सामाजिक सुरक्षा योजना : ३३ हजार प्रतिष्ठान र ४ हजार श्रमिक कोषको दायरामा

तस्बिरः नेपाललाइभ

काठमाडौं- २०७५ मंसिर ११ गते औपचारिक शुभारम्भ भई २०७६ साउन १ गतेदेखि कार्यान्वयनमा आएको योगदानमा आधारित सामाजिक सुरक्षा योजनाको दायरामा ३३ हजार रोजगारदाता प्रतिष्ठान र ४ हजार श्रमिक आएका छन्। यो तथ्यांक सोमबार साँझसम्म कोषमा आबद्ध प्रतिष्ठान तथा श्रमिकहरूको हो।

कोषमा सूचीकृत भएका प्रतिष्ठान वा श्रमिकको संख्या हेर्दा अपेक्षाअनुसार प्रतिष्ठान तथा श्रमिकहरु सामाजिक सुरक्षा कोषमा सहभागिता हुन सकेको छैन। 

‘योगदानमा आधारित सामाजिक सुरक्षा योजना सबैका लागि नयाँ छ, जसले गर्दा पनि बुझ्न केही समय लागिरहेको छ, कोषमा आबद्ध हुन आउने प्रतिष्ठान तथा श्रमिकको संख्या गत आर्थिक वर्षका तुलनामा यस वर्ष बढ्दै गइरहेको छ,’ कोषकी प्रवक्ता रमा भट्टराईले नेपाल लाइभसँग भनिन्। 

सामाजिक सुरक्षा कोषमा सोचेअनुकुल रोजगारदाता तथा प्रतिष्ठान आउन नसकेकै कारण कोषले प्रेस विज्ञप्ति जारी गरी कोषमा आबद्ध हुन रोजगारदातालाई दुई महिनाको अवधि थप गरेको छ। 

सूचीकृत हुन बाँकी रोजगारदाता तथा योगदानकर्ता आगामी असोज मसान्तसम्म योगदानमा आधारित सामाजिक सुरक्षा ऐन २०७४ को परिच्छेद ३ बमोजिम सूचीकृत भइसक्नु पर्ने कोषकी प्रवक्ता भट्टराईले बताइन्। 

सामाजिक सुरक्षा ऐन २०७४ को परिच्छेद ३ मा कोषमा सूचीकरण सम्बन्धी यस्तो छ व्यवस्था-
१९. सूचीकृत हुन सूचना प्रकाशित गर्नेः
(१) मन्त्रालयले समितिको सिफारिसमा नेपाल राजपत्रमा सूचना प्रकाशन गरी तोकिएको क्षेत्र तथा प्रकृतिका उद्योग, सेवा, व्यवसाय वा कारोबार सञ्चालन गर्ने रोजगारदातालाई दफा २० बमोजिमको अवधिभित्र कोषमा सूचीकृत हुन सूचना प्रकाशित गर्नेछ। 

(२) उपदफा (१) बमोजिम प्रकाशित सूचनामा तोकिएको अवधिभित्र रोजगारदाताले कोषमा सूचीकृत हुन तोकिएको विवरण सहित तोकिएको ढाँचामा कोषको कार्यालयमा निवेदन दिनु पर्नेछ। 

(३) उपदफा (२) बमोजिम तोकिएको विवरण सहित निवेदन प्राप्त भएमा कोषले सम्बन्धित रोजगारदातालाई सूचीकृत गरी तोकिए बमोजिमको ढाँचामा सूचीकरण नम्बर त्यस्तो रोजगारदातालाई दिनेछ।

२०. श्रमिकको सूचीकरण गराउनु पर्नेः 
(१) यो ऐन प्रारम्भ हुँदाका बखत कायम रहेको यस ऐन बमोजिम सूचीकृत हुनुपर्ने रोजगारदाताले यो ऐन प्रारम्भ भएको मितिले छ महिनाभित्र र यो ऐन प्रारम्भ भएपछि सूचीकृत रोजगारदाताले आफूले नियुक्त गरेको वा रोजगार सम्बन्ध कायम गरेको व्यक्तिलाई यस्तो सम्बन्ध कायम भएको मितिले तीन महिनाभित्र कोषमा सूचीकरण गराई सक्नुपर्नेछ। 

(२) उपदफा (१) को अवधिभित्र कुनै रोजगारदाताले कोषमा कुनै श्रमिकको सूचीकरण नगरेमा सम्बन्धित श्रमिकले कोषमा निवेदन दिन सक्नेछ। 

(३) उपदफा (२) बमोजिम निवेदन परी वा अन्य कुनै व्यहोराले यो ऐन लागू हुने कुनै रोजगारदाता आफैंले नियुक्त गरेको वा रोजगार सम्बन्ध कायम गरेको श्रमिकलाई उपदफा (१) बमोजिम कोषमा सूचीकरण गरेको नदेखिएमा कोषले अवधि तोकी त्यस्तो रोजगारदाता तथा श्रमिकको सूचीकरण गराउन सम्बन्धित रोजगारदातालाई आदेश दिन सक्नेछ। 

(४) उपदफा (३) बमोजिम कोषले दिएको आदेश पालना गर्नु सम्बन्धित रोजगारदाताको कर्तव्य हुनेछ। 

(५) अनौपचारिक क्षेत्रका श्रमिक तथा स्वरोजगार रहेका व्यक्तिको सूचीकरण सम्बन्धी व्यवस्था तोकिए बमोजिम हुनेछ। 

(६) यस दफा बमोजिम सूचीकरण भएको श्रमिक वा स्वरोजगारमा रहेको व्यक्तिलाई कोषले दफा ४१ बमोजिम सामाजिक सुरक्षा नम्बर दिनेछ।

प्रकाशित मिति: : 2019-08-14 07:39:15

प्रतिकृया दिनुहोस्