टीकापुरको आकाशमा बिजुली चम्काउने ‘बादल’ को शीतल बैठान

तस्बिरः नेपाल न्यूज

२०७२ साल भदौ ९ गते नेकपा-माओवादी (वैद्य) समूहको एउटा प्रेस वक्तव्य सार्वजनिक भयो।

जसमा लेखिएको थियो- ‘हाम्रो पार्टी नेकपा-माओवादीले पनि प्रतिगामी मस्यौदा, संविधानको विरोध तथा सर्वदलीय राजनीतिक सभामार्फत् अग्रगामी राजनीतिक निकासका लागि विभिन्‍न प्रकारका सङ्‍घर्षका कार्यक्रमहरू सञ्‍चालन गर्दै उत्पीडित समुदायद्वारा सञ्‍चालित सङ्‍घर्षहरूप्रति ऐक्यबद्धता तथा नैतिक समर्थन जाहेर गर्दै आएको छ।’

विज्ञप्तिमा सोही पार्टीका तत्कालीन महासचिव रामबहादुर थापा ‘बादल’ र अध्यक्ष मोहन वैद्यको हस्ताक्षर छ।

भदौ ७ गते।

टीकापुरमा थारुहरूको आन्दोलनले हिंस्रक रूप लिइसकेको थियो। एक नाबालक र नेपाल प्रहरीका एसएसपीसहित आठजनाको मृत्यु भएको थियो।

भदौ ८ गते।

कयौं थारुका घर जलाइए। आन्दोलनले अर्काे रूप लियो।

त्यही दिन बसेको नेकपा-माओवादीको बैठकपछि थापा र वैद्यले विज्ञप्ति जारी गरे।

‘आन्दोलनकारी जनतालाई धरपकड गर्ने, उनीहरूमाथि लाठीचार्ज गर्ने, गोली हान्ने र कयाैंको हत्या गर्ने, आन्दोलनमा सांप्रदायिकता भड्काउनेजस्ता दमनकारी तथा षड्‍यन्त्रमूलक गतिविधि सञ्‍चालित गरिए,’ त्यसमा थप लेखिएको छ, ‘आफ्ना हकअधिकार, प्रादेशिक स्वायत्तता र मुक्तिका लागि सङ्‍घर्षशील कैलालीलगायत थारुवान प्रदेशका उत्पीडित थारु समुदायका जायज मागहरूको सम्बोधन नगरी उल्टै सो समुदायको मुखमा ताल्चा ठोक्ने, उनीहरूको सङ्‍घर्षका विरुद्ध कर्फ्यु लगाउने, गोली हान्‍ने, प्रशासनको संयुक्त गठनबन्धनमा थारु बस्तीका दर्जनौं घरमा आगो लगाउने जस्ता अत्यन्तै क्रुर र अमानवीय घटना घटाउने धृष्टना गरिएको छ।’

राजनीति एउटा गज्जबको संयोग हुन जान्छ कहिलेकाहीँ।

उनै रामबहादुर थापा ‘बादल’ अहिले गृहमन्त्री छन्। वैद्य त्यही पार्टी हाँकिरहेका छन्। ‘वैद्य-बादल’ बाट फाटेर ‘भूमिगत’ भएका नेत्रविक्रम चन्दले पनि त्यो बेला विज्ञप्ति निकालेर थारु आन्दोलनको समर्थन गरेका थिए।

‘वैद्य-बादल’ को त्यो विज्ञप्तिमा नाबालक र प्रहरीका उच्चअधिकारीसहित आठजना मारिएको घटनालाई पनि अलिकति छोएर लेखिएको छ- ‘यद्यपि, आन्दोलनको प्रक्रियामा केही मानवीय क्षति तथा हडतालका दुखद घटना पनि घटेका छन् र, ती सबैप्रति हामी चिन्तित पनि छौं। परन्तु, यी सबै घटनामा आफ्नो दायित्वबाट पन्छिँदै आएको राज्य नै समग्रमा जिम्मेवार र दोषको भागिदार रहेको छ।’


टीकापुर घटनाको जिम्मा लिने त्यसबेला वैद्य पक्षका महासचिव रामबहादुर थापा बादल थिए। उनी अहिले नेकपा सरकारको गृहमन्त्री छन्। टीकापुर घटनाको जिम्मा लिएको विप्लव समूह अहिले भूमिगत छ।

 

‘अधिकार माग्‍ने थारुको मुखमा ताल्चा ठोक्ने?,’ भनेर राज्य प्रशासनविरुद्ध विज्ञप्ति निकाल्ने उनै ‘बादल’ गृहमन्त्री भएको बेला रेशम चौधरीलाई अस्पतालकै बेडमा बडेमानको साङ्लो बाँधेर उपचार गराइयो।

त्यो ‘हिंस्रक’ धुवाँ उडिरहेको टीकापुरको आकाशमा त्यो बेला ‘बादल’ थारुहरूको बचाउमा ‘धुम्म’ लागे। र, फेरि फाटे, त्यो आकाशबाट पनि, ‘वैद्य’ बाट पनि। अनि अहिले उनी केपी ओली सरकारका गृहमन्त्री छन्।

‘टीकापुर घटनाको जिम्मा लिने त्यसबेला वैद्य पक्षका महासचिव रामबहादुर थापा बादल थिए। उनी अहिले नेकपा सरकारको गृहमन्त्री छन्।टीकापुर घटनाको जिम्मा लिएको विप्लव समूह अहिले भूमिगत छ,’ टीकापुर काण्डका एकजना आरोपी शेरबहादुर चौधरीले हालैमात्र थारुवान डटकममा लेखेका छन्, ‘२०७२ भदौ ९ गते घटनाको जिम्मा लिँदै विज्ञप्ति निकाल्ने अहिलेका गृहमन्त्री रामबहादुर थापाले रेशम चौधरीलाई वीर अस्पतालमा अनसनरत अवस्थामा गई जुस खुवाए। तीन दिनमा सपथ खुवाउने वाचासहित वीरबाट बाहिरिएका थापाले त्यसको १० महिनापछि मात्रै चौधरीलाई सपथ खुवाउने साइत जुराएका थिए।’

त्यसलगत्तै उनलाई जन्मकैदको सजाय सुनाइयो। अहिले पनि चौधरी जेलमै छन्।

‘लाल आयोगको प्रतिवेदन सार्वजनिक भएको त छैन। तर, आयोगकै सदस्यमार्फत् बेलाबखत सञ्‍चारमाध्यममा रेशम चौधरी निर्दोष भएको प्रष्टीकरण भइसकेको छ,’ शेरबहादुरले भनेका छन्, ‘सरकार चौधरीप्रति सकारात्मक छैन भन्‍ने त केही दिन पहिले उनी बिरामी हुँदा अस्पतालमा उनलाई बाँधिएको १६ किलोको साङ्लोले प्रमाणित भइसकेको छ।’

उक्त घटनापछि सरकारले सर्वाेच्चका पूर्वन्यायाधीश गिरिशचन्द्र लालको संयोजकत्वमा एउटा छानबिन समिति बनाएको थियो। तर, उनले सरकारलाई बुझाएको प्रतिवेदन अहिलेसम्म पनि सार्वजनिक गरिएको छैन।

प्रकाशित मिति: : 2019-08-14 07:37:33

प्रतिकृया दिनुहोस्