सिंहदरबारका क्यान्टिनमा आजभोलि कालो चिया पाक्दैन। ग्यासका सिलिन्डर विस्थापित गर्ने सरकारी घोषणा भएपनि अहिलेसम्म सिंहदरबारभित्र ग्यासकै चुलो बल्छन्।
ग्यासको मूल्य पनि आकाशिन थालेको छ, बजारमा चिनीको अभाव र भाउ उत्तिकै चर्किएको छ।
कतिपय क्यान्टिनहरूमा चिया हटाइएको छ। कतिपय क्यान्टिनमा खाजा-खानाका ‘मेनू’का सूची घटेका छन्।
बजारको तुलनामा सिंहदरबारका क्यान्टिनहरू औसत सस्ता छन्। सस्तोमा बेच्नुपर्ने अनि लागत धेरै लाग्ने भएपछि क्यान्टिन सञ्चालकहरूले खाना-खाजाका आइटम हटाउन थालेका छन् अनि त्यसको मात्रा पनि घटाउन थालेका छन्।
‘कालो चियामा खासै फाइदा पनि हुन्न। त्यसमा लगानी धेरैमात्र पर्छ। ग्यास बाल्नैपर्यो, चिनी हाल्नै पर्यो। सब महँगो छ’, एक क्यान्टिन सञ्चालकले भने, ‘योमात्रै होइन, विस्तारै अरु पनि आइटम हटाउँदै लैजानुपरेको छ।’
मूल्यवृद्धिको असर क्यान्टिनमा त देखिन्छ नै, त्यसको मार सिधा तत्लो तहका कर्मचारीहरूमा पनि परेको छ। करार, अस्थायी अनि तत्लो पदमा कार्यरत कर्मचारीहरू एकआपसमा महँगीकै कुराकानी गरिरहेका हुन्छन्।
‘बजार त कम्ता महँगो छैन, यस्तो तलबले कतिदिन पुर्याउने होला’, श्रम मन्त्रालयको प्रतीक्षाकक्षमा एकआपसमा गफिइरहेका कर्मचारीहरू भन्दै थिए, ‘चाडपर्व आइसके, जे पनि महँगेको महँगेइ छ।’
यस्ता कुरामा उनीहरू ‘हो मा हो’ मिलाइरहेका हुन्छन्।
भित्र श्रमसचिव केबल भण्डारी भने सेवाग्राहीसँग व्यस्त थिए। ‘हरेक दिन वस्तु भाउ बढेको बढ्यै हुन्छ। कर्मचारीको तलब दुई वर्षमा एकचोटी बढ्ने त हो नि’, एकैछिन भेटेका उनले सुनाए, ‘कर्मचारीको तलब रेगुलर आउँछ अलि सजिलो हुन्छ, धेरथोर टिक्न सकिन्छ। तर सर्वसाधारणको के होला?’
एक महिलाले सोफामा बसेर हाँस्दै भनिन्, ‘अब बाँच्नु त पर्यो। जसरी भएपनि घर त चलाउने पर्यो नि!’
प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा कार्यरत करारका कर्मचारीहरू पनि उस्तै पीरमा छन्। त्यहाँका महिला कर्मचारी पनि महँगीकै विषयमा ‘चिया गफ’ गरिरहेका भेटिन्छन्।
‘मागेका, माग भएका सबै सामानहरू पुगेकै हुन्छन्’, चिया पकाउने एक कर्मचारीले भने, ‘त्यही भएर सिंहदरबारमा महँगीले नछोएकोजस्तो त देखिन्छ तर भित्रभित्रै सबैलाई गाह्रो छ।’
मन्त्री भेट्न गएका कार्यकर्ताहरूले मन्त्रालयमै मगाएको वा त्यहीँ पाकेको चिया पिइरहेकै हुन्छन्।
‘त्यसो हुँदा मन्त्री, अनि नेता र उनीहरूका कार्यकर्तालाई के को मूल्यवृद्धि भयो र!’, उनले भने, ‘सर्वसाधारण र सामान्य कर्मचारीलाई पो मूल्यवृद्धिले ढाड सेक्ने हो।’
खासमा उपल्लो तहका कर्मचारी र मन्त्री वा नेताहरूबाहेक सामान्य कर्मचारीमा मूल्यवृद्धिको चर्को पीर छ। त्यही तलबले घरधन्धा धानिरहेका उनीहरूलाई हरेक दिन कुनै न कुनै चिजवस्तुमा बढिरहने महँगीले निकै प्रभाव पारेको छ।
कतिपयको दैनिकी बिथोलिएको छ। कतिपयको जीवनशैली नै फेरिन थालेको छ।
‘दुई दिनको गाडी भाडा बचाउँदा पनि एक मुठा साग आउँदैन’, एक महिला कर्मचारीले सुनाइन्, ‘सरकारी तेलको सरकारी गाडीमा हुइँकिने हाकिमहरूलाई यसले के छुन्थ्यो र! उनीहरूलाई दाल, चामल अनि ग्यास-तेलको भाउ के थाहा हुन्छ र?’