ७.६३ प्रतिशत छ भने नेपाल बैङ्कको ७.९८ प्रतिशत  छ । अन्य बैङ्कहरुको भने आधारदर बढी छ । हाल नेपालमा २८ वटा वाणिज्य बैङ्क अस्तित्वमा छन् । त्यसमा १८ वटा वाणिज्य बैङ्कले प्रतिवेदन प्रकाशित गरिसकेका छन् । यसमा प्रायः बैङ्कले नाफा कमाएको वित्तीय विवरण दिएका छन् ।

प्रकाशित मिति: : 2019-08-14 21:01:41

प्रतिकृया दिनुहोस्