हङकङ बढ्दै जनप्रदर्शन, विश्वकै व्यस्त मानिने विमानस्थल पनि बन्द

तस्बिरः एजेन्सी

हङकङमा नाटकीय रूपले जनप्रदर्शन बढेसँगै विश्वकै व्यस्त विमानस्थल पनि बन्द भएको छ। हङकङमा दशकौं यता भएको यो सबैभन्दा ठूलो राजनीतिक सङ्कट हो।

विमानस्थलमा निरन्तर चार दिनदेखि जारी विरोध प्रदर्शनका कारण सम्पूर्ण उडान रद्द गरिएका हुन्। बेइजिङको धम्कीपूर्ण वक्तव्यहरू पनि रोकिएका छन्। शहरमा “आतंकवाद” उदाउँदै गरेको एक चिनियाँ अधिकारीले बताएका छन्। उता भीड नियन्त्रण गर्न हङकङका अधिकारीले “वाटर क्यानोन” पनि प्रयोग गरेका छन्।

हङकङमा विरोध प्रदर्शन भएको दशौं हप्ता पुगेको छ। प्रदर्शनकारी र प्रहरीको मुठभेठ हिंसात्मक बन्दै गएको छ। प्रहरीले अत्यधिक बल प्रयोग गरेको अधिकारवादी समूह र लोकतन्त्रका अभियन्ताहरूले आरोप लगाउँदै आएका छन्। आइतबारको झडपपछि कम्तिमा पनि ४० जनाको अस्पतालमा उपचार भएको छ। तीमध्ये एक महिला “बिनब्याग” आक्रमणमा परेकी छिन्। उनको एउटा आँखा गुम्ने जोखिम छ।

कालो टिसर्ट र अनुहारमा मास्क लगाएका प्रदर्शनकारी विमानस्थलमा भरिएका थिए। उनीहरूले कथित प्रहरी हिंसाबारे जानकारी भएको सूची आगन्तुकलाई बाँडेका थिए। त्यससँगै घाइते प्रदर्शनकारीको तस्वीर पनि प्रदर्शन गरेका थिए। केहीले ती घाइते महिलाप्रति ऐक्यबद्धता जनाउँदै आँखामा “आइ प्याच” लगाएका थिए।

अरूले पोस्टर बोकेका थिए। जसमा लेखिएको थियो   “हङकङ सुरक्षित छैन”,“प्रहरीलाई लाज लाग्नुपर्छ” । उनीहरूले “हङकङको साथमा उभियौं, स्वतन्त्रताका लागि सङ्घर्ष गरौं” भन्ने नारा पनि लगाए।

“प्रहरीको यस्तो क्रुरता मानिसहरूले कसरी सहन सकेका हुन्, मैले बुझ्न सकिनँ। मलाई लाग्छ, म अहिलेबाहिर आइनँ भने कहिले पनि आउन सक्नेछैन,” हिलारी लोले भनिन्।  प्रदर्शनमा सहभागी हुन उनले कार्यालयबाट आधा दिनको बिरामी विदा लिएकी थिइन्।

“विशेषगरी गएको दुई सातामा जे भयो त्यसबाट प्रहरी नियन्त्रणभन्दा बाहिर गइसकेको मानिसहरूले बुझ्न थालेका छन्,” उनले भनिन्।

प्रदर्शन अवधिभर पर्यटकहरू विमानस्थलमै बसे। मंगलबार बिहान ६ बजे उडान सुरू हुने अपेक्षा गरिएको थियो। नाइजेरियाका एलोडिचुक्वु ओबियाजेलीले पाँच घण्टादेखि विमानस्थलमा अड्किएको बताइन्। “हाम्रो एयरलाइनबारे हामीलाई कुनै जानकारी थिएन। हामी यहाँ फसेका छौं  पैसा पनि छैन,” उनले भनिन्। विमानस्थलका सबै पसल पनि बन्द भएको उनले बताइन्।

प्रकाशित मिति: : 2019-08-14 07:30:08

प्रतिकृया दिनुहोस्